- उमेश श्रेष्ठ/पहिलोपोस्ट -
५५ वर्षअघि भारतको सरकारी अल इन्डिया रेडियोले एउटा गीतमा प्रतिबन्ध लगाएको थियो, 'नौ लाख तारा उदाए...।' दुवै गीतको एउटा समान विशेषता के हो भने यसलाई विशिष्ट बनाउन संगीत रचना गर्ने अम्बर गुरुङ हुन्।
'घरको माया बिर्सेर किन पो यहाँ आयौ नि', 'मनको आगो निभाउन किन पो यहाँ आयौ नि' जस्ता अर्थपूर्ण शब्द भएका कारण गीतलाई भारतले प्रतिबन्ध लगाएको थियो।
तर 'सयौँ थुङ्गा' देखि सुरु भएर 'जय-जय नेपाल' मा अन्त्य हुने गीत र यसको धूनलाई प्रतिबन्ध लगाउने तागत कसैको हुने छैन। किनभने यो नेपालको राष्ट्रगान हो।
*********
फागुन १४। आज उनै अम्बर गुरुङको जन्मदिन।
तर 'ह्यापी बर्थ डे' भन्न कोही आएका छैनन्। न बर्थ डे केक नै खान मिल्छ। 'मुखबाट केही खान नदिनू' डाक्टरको आदेश छ। दिल्लीबाट नजिकै (हरियाणा) रहेको मेदान्त अस्पतालको रुम नम्बर ४०३९ मा उनी सुतिरहेका छन्। साथमा छिन् उनकी छोरी अलका।
मुम्बईमा त्यहाँका बलिउड कलाकारलाई भेट्ने समेत व्यस्त सेड्युल रहेका कारण नजिकै राजकीय भ्रमणमा आए पनि प्रधानमन्त्री केपी ओली मेदान्त जान भ्याएनन्। न उनको भ्रमण रिपोर्टिङ गर्न आएका मिडियाले नै देशका एक मूर्धन्य संगीतकारको अवस्थाको रिपोर्टिङ गर्न समय पाए।
उनको गीत जस्तै छ उनको जीवन-
'यो जिन्दगीको के कुरा, यो सपना हो र के कुरा'
*************
हाँस्ने रहरहरु, आँसुमा डुबे...
अम्बर गुरुङ संगीतमै डुब्ने एक अजिबका पात्र हुन्। 'मलाई हार्मोनियम खोजेर ल्याइदेऊ न, म बजाउँछु,' उपचारका लागि अपार्टमेन्टमा रहँदा पनि उनी आफूलाई भेट्न आउनेलाई आग्रह गर्थे।
पूर्वीय संगीतमा पश्चिमा शैलीको आभास दिलाइ ट्युनिङ गर्न सक्ने खुबी भएको एक मात्र संगीतकारलाई राजा महेन्द्रले २०२६ सालमा नेपाल फर्काएका थिए।
पुर्ख्यौली घर गोरखाको रिसिङ भएका उनको जन्म भारतको दार्जिलिङको लालढिकीमा भएको हो। उनका बुबा र हजुरबुबा भारतीय सेनाको जागिरे थिए।
महेन्द्रले बोलाएको भरमा नेपाल फर्कने धेरैजसोले राजासँग घर,जग्गा, सम्पति मागे। तर संगीत नै ठूलो सम्पति ठानेर बस्ने अम्बरले धर्तीका सानातिना कुरा माग्ने मन कहिल्यै गरेनन्। र त, उनीसँगै नेपाल आएकाहरु अहिले कहाँबाट कहाँ पुगे, उनी अझै बूढानिलकण्ठमा भाडाको घरमा बसिरहेका छन्।
'ए कान्छा, मलाई सुनको तारा खसाइ देऊ न' जस्ता रोमान्टिक गीतदेखि 'हाँस्ने रहरहरु आँसुमा डुबे, सुन्दर सपना शिशा झैँ फुटे..' सम्मका वियोगान्त गीतको संगीत उनले भरेका छन्।
नेपाल संगीत नाट्य एकेडेमीको पहिलो कुलपति गुरुङले हजार वटा जति गीत कम्पोज गरेका छन् त्यसमध्ये ६/७ सय वटा गीत उनकै शब्द र स्वरमा रहेको छ।
के हो समस्या ?
गुरुङ माघ १४ गते उपचारका लागि यहाँ आइपुगेका हुन्। 'खाने नलीको तल्लो आन्द्रामा ट्युमर देखिएको' चिकित्सकहरुको ठहर छ।'यसलाई रेडियो र किमोबाट कम गराउने काम भइरहेको छ', बुबाको स्याहारमा लागेकी अलकाले पहिलोपोस्टसँग भनिन्, 'ट्युमरका कारण आन्द्रा साँघुरिएर खाना नजाने समस्या थियो। अहिले आन्द्रामा स्टेन्ट राखिएको छ।'
अस्पतालमा एडमिट नगरी बाहिरै अपार्टमेन्टमा राखेर किमोथेरापी दिनमात्र अस्पताल ल्याउने भनिए पनि स्वास्थ्यमा असहजता आएको देखेपछि यो हप्ता उनलाई फेरि अस्पताल भर्ना गरिएको हो।
'पहिलो चरणमा डेढ महिना यसरी नै उपचार गर्नुपर्ने भनिएको छ', उनले भनिन्, 'भर्खर दुई हप्ता पूरा भयो।'
राज्यले के गर्यो?
महँगो प्रविधिको उपचारबाहेक अस्पतालको बेडमा भर्ना गरेको एक दिनको मात्रै १० हजार भारु खर्च पर्छ।राष्ट्रगानको रचयितालाई मासिक भत्ताको व्यवस्था भएसँगै संगीतकारलाई पनि यस्तो व्यवस्था हुनुपर्छ भन्ने आवाज उठेपछि सरकारले विगत दुई महिनादेखि मासिक ३० हजार भत्ता उपलब्ध गराउँदै आएको छ।
प्रधानमन्त्री दिल्ली भ्रमणमा आएका बेला उनका छोरा राजु गुरुङले राजदूत दीपकुमार उपाध्यायमार्फत् ज्ञापन पत्र बुझाए। प्रधानमन्त्री आफै जान भ्याएनन् तर स्वकीय सचिव इन्द्र भण्डारीलाई अस्पतालमा भेट्न पठाए। भण्डारीले प्रधानमन्त्रीको तर्फबाट राज्यले सकेसम्म गर्ने आश्वासन दिएको अलकाले बताइन्।
रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो
नेपालको अनअफिसियल राष्ट्रगानका रुपमा रहेको गीत छ- रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो। यो गीतको कम्पोजिसन यस्तो छ कि सुन्ने बित्तिकै रगत तात्छ। देशप्रेम उर्लन्छ। त्यसैले फुटबल र क्रिकेट खेलाडीहरु खेलअघि र पछि टिम भावना जगाउन सँधै यही गीत गाउँछन्-
हिमाल झैँ अटल यो
झुकेन यो कहिले
लत्रेन यो कहिले
जंगी निशान हाम्रो
....हारेन शान हाम्रो
सेनाले पनि यही गीतलाई सैन्य धुन (लोगो सङ्ग) बनाएको छ। दिल्लीमा मानार्थ महारथीको उपाधि लिन आउने क्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले छोरा राजु गुरुङसँग फोनमा कुराकानी गरेका थिए। प्रधान सेनापतिले गुरुङलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।
त्यसैगरी प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न दिल्ली आएका अर्थमन्त्री विष्णु पौडेलले पनि 'जे गर्न सकिन्छ गर्ने' आश्वासन दिएका थिए।
तर अहिलेसम्म यी आश्वासनहरु मात्र आश्वासनमा सीमित भएका छन्।
दुई हप्ताअघि साग च्याम्पियनसिपमा भारतलाई हराएर नेपालले स्वर्ण पदक जित्दा राष्ट्रगानको धून बज्ने क्रममा बीचैमा रोकिएपछि राष्ट्रप्रेमीहरुको चर्को आक्रोश सुनिएको थियो।
त्यही राष्ट्रगानको धून रच्ने अम्बर गुरुङ भने आफ्नो संगीतमा चिच्याउँदै छन्-
'खुसीमा छौँ कि
विरहमा छौ
आवाज देऊ
तिमी कहाँ छौ'
कोही छन् उनको विरहमा आवाज दिने ?