PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

बजेट अधिवेशन सुरु नहुँदै संसदमा कांग्रेस हाबी



  • पहिलोपोस्ट -
काठमाडौं : सरकारको तर्फबाट संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने समय फेरि सरेको छ। कांग्रेसले संसद अधिवेशन सुरु भएलगत्तै समसामयिक विषयमा छलफल हुनुपर्ने माग अगाडि सारेपछि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची पछाडि धकेलिएको हो।

यसअघि २५ गते नीति तथा कार्यक्रम पेश गर्ने दलहरुको सहमतिलाई सभामुखसहित बसेको प्रमुख सचेतकहरुको बैठकले २६ गतेका लागि पुर्‍याएको हो।

आइतबार सभामुखसहित सचेतकहरुका बीच २१ गते अधिवेशन सुरु गर्ने, २२ देखि २४ गतेसम्म प्रि-बजेट छलफल गर्ने कार्यसूची तय भएको थियो। कांग्रेसले भने अधिवेशन सुरु भएलगत्तै समसामयिक विषयमा छलफल हुनुपर्ने धारणा राखेको छ।

'२२ र २३ गते राजनीति, आगलागी, आन्दोलन, नाकाबन्दीदेखि पुनर्निर्माण र समसामयिक विषयहरुमा छलफल हुने भयो, २४ गते अर्थमन्त्रीले प्रि-बजेटका विषयमा छलफल सुरु गर्नुहुनेछ,' राप्रपा नेपालमा प्रमुख सचेतक दिलनाथ गिरीले पहिलोपोस्टसित भने, '२५ गते पनि छलफल भएपछि २६ गते मात्रै राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने निर्णय भएको छ।'

उनले प्रमुख प्रतिपक्षी कांग्रेसकै अडानका कारण नीति तथा कार्यक्रम पेश गर्ने मिति हेरफेर भएको बताएका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते नै नीति तथा कार्यक्रम पेश गर्न सर्वदलीय बैठकमा प्रस्ताव गरेका थिए। तर कांग्रेसले प्रि-बजेट छलफल हुनुपर्ने अडान लिएको थियो।

'यो त बजेट अधिवेशन हो, नीति तथा कार्यक्रम र बजेट आएपछि अरु छलफल गरौँ भनेर हामीले भनेका हौं,' गिरीले भने, 'हामीले जेठको १, २, ३ गते समसामयिक छलफल गरौँ भने पनि प्रतिपक्षी कांग्रेसले जोडदार माग गर्‍यो।'

फाइल फोटो : पहिलोपोस्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell