PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

शेरबहादुर देउवाको 'सरप्राइज' केन्द्रीय सदस्य नरहरि आचार्यको के छ हाल?



शेरबहादुर देउवाको 'सरप्राइज' केन्द्रीय सदस्य नरहरि आचार्यको के छ हाल?

  • रमेश वाग्ले -
काठमाडौं : नेपाली कांग्रेसमा पदभार सम्हाल्ने दिन नै ७ केन्द्रीय सदस्य मनोनयनको घोषणा गरे पार्टी सभापति शेरबहादुर देउवाले। मनोनितमा पर्ने ६ जनाको नाम ओपन सेक्रेट थियो। सातौंमा परेका नरहरि आचार्यको नाम भने सरप्राइज नै थियो – कांग्रेसवृत्तमा।

पदभार ग्रहण समारोहमा नाम घोषणा गरेलगत्तै सभापति शेरबहादुर देउवा महाराजगञ्जमा नरहरि आचार्यको घरतिर लागे। त्यहाँ पुगेर उनको अवस्थाबारे जानकारी लिए। केही क्षण बसे र लगत्तै फर्किए। देउवाले केन्द्रीय सदस्यमा आचार्यलाई नियुक्ति गरेको कुरा सुनाएनन् – खाली स्थितिमात्र हेरे।

गत माघ २६ गते सुशील कोइरालाको निधन भयो। झिसमिसेमै शुशील कोइराला बस्दै आएको शशांक कोइरालाको घरमा पुग्ने थोरै नेताहरुमध्ये थिए नरहरि। उनले कोइरालाको अवस्थाबारे त्यहाँ छलफल पनि गरे। मिडियालाई प्रतिक्रिया दिँदैगर्दा उनी एकाएक ढले। सुरुमा गंगालाल अस्पताल अनि पछि न्युरो अस्पताल पुर्‍याइयो उनलाई। अचेत भएका उनी नेपाली कांग्रेसको महाधिवेशनभरि अस्पतालमै रहे। जिल्ला अधिवेशन सुरु भएकै भोलिपल्ट ढलेका आचार्यलाई न्युरो अस्पताल पुर्‍याएपछि मात्र थाहा भयो - उनलाई मस्तिस्कघात भएछ।

नेपाली कांग्रेसको एघारौं महाधिवेशनमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापति पदमा भिडेका नरहरि यसपाला महाधिवेशनका सबै गतिविधिहरुबाट टाढै भए। महाधिवेशनमा उनीसँग भोट माग्ने र उनले भोट माग्नुपर्ने स्थिति बनेन्।

तोकिएको समयमा महाधिवेशन सकियो। निर्वाचन पनि भयो। प्रतिनिधिहरु पनि छानिए। त्यसपछिमात्रै नरहरि आचार्य अस्पतालबाट डिस्चार्ज्ड भए। महाधिवेशनभरि अस्पतालको शैयामा रहेका उनी घर आइपुग्दा नयाँ नेतृत्व खडा भइसकेको थियो र उनी पनि त्यसका एक सदस्य बन्ने तरखरमा थिए।
   

कस्तो छ उनको अवस्था?

जिल्ला अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन सकिँदासम्म आचार्यको स्वास्थ्यमा पनि क्रमश: सुधार भएको छ। उनलाई अस्पतालबाट घर ल्याइएको छ। आचार्यलाई तन्दुरुस्त बनाउन अहिले दैनिक दुई पटक फिजियो थेरापी गराउन थालिएको छ। घरमै फिजियोथेरापी गराउने र सामान्य खाना खुवाउन थालिएको छ। बोली बुझिनेगरी खुल्न बाँकी नै छ तर बोल्न थालेका छन्। बाँया मस्तिस्कमा असर देखिएका कारण अहिले पनि आचार्यको शरीरको दायाँ पाटो पूरा चल्न सक्दैन।

घरमा पत्नी शारदा र छोरीले हेरचाहमा जुटेका छन्। रातको समयमा आचार्यका सहयोगी रामचन्द्र घिमिरेले साथ दिने गरेका छन्।

'बिहान सामान्य खाना खुवाउँछौ र बाँकी समयमा पनि आफै विचार गरेर खाना खुवाउनुपर्छ,' शारदाले भनिन्, 'उहाँलाई भोक लाग्यो भन्ने मौका नदिँदै हामीले खाना खान कर गर्ने हुनाले भोक लाग्यो भने भन्नुहुन्न।' विरामी भए पनि आचार्यले खाना भने राम्रैसँग खानेगरेको शारदाले सुनाइन्।

देउवाले नभने पनि जानकारी पहिल्यै

केन्द्रीय कार्यालयमा सम्बोधन गर्दा नै सबैलाई अनुमोदन गरिदिन भन्दै घोषणा गरेका देउवाले लगत्तै आचार्यको निवास पुगेर उनलाई भेटे। देउवा आउनुअघि नै केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले नरहरि केन्द्रीय सदस्यमा मनोनित भइसकेको जानकारी गराइसकेका थिए।

'नियुक्त भएको जानकारी त मुख्य सचिवले फोन गरेर दिइसक्नु भएको थियो,' शारदाले भनिन्, 'उहाँले स्वास्थ्य अवस्थाबारे सोधेर छोटो कुराकानी गर्नुभयो र फर्कनुभयो।'

पदाधिकारीमा पराजित भएर नियुक्त भएका रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौला अर्जुननरसिंह केसी चित्रलेखा यादवल देउवाले गगन थापा र उमाकान्त चौधरी जस्तै पहिलो केन्द्रीय समिति बैठकमा सहभागी हुन सक्ने अवस्थामा छैनन् उनी। शेरबहादुर देउवाको सरप्राइजले उनको आत्मबल बढाउन भने पक्कै भूमिका खेल्नेछ। उनमा देखिएको सुधारले छिटै नै सक्रिय राजनीतिमा उनको अर्को इनिङ सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell