
काठमाडौं : तराई परिवेशमा रहेर आख्यान लेखकका रुपमा चिनिएका नयनराज पाण्डे हिमाली भूमि र शेर्पा संस्कृति समेटेर लेखिएको उपन्यास 'सल्लीपिर' लिएर आएका छन्।
उलार, लू जस्ता चर्चित उपन्यास लेखिसकेका उनको नयाँ उपन्यास आज राजधानीको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। उपन्यासलाई लेखकसहित कवि श्यामलले लोकार्पण गरेका थिए।
वक्ताका रुपमा उपस्थित श्यामलले नेपालगन्जमा हुर्किएको लेखकले हिमाली भावभूमिमा रहेर शेर्पाहरुको कथा लेख्नु ठूलो साहसी काम भएको बताए। 'म पनि उपन्यास लेखिरहेको छु,' उनले ठट्यौलो पारामा भने, 'यत्तिको न्याय गर्न सक्दिनँ कि भनेर डर लाग्न थालेको छ।'
नेपाली समाज लोकविश्वासमा बाँचिरहेको भन्दै उनले पुस्तकमा आएका पात्रहरुमा रहेको त्यो विश्वास अरुका लागि नयाँ कुरा थाहा पाउने माध्यम बनेको चर्चा गरे।
'हिमाल आरोहण र त्यहाँको समाजबारे साहित्यमा अति नै कम लेखिएको छ,' उनले थपे, 'म पनि धेरैपहिले खुम्बु क्षेत्र पुगेको थिएँ, त्यहाँको समाज र संस्कृतिमाथिको आधिकारिक पुस्तक बल्ल आएको छ, यो ठूलो प्राप्ति हो।'
पुस्तक लेखनको सन्दर्भ जोड्दै पाण्डेले आफूले अमेरिका वा बेलायतको कथा नभई देशभित्रकै कथा लेखेको बताए। 'मधेसमाथि लेखिरहेको लेखकले किन हिमालको कथा लेख्यो भनेर धेरैले सोध्नुहुन्छ,' उनले प्रस्ट पारे, 'हिमाल पनि मेरै देशभित्रको हो, त्यहाँको संस्कृति पनि तपाईं-हाम्रै साझा हो। देशभित्रको जुनसुकै कथा लेख्दा मलाई खुसी र सन्तुष्टि प्राप्त हुन्छ।'
अहिलेका पाठकको स्तर बढेकाले लेखकहरुमा अब दबाब र चुनौती थपिएको उनको भनाइ थियो। 'कमजोर लेखेँ भने मलाई नै चिन्ता लाग्छ, त्यसो हुँदा म तपाईंहरुबाट विस्थापित हुन्छु,' राम्रा र नराम्रा पुस्तक छुट्याउन सक्ने पाठक बढेको भन्दै उनले थपे, 'कमजोर लेखेँ भने गाली गर्नुस्। आलोचक भनेका लेखकका लागि मापसे चेक गर्ने ट्राफिक प्रहरीजस्तै हुन्। ट्राफिक देख्दा हामीलाई रिस उठेजस्तो हुन्छ, तर तिनले हाम्रै सुरक्षाका लागि काम गरिरहेका हुन्छन्।'
विमोचन समारोहमा नारायण ढकाल, कुमार नगरकोटी, बुद्धिसागर, उषा शेरचन, मोहन मैनाली, अविनाश श्रेष्ठ, युग पाठक लगायतका लेखक-साहित्यकार तथा निश्चल बस्नेत, ऋचा शर्मा, सिर्जना सुब्बा लगायतका सिनेकर्मी समेत पुगेका थिए।
फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य ३४८ रुपैयाँ राखिएको छ।