PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​भारत-नेपाल आख्यान विमर्श



काठमाडौँ :  नेपाल प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनको पहलमा भारतको मणिपुर प्रान्तमा नेपाल-आख्यान विमर्श सम्पन्न भएको छ।


नेपाली संस्कृति सुरक्षा परिषद् मणिपुर स्थानीय आयोजक रहेको उक्त कार्यक्रममा समालोचक रामप्रसाद पौड्यालले ‘भारतीय नेपाली कथा परम्परा र मणिपुर’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। भारतमा सवाइ साहित्यको जन्मभूमि मानिने मणिपुरले आशारानी राई, पदमबहादुर राई, देवीप्रसाद थापा मामा, राहुर राई जस्ता कथाकार जन्माई नेपाली आख्यान साहित्यलाई मजबुत बनाएको उनले बताए।
 
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालबाट गएका साहित्यकार एलबी क्षेत्रीले नेपाली साहित्यको श्रीवृद्धिमा मणिपुरको योगदान सदैव स्मरणीय रहँदै आएको बताए।
 
द्विदेशीय साहित्यिक अनुष्ठानका अवसरमा नेपालका मातृका पोखरेल, कृष्ण प्रसाईं र विवश पोखरेलसँगै स्थानीय साहित्यकार भवानी अधिकारी, टंकनाथ खतिवडा, खुमप्रसाद पौड्याल, कीर्तिमणि खतिवडा, दीपक पन्थ, हरि बस्नेत आदिले आफ्ना रचना सुनाए। कार्यक्रममा प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनका तर्फबाट मणिपुरेली साहित्यकारलाई सम्मान गरिएको थियो।


गोर्खा ज्योति प्रकाशनको सहकार्यमा असमबाट मणिपुर पुगेको इतिहास संकलन टोलीसँग नेपाली प्रतिनिधिमण्डलले संयुक्त साहित्य गोष्ठी पनि गरेको छ। त्यस अवसरमा प्राज्ञ पोखरेलले स्थानीय समालोचक डा गोमा शर्मा अधिकारीद्वारा लिखित ‘मणिपुरमा नेपाली साहित्यः एक अध्ययन’ शीर्षकको पुस्तकको पनि लोकार्पण गरेको नेपाली प्रतिनिधिमण्डलका सदस्य महेश पौड्यालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell