![एक हप्तामै १९ किलो अवैध सुन बरामद, शनिबार साढे छ करोडको समातियो](https://pahilopost.com/assets/upload/contentthumb/01-gold-bar1.jpeg)
- पहिलोपोस्ट-
महानगरीय प्रहरी अपराध महाशाखाले नक्सालबाट पाछेङ खाम्बालाई १५ किलो सुनसहित शनिबार पक्राउ गरेको हो।
यसअघि सोमबार दालाक्पा शेर्पालाई बौद्धस्थित किराना पसलमा लुकाइराखेको दुई किलो सुनसहित पक्राउ गरिएको थियो भने आइतबार दरबारमार्गबाट दुई किलो सुनका साथ आरके ज्वेलर्सका सनी श्रेष्ठलाई पक्राउ गरिएको थियो।
बजारमा दैनिक ४० किलो सुनको माग भए पनि बैँकबाट वैध रुपमा १५ किलो सुनसमेत बिक्री हुन छाडेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उपत्यकाका प्रहरी कार्यालयका प्रमुख र विमानस्थलका प्रमुखलाई बोलाएर सुन तस्करी नियन्त्रणमा लाग्न निर्देशन दिएका थिए।
निर्देशनपछि तिब्बतको खासा हुँदै स्थलमार्गबाट अवैध रुपमा ल्याइएका सुन पक्राउ परे पनि हवाई मार्गबाट ल्याइने सुन अझै फेला पर्न सकेको छैन। जबकि प्रहरीको आन्तरिक अनुसन्धानले स्थल मार्गभन्दा हवाई मार्गबाट बढी सुन तस्करी हुने गरेको देखाएको छ।
नेपाल राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकहरुलाई मात्र दिएको छ। बैंकले सुन आयात गर्दा एक किलो सुनको ५ लाख २० हजार रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ।
तस्करी गरिएको सुन तोलामा करिब १ हजार रुपैयाँसम्म सस्तोमा पाइने भएकोले अवैध सुनको बजार फस्टाएको हो।