PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कांग्रेसमा देउवा पक्षले गर्‍यो ६ वटा समिति प्रस्ताव



कांग्रेसमा देउवा पक्षले गर्‍यो ६ वटा समिति प्रस्ताव

  • पहिलोपोस्ट - 
काठमाडौ : नेपाली कांग्रेसको १३औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीलाई कस्तो बनाउने बहस सुरु भएको छ। संघीय संरचना अनुरुप अघि बढाउन र पार्टीलाइ व्यवस्थित रुपमा संचालन गर्न विधानलाई त्यस अनुरुप संशोधन गर्नुपर्ने हुन्छ। तर विधान कस्तो बनाउन भन्ने विषयमा भने संस्थापन र देउवा पक्षको मत विभाजित छ।
 
पदाधिकारी थप गर्ने र नगर्ने विवाद चलिरहेका बेला देउवा पक्षका प्रतिनिधिहरुको भेलाले ६ बुँदे सुझाव तयार पारेको छ। देउवा पक्षले विधान संशोधनका लागि त्यही सुझावलाई अडान समेत बनाउन लागेको हो। देउवा पक्षका तर्फबाट आएको सुझाव तरुण दलका अध्यक्ष समेत रहेका उदयशमशेर राणा लगायतले केन्द्रीय कार्यालयमा बुझाएका छन्।   
 

यस्तो छ देउवा पक्षको प्रस्ताव

प्रदेश कार्यसमिति गठन गर्नुपर्ने, महाधिवेशनबाटै कार्यसम्पादन समिति गठन गर्नुपर्ने, महाधिवेशनबाटै अनुशासन तथा मुल्यांकन समिति निर्वाचित गर्नुपर्ने, केन्द्रीय लेखा समितिको निर्वाचन गर्नुपर्ने संसदीय बोर्डको निर्वाचन पनि महाधिवेशनबाटै गर्नुपर्ने तथा स्थायी प्रकृतिको निर्वाचन समिति बनाउनुपर्ने सुझाव दिएको छ।

नेपाली कांग्रेसका विधानमा सभापतिले कार्यसम्पादन समिति गठन गरेर केन्द्रीय समितिका लागि एजेण्डा तय गर्ने गर्छ। तर सभापति निर्वाचित भएपछि सुशील कोइरालाले कार्यसम्पादन समिति नै नबनाई पदाधिकारीको बैठकबाट काम चलाएका थिए। तर अब महाधिवेशनमै कार्य सम्पादन समिति निर्वाचित गर्नुपर्ने प्रस्ताव देउवा पक्षले लगेको छ।  

यस्तै पार्टीमा राम्रो काम गर्ने र अनुशासनहीनको एउटै मूल्याङ्कन भएको भन्दै केन्द्रीय अनुशासन तथा मूल्यांकन समिति पनि महाधिवेशनबाटै निर्वाचित गर्न प्रस्ताव गरेको छ। यसै गरी पार्टीमा आयव्ययको अबस्था चुस्त दुरुस्त बनाउन केन्द्रीय लेखा समिति बनाउन प्रस्ताव गरेको छ। यस्तै नेपाली कांग्रेसका तर्फबाट संसदीय चुनावमा भाग लिनेहरुको नाम संसदीय बोर्डले टुंग्याउने गर्छ।

तर त्यो समिति सभापतिले पदाधिकारी राखेर चुनावका समयमा सभापतिले गठन गर्ने गर्छन्। देउवा पक्षले त्यो समिति पनि महाधिवेशनबाटै निर्वाचित हुनुपर्ने माग गरेको छ। यस्तै नेपाली कांग्रेसका भातृ संगठनको अधिवेशन समयमा हुन नसक्ने तथा अधिवेशनबाट आएको नेतृत्व समेत विघटन् गर्ने प्रवृति अन्त्य गर्न स्थायी प्रकृतिको निर्वाचन समिति बनाउनुपर्ने उसको प्रस्ताव छ।    
 

सुझावका बुँदा र तर्क यस्ता छन्

१¸   सविधान जारी भइ सघीय प्रणालीमा मुलुक अगाडि बढिरहेको अवस्थामा नेपाली काँग्रेसले आफ्नो सांगठनिक ढाँचालाई संघीयताको अनुकुल बनाउँदै नेपाली कांग्रेस प्रदेश समिति निर्माण गर्न जरुरी छ।
नेपाली कांग्रेस प्रदेश कार्य समिताको गठन प्रदेश भित्रका महाधिवेशन प्रतिनिधिहरुको नेपाली कांग्रेस प्रदेश सभाले निर्वाचनको माध्यमबाट गर्ने व्यवस्था गर्न जरुरी छ।

२¸ नेपाली कांग्रेसको विधानको व्यवस्था अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको वैठक नबसेको अवस्थामा नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिले संस्थागत निर्णय गर्नुपर्ने प्रावधान हुँदाहुँदै नेपाली कांग्रेसको १२ औं महाधिवेशन पछि नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको गठन नै गरिएन। तसर्थ नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति महाधिवेशनबाटै निर्वाचित गरियोस्।

३¸  नेपाली कांग्रेसमा ४¸७०¸५६० भन्दा क्रियाशील सदस्य लाखौ साधारण सदस्य रहेको र नेपाली कांग्रेस मातहत दर्जनौ भातृ संस्था रहेको अवस्था छ।
नेपाली कांग्रेसमा कार्यकर्ताको उचित मूल्याङ्कन गर्ने परिपाटीको प्रारम्भ गर्न जरुरी छ। पार्टीलाई जिवन्त राख्न्न राम्रो गर्नेलाई प्रोत्साहन र अनुशासन भंग गर्नेलाई कारवाही गर्न आवश्यक छ। तसर्थ नेपाली कांग्रेस अनुशासन तथा मूल्याङ्कन समिति महाधिवेशननबाट निर्वाचित गर्ने व्यवस्था होस्।

४¸  नेपाली कांग्रेस पार्टी सन्चालन महासमिति¸अधिवेशन र महाधिवेशन तथा विविध कार्यक्रम आयोजना गर्न एवम् नियमित रुपमा कार्यालय सन्चालनका लागि ठूलो धनराशी खर्च हुने गरेको छ। पार्टीका क्रियाशील सदस्यहरुले शुल्क दिनुपर्ने प्रावधान छ। पार्टी सदस्यहरुले आम्दानी खर्चको पारदर्शीता चाहेका छन्। तसर्थ नेपाली कांग्रेस केन्द्रीय लेखा समितिको निर्वाचन गरियोस्।

५¸  नेपाली काँग्रेसले निर्वाचनमा पार्टीका तर्फवाट उम्मेदारी प्रस्तुत गर्दा धेरै आलोचना हुने गरेको र कार्यकर्ताको उचित मूल्याङ्कनको आधारमा छनौट नहुने गुनासो व्यापक रुपमा हुने गरेको छ। तसर्थ नेपाली कांग्रेस केन्द्रीय संसदीय बोर्डको सदस्यहरुको महाधिवेशनबाट निर्वाचित गर्ने प्रबन्ध गरियोस्।

६¸ नेपाली कांग्रेसको आन्तरिक निर्वाचन सम्पन्न गर्नका साथै विभिन्न कारणले निर्वाचित पद रिक्त हुँदा निर्वाचन सम्पन्न गर्न स्थायी रुपमा नेपाली काँग्रेस निर्वाचन आयोग/ समिति गठन गर्ने व्यवस्था गरियोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell