PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'भारत नेपालमा हस्तक्षेप होइन, सहयोग गर्न चाहन्छ'



'भारत नेपालमा हस्तक्षेप होइन, सहयोग गर्न चाहन्छ'
व्यवस्थापिका संसदमा मोदी। तस्बिरः भारतीय दूतावास

नरेन्द्र मोदी -

म नेपाल आउन पाएको अन्त्यतै हर्षित छु। धेरै वर्षअघि एक पथिक र तिर्थालुको रुपमा म यहाँ आएको थिएँ। एकपटक नेपालको भ्रमण गरेमा जीवनपर्यन्त सम्बन्धमा बदलिन्छ भन्ने भनाई मैले सुनेको थिएँ। 

यो सुन्दर देशको साथीको रुपमा फेरि म फर्केर आएको छु। प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउँदा वास्तवमा मैले आफूलाई भाग्यशाली महसुस गरेको छु। 

सम्बोधनको अडियो सुन्नुस्।

म प्रधानमन्त्री कार्यलयमा आए देखि मेरो सरकारको नेपालसँगको सम्बन्ध उच्चतम प्राथमिकता हो। मलाई निमन्त्रणा गर्नु भएकोमा नेपाल सरकार र नेपालका जनतालाई धन्यवाद दिन चाहान्छु। मसँगै मैले १ सय २५ करोड भारतीय जनताको माया र शुभकामना पनि लिएर आएको छु। 

तपाईँको संसदमा म पहिलो पाहुना हुँ। यो सबै भारतीय प्रतिको माया र सम्मान हो भन्ने मैले बुझेको छु। 

हिमालय र गंगाजति पुरानो सम्बन्ध
नेपाल र भारतको सम्बन्ध हिमालय र गंगाजति पुरानो छ। तर हालसम्म हाम्रो सम्बन्ध कागजमा मात्र अघि बढेको छ। काशीमा नेपाली पुजारी छन्, पशुपतिनाथमा भारतीय पुजारी छन्। 
 
हिन्दुस्तानले कुनै लडाइँ जितको छैन जहाँ नेपालीले रगत नबगाएको होस्। भारतको स्वाभिमानका लागि लड्न बहादुर नेपाली कहिल्यै पछाडि हटेन। म उनीहरुलाई नमन गर्न चाहन्छु। 
 
कोही सेनाका जवान ‘म मृत्युसँग डराउँदिन’ भन्छन् भने कि ऊ झुट बोलिरहेको छ कि ऊ गोर्खाली हो भन्ने मैले सुनेको थिएँ। यसको मतलब यदि गोर्खालीले भन्छ कि म मर्न डरनउँदिन- त्यो सत्य हो। यो वीर भूमि हो। 

विश्वको ध्यान नेपालमा 
यतिबेला लोकतन्त्रमा विश्वास राख्ने विश्वको ध्यान नेपालमा केन्द्रित छ। यो सभामा बसेका सबैमा केन्द्रित छ। लोकतन्त्रमा विश्वास राख्ने सबैजना आशा भरिएको नजरबाट तपाइँहरुलाई हेरिरहेका छन्। 
 
संविधाननिर्माताको रुपमा तपाइँहरुलाई सौभाग्य मिलेको छ। ऋषिले संहिताको रुपमा वेद निर्माण गरेजस्तै आधुनिक जीवनमा संविधानले पनि संहिताको रुप लिन्छ। ऋषि जस्तै एउटा नयाँ संहिता लेख्ने सौभाग्य तपाइँहरुलाई मिलेको छ। 
 
संविधान निमार्णका लागि ऋषि मन हुन जरुरी छ। त्यस्तो मन, जो टाढा देख्न सक्छ। समस्या पहिचान गर्न सक्छ। त्यस्तो मन, जसले सय वर्षपछि पनि समाजलाई अघि बढाउन सक्छ। म तपाइँहरुलाई अभिनन्दन गर्न आएको छु। तपाइँहरु त्यस्तै काम गर्दै हुनुहुन्छ। 
 
संविधान किताव होइन। संविधानले हिजो, आज र भोलि जोड्ने काम गर्छ। संविधानले मनहरु जोड्छ, तोड्दैन। भारतको संविधानले हिमालय, समुन्द्र, पर्वत र मरुभूमी जोड्छ। सवा सय करोड मानिसको मनको आकांक्षा जोड्छ। 
 
तपाईँहरु पनि त्यस्तै संविधान निर्माण गर्दै हुनुहुन्छ। त्यसले नेपाली नागरिकलाई मात्र जोड्ने होइन कि नयाँ इतिहास सिर्जना गर्दैछ। तपाईँ नेपालका लागि संविधान लेख्नेमात्र होइन, विश्वकै लागि स्वर्ण इतिहास लेख्दै हुनुहन्छ।

युद्धबाट बुद्धको यात्रा 
बुलेटको बाटो छोडेर ब्यलेटको बाटो लिने तपाईँहरुलाई म अभिनन्दन गर्छु। युद्धबाट बुद्ध तर्फको यात्राका लागि म यहाँ तपाईँहरुलाई बधाई दिन आएको छु। शान्ति प्रक्रियाको गर्भबाट एउटा उच्चस्तरको संविधान बन्नेछ। मलाई विश्वास छ, करोडौँ करोड जनताको संविधान बन्नेछ।

जब संविधान बन्नेछ, विश्वका सामुन्ने भनेपाल ‘शस्त्र छाडेर शास्त्रको साथबाट जनताको जीवनको परिवर्तन सम्भव छ भन्ने उदाहरणीय देश बन्नेछ। तपाईँहरु संविधानमार्फत लोकतान्त्रिक प्रणालीका साथ अघि बढ्दा विश्वमा शस्त्र उठाउनेहरुलाई पनि पुर्नविचार गर्न मद्दत गर्नुहुनेछ। हिसांबाट होइन शास्त्रको बाटोबाट नयाँ बुद्ध जन्मने यात्रामा जाने सन्देश तपाईँहरुले दिनुभएको छ। 

भारतले हस्तक्षेप गर्दैन 
भारतको काम तपाईँका काममा हस्तक्षेप गर्ने होइन। तपाइँहरु जुन दिशामा हुनुहुन्छ त्यसमा सहयोग गर्ने हाम्रो काम हो। नेपाल एक सार्वभौम राष्ट्र हो। हाम्रो इच्छा यति हो कि नेपालले हिमालयको जस्तै उचाई प्राप्त गरोस्। विश्वले चिनोस्। हाम्रो इच्छा त्यति हो। 

नेपालको संविधान समावेशी होस्। के गरिब के शिक्षित, के धनी के गरिब, हरेक नेपालीलाई संविधान निर्माण हुँदा आफ्नो फूलको सुगन्ध आउने पुष्पगुच्छा बनेको छ भन्ने लाग्नुपर्छ। त्यस्तो पुष्पगुच्छा, जसमा हरेकले आफ्नो फूलको सुगन्ध आइरहेको महसुस् गर्न सकुन्। संविधान ‘सर्वजन हिताय’ होस्, ‘सर्वजन सुखाय’ होस्। 
 
संविधान जनआकांक्षा पूर्तिका लागि हुनुपर्छ। संविधानले जोड्छ, कहिल्यै तोड्दैन। विवादलाई संम्वादमा लैजाने माध्यम हो संविधान। चाहे पहाड होस्, चाहे तराई- संविधानले जोड्ने काम गरोस्। अरु धेरै तागत जोड्ने काम संविधानले गर्नेछ भन्ने मेरो विश्वास छ। संविधान वर्तमानको बोझबाट दबिएको हुनु हुँदैन।  
 
संविधानमा अहिले भएको सानो गल्ति, अल्पविराम, पूर्वविरामले पनि भविष्यमा समस्या निम्त्याउन सक्छ। त्यसैले भविष्यमा कुनै समस्या नआउने संविधान आउनेछ भन्ने मलाई विश्वास छ। 

बुद्ध जन्मिएको भूमि 
शस्त्र छोडेर शास्त्रमा लाग्नु भएको छ। तपाइँहरुले सन्देश दिनु भएको छ कि यो बुद्ध जन्मिएको भूमि हो। 
 
नेपालले जुन बाटो लिएको छ- संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो- त्यो विश्वमा उपलब्ध उत्तम राष्ट्रको बाटो हो। अब प्रतिक्षा यति छ कि काम छिटो होस्। 

आपसी सम्बन्ध
नेपाल र भारतको सम्बन्ध यस्तो छ कि यहाँ चिसो हावा चले हामीलाई पनि चिसो लाग्छ। यहाँ घाम चर्को लागे हामीलाई पनि गर्मी हुन्छ। तपाइँहरु चैनले नसुते हामी पनि सुत्न सक्दैनौँ। नेपाली भाइ भोके सुतेर बसेको हामी पनि हेर्न सक्दैनौँ। 
 
भर्खरमात्र कोसी थुनिएको दुखद खबर आयो। मैले हाम्रो देशमा पनि पलपलमा खबर गर्न भने। जति सक्दो छिटो हल गर्न भनेँ। यो चिन्ता किन पनि हो भने कस्ट तपाइँको मात्र होइन, हाम्रो पनि हो। हामी र तपाइँ अलग हुन सक्दैनौँ। तपाइँहरु हाम्रो मानिस हुनुहुन्छ, मेरो मानिस हुनुहुन्छ। तपाइँहरुको जति आशा छ, आकांक्षा छ, त्यो पूर्तिका लागि भारत तयार छ।  

बिजुली निःशुल्क चाहिँदैन 
बुद्धको जन्मभूमि हो नेपाल। यहाँको पानीको माध्यमबाट हिन्दुस्तानको अँध्यारो हटाउन सकिन्छ। हामीलाई बिजुली निःशुल्क चाहिएको होइन। पानी पनि। निशुल्क चाहिएको होइन। हामी किन्न चाहन्छौँ। एउटा उखान छ- पानी र जवानी अड्याएर राख्न सकिन्न। पानी पहाडमा बसिरहँदैन। बगेर जान्छ। त्यसैगरी जवानी पनि जान्छ। तर अब पहाडमा पानी र जवानी काममा आउनुपर्छ। 
 
भारत र नेपालमा ठूलो युवा र नवजवान जनशक्ति छ। यहाँका युवामा वर्तमान बदल्ने तागत छ। अबको समय हो- तपाइँहरु निणर्य गर्नुस्, नेतृत्वको परिचय दिनुस्। नेपाल एउटा भारतलाई बिजुली बेचेर धनी देश बन्न सक्छ। ट्रकमा कोइला बोकेर हिँड्ने युग फेरिएको छ। अब बिजुलीको विषय पाइप लाइनबाट आए पनि हामी काम पुरा गर्छौँ। 

काँधमा काँध मिलाउन इच्छुक 
अब भारतले नेपालबाट भारतमा पढ्न जानेलाई छात्रवृत्तिको कोटा बढाउने छ। विश्वमा अत्यन्त धेरै सम्भावना बोकेको हिमालय नेपालमा छ। हिजो लक्ष्मण जुडिबुटी लिन हिमालयको गर्भमा आएका थिए। अब जुडिबुटीबाट हर्बल मेडिसिनमा बढावा दिनुपर्छ। के छैन तपाइँहरुसँग? म तपाइँको काँधमा काँध मिलाएर काम गर्न इच्छुक छु। 

भारतमा ठूलो जनसंख्या छ। उनीहरु पशुपतिमा शिर निहुराउन र बुद्ध जन्मभूमि आएर शान्ति प्राप्त गर्न चाहान्छन्। नेपालले भारतबाट आफ्नो पर्यटनको विकास गर्न सक्छ। पर्यटन यस्तो व्यवसाय हो, जसबाट धेरैले कमाउन सक्छन्। ट्याक्सी चलाउने, चिया बेच्ने, चना बेच्ने सबैले कमाउन सक्छन्। चिया बेच्नेको कुरा आउँदा मलाई झन् आनन्द हुन्छ।

मिलेर काम गरौँ 
विश्वभरका युवालाई रोमाञ्चित गर्ने तागत छ हिमालयमा। तपाइँहरुसँग युवालाई हिमालयमा ‘एन्डभेन्चर’ दिलाउने क्षमता छ। आउनुस्, मिलेर काम गरौँ, संविधान निर्माण र विकासको बाटोमा नेपालसँगै हिँड्न हामी तयार छौँ। 

हिट 
मलाई लागेको थियो- नेपाललाई हिट गरौँ। तर यसको अर्थ अर्कै आउला भन्ने लाग्यो। हिट अर्थात एचआइटी। हाइवेज, आइवेज अनि ट्रान्सवेज। आइवेज भनेको इन्फरमेसन वेज र ट्रान्सवेज भनेको ट्रान्समिसन लाइन।  
 
आज हामी नेपाललाई जति बिजुली दिन्छौँ, ट्रान्समिसन लाइन बनेपछि दोब्बर बनाउने मेरो इच्छा छ। आज हामी नेपालको अँध्यारो हटाउँछौँ। तर दसकपछि नेपालले हाम्रो अँध्यारो हटाउने छ। 
 
हामी यति नजिक छौँ। अब महाकालीमा पुल बनेपछि हाम्रो दुरी झन् कम हुनेछ। सम्बन्ध थप नजिक हुनेछ। 
 
नेपाल भारतको बोर्डर ‘ब्यारियर’ होइन ‘ब्रिज’ बन्नुपर्छ। भारत र नेपलको सिमाबाट राम्रो विषयको आदान प्रदान भइरहनुपर्छ।  
 
मैले प्रधानमन्त्री कोइरालासँगको भेटमा भनेँ- हिमालय माथि गहिरो अध्ययन हुनुपर्छ। त्यसका सम्भावनाको खोजी गर्नुपर्छ। 
 
अहिले नेपाल र भारतबाट अमेरिका फोन गर्न सस्तो छ तर हामीहामीबीच फोन गर्न महंगो छ। यो स्थिति हुनु हुँदैन। दुबै देशले टेलिफोन सेवा प्रदायकसँग कुरा गरौँ। हामीले बडो आरामसँग कम खर्चमा कुरा गनुपर्छ। त्यसबाट त हाम्रो नाता जोडिन्छ।
 
सार्क सम्मेलनका बेला सार्क देशहरु मिलेर गरिबी विरुद्ध लड्ने अजेण्डा बनाउनुपर्छ। यो भारतको दायित्व हो। सार्कमा भारतका छिमेकी भाइ छन्, साथी भाइ छन्। मैले सार्क स्याटेलाइट सुरु गर्ने कुरा गरेको छु। त्यसबाट स्वास्थ्य र शिक्षामा फाइदा होस्। नेपाललाई पनि फाइदा मिलोस्। 

म फेरि आउँछु
हामी यति नजिक भएर पनि मलाई यहाँ आउन १७ वर्ष लाग्यो। अब त्यस्तो हुँदैन। म कसम खान्छु- म फेरि आउँछु। सार्क सम्मेलनका बेला लुम्बिनी र जनकपुर जानेछु।
 
पञ्चेश्वरबारे सहमति भएपनि काम धेरै अघि बढेन। अब दुई पक्षमै काम गर्ने निकाय बनेका छन्। ५ हजार ६ सय मेगावटको बिजुली उत्पादन क्षमता भारतको छ। त्यो भनेको अहिले नेपालमा उत्पादन भएको भन्दा ५ गुणा बढि हो। पञ्चेश्वरमा भारत ‘प्रोएक्टिभ’ भएर काम गर्ने छ। 

नेपाल अर्गानिक फार्मिङलाई उपयुक्त स्थान हो। अर्गानिक काम गर्न सकिए रुपैयाँमा बेचिने वस्तु डलरमा बेच्न सकिन्छ। नेपालले त्यसो गर्न सक्छ। भारतको सिक्किम राज्यले त्यही गरेको छ। 
 
भारत र नेपालमा किसानको आफ्नो हेल्थ कार्ड छैन तर भारतले अगाडि बढाएको माटोको स्वास्थ्यको कार्ड प्रणाली नेपालका लागि पनि उपयुक्त हुन सक्छ। कतै माटो बिरामी त छैन? त्यसको उत्पादन गर्ने क्षमता नाप्नुपर्छ। 

१० हजार करोड ऋण 
म आज एउटा घोषणा गर्न चाहन्छु भारत नेपाललाई दस हजार करोड नेपाली रुपैयाँ सहुलियत ऋण दिने घोषणा गर्दछ। यो रकम नेपाली प्राथमिकतामा खर्च होस्। हाइड्रोपावर, यातायात क्षेत्रमा खर्च होस्।  
 
अन्त्यमा, म भन्न चाहान्छु, यतिबेला दुनियाँको नजर तपाइँहरु माथि छ। शस्त्रले होइन संविधानले मुक्तिको मार्ग खोज्न तपाइँहरुले सिकाउनु भएको छ। तपाइँहरुले शस्त्रको मार्ग छोड्न प्रेरणा दिनु भएको छ। यसले विश्वमा नयाँ विश्वास पैदा गर्नेछ। तपाइँहरु नयाँ इतिहास निमार्ण गर्दै हनुहुन्छ। 
 
भारत नेपाल मैत्री सम्बन्ध अमर रहोस्। युगयुग बाँचोस्। नेपाल हिमालय भन्दा अग्लो भएर उठोस्। धन्यवाद

(व्यवस्थापिका संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनको अनुवादित तथा सम्पादित अंश)

भिडियो हेर्नुस्-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell