PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

क्यान अध्यक्षमा गोल्डनगेटका सञ्चालक सिलवाल



  • मुना कार्की -
काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले धादिङका रमेश सिलवालको अध्यक्षतामा नेपाल क्रिकेट सङ्घ (क्यान)को तदर्थ समिति गठन गरेको छ।
 
क्रिकेट सङ्घको विषयलाई लिएर विवाद भइरहेका बेला परिषद्ले आज सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो। अध्यक्ष सिलवाल मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष एवम् गोल्डेन गेट कलेजका सञ्चालक समेत हुन्।     
     
अध्यक्ष सिलवालले नियुक्तिपछि प्रतिक्रिया दिँदै भने– “राखेपले गठन गरेको यो आधिकारिक तदर्थ समिति हो, हामी केही दिनमा नै क्रिकेट खेललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अभ्यास गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछौँ ।”
     
त्यसैगरी तदर्थ समितिका उपाध्यक्षमा रवीन्द्र अधिकारी, शैलेश कर्माचार्य र दीपक साउद तथा महासचिवमा पूर्वकप्तान पवन अग्रवाल, सचिवमा पूर्ण लामा र कोषाध्यक्षमा भरत केसी छन्। त्यस्तै सदस्यमा लव क्षेत्री, दिवाकर पौडेल, डा हरिशङ्कर शाह, सुरेश लाल, रितु सिंह, रञ्जित तामाङ, निर्वाण चौधरी र विनायक पोखरेल रहेको राखेपले जनाएको छ। 
     
करिब एक महिनाअघि तत्कालीन अध्यक्ष टङ्क आङ्बुहाङसहितको समूहले बहिष्कार गरेको साधारणसभाले चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको थियो तर राखेपले यसलाई मान्यता नदिएर क्यानको सम्पूर्ण अधिकार कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको थियो।   
उता चन्द अध्यक्ष रहेको नेतृत्वले पनि आफूहरु आधिकारिक रहेको भन्दै कानुनी प्रक्रियामा जाने बताएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell