PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

​के हो विश्व हल्लाएको पनामा पेपर्स लिक? जान्नै पर्ने ९ प्रश्न र जवाफ



​के हो विश्व हल्लाएको पनामा पेपर्स लिक? जान्नै पर्ने ९ प्रश्न र जवाफ
स्केच साभार : भाइस

  • पहिलोपोस्ट -
काठमाडौँ : विश्वभरका मिडियामा आज पनामा पेपर्स छाएको छ। के हो पनामा पेपर्स? सजिलोसँग बुझ्न जान्नै पर्ने ९ प्रश्न र त्यसको जवाफ पढ्नुस्-

१) के हो पनामा पेपर्स?

ब्रिटिस भर्जिन आइल्यान्डस, स्विटजरल्यान्ड, साइप्रस, सिंगापुर जस्ता कर सम्बन्धी प्रावधान खुकुलो भएका देश र क्षेत्रहरु, जसलाई अफसोर भनिन्छ, मा कम्पनी खोल्न सहयोग गर्ने एउटा ल फर्म 'मोस्साक फोन्सेका'बाट लिक भएका डिजिटल डकुमेन्टहरुलाई नै पनामा पेपर्स भनिएको हो। यो ल फर्म पनामामा दर्ता भएको भएर यसलाई पनामा पेपर्स भनिएको हो। मोस्साक फोन्सेका यस्ता अफसोर कम्पनी फ्याक्ट्रीहरु झैँ दर्ता गर्ने विश्वका कयौँ कम्पनीमध्ये एक मात्र हो। ४२ देशमा ६०० जना यसका लागि काम गर्छन्। यसले गर्ने गैरकानुनी कामबारे अमेरिकाको भाइस म्यागेजिनले सन् २०१४ मै विस्तृत अनुसन्धानमूलक समाचार प्रकाशित गरेको थियो। 

२) कसरी भयो लिक?

एक वर्षअघि एक अज्ञात स्रोतले जर्मन मिडिया Süddeutsche Zeitung  सित सम्पर्क गरी यो कम्पनीका डाटा दिन थाल्यो। डकुमेन्टहरु थपिँदै जाँदा १ करोड १५ लाख वटा र साइज २.६ टिबीसम्म पुग्यो। यो पत्रकारिताले ह्यान्डल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको डाटा हो। Süddeutsche Zeitung  ले इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिज्न (आइसिआइजे) सँगको सहकार्यमा प्राप्त तथ्याङ्क विश्लेषण गर्ने निर्णय गर्‍यो। आइसिआइजेले एक वर्षसम्म ८० देशका १०० मिडियाका करिब ४ सय पत्रकारहरुसँग मिलेर डकुमेन्टहरुबारे रिसर्च गरेपछि आजदेखि एकैसाथ समाचारहरु सार्वजनिक गर्न थालेको हो।

३) के भन्छ मोस्साक फोन्सेका?

डाटा कसरी लिक भयो भन्ने बारे 'मोस्साक फोन्सेका'ले आफ्ना क्लाइन्टहरुलाई अप्रिल १ मा पठाएको भनिएको इमेल सार्वजनिक भएको छ। त्यसमा इमेल सर्भरमा अनधिकृत पहुँच बनाएर केही डकुमेन्ट हात पारिएको उल्लेख छ। 
 

४) कस्ता डकुमेन्ट छन् यसमा?

यसमा इमेलहरु, कन्ट्र्याक्टस, बैँक रेकर्ड, पासपोर्ट लगायत अरु संवेदनशील फाइलहरु छन्। सन् १९७७ देखि डिसेम्बर २०१५ सम्मका त्यस्ता डकुमेन्ट यसमा छन्। २ लाखभन्दा कम्पनीका डकुमेन्टहरु यसमा छन्।

५) कति डकुमेन्ट सार्वजनिक गरियो? कहाँ हेर्ने?

अहिलेसम्म १४९ वटा डकुमेन्ट मात्रै सार्वजनिक गरिएको छ जसलाई यहाँ क्लिक गरी हेर्न सकिन्छ। सबै डकुमेन्ट सार्वजनिक होलान् कि नहोलान् अहिले नै प्रष्ट भइसकेको छैन।

६) क-कसको खुल्यो पोल?

लिकमा विश्वका १२८ नेता र सार्वजनिक पदाधिकारीका लुकाइएका आर्थिक कारोबारहरुको विवरण छ। त्यसमध्ये भएका ठूला खुलासाहरु हुन्-
  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीहरुले बैँक र छाया कम्पनीहरुमार्फत् गोप्य रुपमा गरेको २ अर्ब अमेरिकी डलरको कारोबार
  • चिनियाँ राष्ट्रपति सि जिनपिङका सालासहित चीनको पोलिटब्युरो स्टायन्डिङ कमिटीका कम्तिमा आठ वर्तमान र भूपू सदस्यका परिवारहरुको नाममा अफसोर कम्पनीहरु
  • ब्राजिलको भ्रष्टाचार र सम्पति शुद्धिकरणको छानबिनमा संलग्नता लुकाउन अपरेसन कार वास भन्दै कम्पनीका कर्मचारीहरुले डकुमेन्टहरु नष्ट गरेको।
  • बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका स्टक ब्रोकर पिता पनि मोस्साक फोन्सेकाको क्लाइन्ट रहेर आफ्नो लगानी बेलायतको ट्याक्सबाट जोगाउन उपयोग गरेका
क्लाइन्टहरुमा १२ वर्तमान र भूपू राष्ट्रप्रमुखहरु
  • अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्री
  • जर्जियाका पूर्व प्रधानमन्त्री बिडजिना इभानिसभिली
  • आइसल्यान्डका प्रधानमन्त्री सिगमुन्दुर डेभिड
  • इराकका पूर्व प्रधानमन्त्री आयाद आलावी
  • जोर्डनका पूर्व प्रधानमन्त्री अलि अबु राघेब
  • कतारका पूर्व प्रधानमन्त्री हमद जास्सिम जेएम अल थानी
  • कतारका अमिर शेख हमाद बिन खलिफा बिन हमानद अल थानी
  • साउदी अरबका राजा सलमान
  • सुडानका पूर्व राष्ट्रपति अहमद अल निर्घानी
  • युएईका अमिर शेख खलिफा बिन जायद बिन सुल्तान अल नाहयान
  • युक्रेनका पूर्व प्रधानमन्त्री पाभ्लो लाजारेन्को
  • युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्को
अरु चर्चित नाम
फोर्ब्समा नाम भएका २९ अरबपतिहरु
चर्चित फुटबल स्टार मेस्सी र फिफा इथिक्स कमिटी सदस्य पेड्रो दामियानी।
तर लिकमा एउटा पनि नाम चलेका अमेरिकी समावेश छैनन्।


७) भारतमा को-को ?

भारतको इन्डियन एक्सप्रेस यो विश्वव्यापी अनुसन्धानमा संलग्न भएको थियो। इन्डियन एक्सप्रेसले सार्वजनिक गरेको नाम अनुसार बलिउड कलाकार ऐश्वर्या राय र उनका ससुरा अमिताभ बच्चन लिस्टमा छन्। ऐश्वर्या रायले आफ्ना पिता, आमा र भाइसँग मिलेर सन् २००५ मा अमिक पार्टनर्स लिमिटेड नामको कम्पनी ब्रिटिस भर्जिन आइल्यान्डसमा खोलेका थिए। कम्पनी २००८ मा भंग गरिएको थियो।

त्यस्तै अमिताभ बच्चन बहमास र ब्रिटिस भर्जिन आइल्यान्डसका गरी चार सिपिङ फर्मका डाइरेक्टर थिए।  

८) गैरकानुनी हो?

अफसोर इन्डस्ट्रीमा कानुन अनुसार प्रदान गरिएको अधिकांश सेवा कानुनी नै हुन्छन्। तर यी कागजातहरुले बैँक, ल फर्म र अरु अफसोर प्लेयरहरुले कानुनी आवश्यकता पूरा नगरेको देखाएको आइसिआइजेको दावी छ। खासमा आपराधिक संस्था हो कि हैन, ट्याक्स डजिङ वा राजनीतिक भ्रष्टाचार छ कि छैन उनीहरुले निश्चित गर्नुपर्ने हुन्छ। तर फाइलहरुका अनुसार अफसोर मिडिलम्यानहरुले शंकास्पद कारोबारबाट आफू र आफ्ना ग्राहकहरुलाई जोगाएको, अफिसियल रेकर्डहरु म्यानिपुलेट गरेको देखिएको आइसिआइजे बताउँछ।   

९) नेपालको के छ लिङ्क?

गत वर्षको तथ्याङ्क अनुसार नेपालमा लगानी प्रतिवद्धता जनाउने प्रमुख देशको तेस्रो नम्बरमा ब्रिटिस भर्जिन आइल्यान्ड्सका कम्पनीहरु पर्छन्। पहिलोमा भारत र दोस्रोमा चीन हो।

नेपालको मोबाइल सेवा प्रदायक एनसेलको ८० प्रतिशत सेयर होल्डिङ गर्ने कम्पनी रेनल्डस् होल्डिङस पनि यस्तै ट्याक्स हेभनमा दर्ता भएको कम्पनी हो। अहिले एनसेलको २० प्रतिशत स्थानीय सेयर किन्न खोज्ने भावना सिंह श्रेष्ठको कम्पनी पनि ट्याक्स हेभन सिंगापुरमा दर्ता भएको कम्पनी हो।

नेता र शक्तिकेन्द्रसँग नजिकिएका कारण विवादमा आउने अजयराज पराजुली (सुमार्गी) को मुक्तिश्री समूहका नाममा ब्रिटिस भर्जिन आइल्यान्डसबाटै आएको साढे तीन अर्ब रुपैयाँ ऋणलाई नेपाल राष्ट्र बैँकले अहिलेसम्म फ्रिज गरिराखेको छ। 

ग्रान्डी अस्पतालको ५१ प्रतिशत सेयर किनेको रेवान बिजनेस लिमिटेड पनि ब्रिटिस भर्जिन आइल्यान्ड्समा नै दर्ता भएको कम्पनी हो जसमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको लगानी छ।

यद्यपि अहिलेसम्म सार्वजनिक 'लिक'हरु नेपालको नाता जोडिएका कुनै पनि डकुमेन्ट छैनन्। मोस्साक फोन्सेका फर्मको सहयोगमा खोलिएका अफसोर कम्पनीहरुको मात्र दस्तावेज सार्वजनिक भएको हुनाले पनामा पेपर्समा यसबारे उल्लेख हुन पनि सक्छ नहुन पनि सक्छ।  विकिलिक्सले सार्वजनिक गरेको पनामा पेपर्स म्यापमा भने नेपालका सात सेयरहोल्डर रहेको उल्लेख छ, तर नाम उल्लेख छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell