- उमेश श्रेष्ठ/नयाँ दिल्ली-
- प्रभात भट्टराई/सांघाई-
प्रधानमन्त्री केपी ओलीको प्रस्तावित चीन भ्रमणको तिथि सार्वजनिक नहुँदै रेल बजेटमार्फत् भारतका रेलमन्त्री सुरेश प्रभुले उत्तर प्रदेशको बरहनीबाट काठमाडौँसम्मको रेलका लागि सर्वेक्षण गर्न बजेट छुट्याएको हो।
भारतीय रेलले छिमेकी देशहरु पाकिस्तान र बंगलादेशलाई समेत जोडे पनि नेपाललाई जोडेको थिएन। पाकिस्तान र भारतबीच सम्झौता एक्सप्रेस नामको रेल चल्ने गर्छ भने बंगलादेशका लागि मैत्री एक्सप्रेस छ।
भारतीय रेल। फोटोः newztrack.com
यद्यपि काठमाडौँसम्म रेल आइपुग्नु अहिलेका लागि कल्पनामा मात्रै सीमित हुनेछ। किनभने यसका लागि यस आर्थिक वर्षमा छुट्याइएको रकम 'कनिका' छरे सरहको रकम हो - मात्र १६ लाख भारु (साढे २५ लाख नेपाली रुपैयाँ) ।
भारतीय रेल मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०१६/१७ को बजेटमा रहेको नर्थ इस्टर्न रेलवेको इन्टिग्रेटेड फाइनान्सियल फिगर्समा उल्लेख भए अनुसार बरहनीबाट काठमाडौँ जोड्ने ३ सय ५९ किलोमिटरको नयाँ रेल लाइनको आरइटी सर्वेक्षण (Reconnaissance Engineering cum Traffic Survey) का लागि कूल रकम ५३ लाख ८५ हजार भारु बजेट विनियोजन भएको छ। पढ्नुहोस् रिपोर्ट
त्यसमध्ये १६ लाख भारु यो वर्षका लागि खर्च हुनेछ भने सर्वेक्षण पूरा गर्न ३७ लाख ८५ हजार रुपैयाँ बाँकी रहनेछ।
उत्तरबाट केरुङ जोड्ने रेल २०२० सम्म
बजेटमा थोरै रकम छुट्याइएको भए पनि भारतीय मिडियाले यसलाई चिनियाँ प्रभाव कम गर्ने कदमका रुपमा व्याख्या गरेका छन्।चीनले नेपालमा रेल पुर्याउन सक्ने खालका समाचार भारतीय मिडियामा निकै पहिलेदेखि छाउँदैछ। हुन पनि चीनले तिब्बतको सिगात्सेसम्म दुई वर्षअघि नै रेलमार्ग विस्तार गरिसकेको छ भने चार वर्षभित्र नेपाली सीमा नजिकै केरुङ पुर्याउने लक्ष्य राखेको छ।
यसका लागि चीनले सर्वेक्षणसमेत पूरा गरिसकेको छ। केरुङ त्यही नाका हो जहाँबाट नेपालले भारतीय सीमा नाकाहरु बन्द रहँदा अनुदानको पेट्रोल आयात गरेको थियो।
चिनिया रेल। फोटोः 4rail.net
केरुङ र सिगात्सेलाई अहिले जोड्ने सडक मार्ग ५४० किलोमिटर लामो छ। चीनले करिब ५ सय किलोमिटर रेलमार्ग बिछ्याएर त्यहाँ रेल पुर्याउन लागेको हो।
केरुङबाट नेपाल-चीन सीमा ३५ किलोमिटरमात्रै टाढा हो भने सीमाबाट काठमाडौँ १ सय ४५ किलोमिटर टाढा छ। रेलमार्ग बिछ्याउँदा दूरी अझ कम हुनसक्छ। सीमासम्म रेल मार्ग पुर्याउने बारे भने अहिलेसम्म चीनले केही बताइसकेको छैन।