PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुग्यो, १२६ बेपत्ता



पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुग्यो, १२६ बेपत्ता
उद्दारका लागि पुगेको सेनाको हेलिकोप्टर

काठमाडौं : सिन्धुपाल्चोक माङ्खा गाविसको जुरेमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ३०  पुगेको छ।

पहिरोले पुरेको स्थानमा दुईवटा स्काभेटर प्रयोग गरी खोजी गरिएपछि सोमबारमात्र थप २० जनाको शव भेटिएको क्षति निर्धारण समितिका संयोजक एवं सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुर्य उपाध्यायले जानकारी दिए। आइतबार १० ओटा शव फेला परेका थिए। 

सोमबार शव भेटिएका २० मध्ये १२ जनाको सनाखत भएको राससले जनाएको छ । सनाखत हुनेमा माङ्खा १ का धनमायाँ श्रेष्ठ, गणेश श्रेष्ठ, चन्द्रमायाँ श्रेष्ठ, सोममायाँ श्रेष्ठ र तीन महिनाका बालक मिथुला दनुवार र उनकी नाम नखुलेकी सानीआमा छन्।

पुनम श्रेष्ठ, जया श्रेष्ठ, राजन श्रेष्ठ, रमित खत्री र मिठु खत्रीको पनि शव पहिचान भएको छ। अन्य आठ जनाको सनाखत हुन सकेको छैन।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाले शव खोजिरहेका छन्।

स्थानीय प्रशासनले १५६ बेपत्ता भएको भनेकोमा ३० शव फेलापरेपछि बेपत्ताको सङ्ख्या अझै १२६ छ । प्रशासनका अनुसार विस्थापितको सङ्ख्या ४ सय ३६  छ भने १सय १५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

५६ वटा घर अधिक जोखिमयुक्त छन्। त्यहाँका बासिन्दालाई खानबस्न टुकी सङ्घ सुनकोसी र लामोसाँघुस्थित सशस्त्र प्रहरी बल बसेको ओरेन्ट म्याग्नेसाइटको कारखानामा राखिएको छ।

पहिरो गएको तीन दिन पुगिसकेकोले हराएकाहरु जिवीत भेटिने सम्भावना कम भएको सहायक प्रजिअ उपाध्यायले बताए। पहिरोमा हराएका आफन्तजन भेटिने आशामा बेपत्ताहरुका परिवार तथा आफन्त दुर्घटनास्थलमा बसिरहेका छन्।

पहिरो खसेर थुनिएको कोसीबाट शनिबार नै पानीको निकास खोलिएको थियो तर निकास निकै सानो भएका कारण कोसीमा पानीको सतह घटेको छैन। सुनकोसीमा दैनिकरुपमा बग्ने पानी बगेपछि तालबनेको पानी यथावतरहेकाले तल्लो तटीय क्षेत्र अझै पनि खतरामा छ। 

प्राविधिक, विज्ञ र सुरक्षाकर्मीबीच आइतबार भएको छलफलले अर्को ठाउँबाट निकास ननिकाली अहिले बगिरहेकै अवस्थामा छोड्ने निर्णय गरेको थियो। स्थानीयबासीले सरकारले उद्दारमा पर्याप्त चासो नदेखाएको आरोप लगाएका छन्।

पहिरोका कारण बाटो अबरूद्ध छ। अरनिको राजमार्ग भएर चल्ने सवारी साधनहरू काभ्रेको पाँचखालसम्म मात्र चलेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell