PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

​डाक्टरपछि भेटियो पाइलट पनि नक्कली, १ जना पक्राउ ६० भन्दा बढी अनुसन्धान घेरामा



​डाक्टरपछि भेटियो पाइलट पनि नक्कली, १ जना पक्राउ ६० भन्दा बढी अनुसन्धान घेरामा

  • विनोद ढकाल/पहिलोपोस्ट-
काठमाडौं : प्रहरीले डाक्टरपछि नक्कली पाइलट पनि रहेको फेला पारेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गोमा एअरका कोपाइलट विशाल कार्कीलाई मंगलबार पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।

धनुषा भरतपुर १ का ३६ वर्षिय कार्की एक वर्षदेखि गोमा एअरमा कार्यरत रहेको सिआइबीले जनाएको छ। उनले काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको सर्टिफिकेट बनाएर फिलिपिन्सबाट पाइलट कोर्स पुरा गरेका थिए। कार्कीले बनाएको ट्रान्सकिप्ट नक्कली भेटिएको सिआइबीले जनाएको छ।

२०५२ सालमा एसएलसी पास गरेका उनले भारतको लखनउमा आइएस्सी पढेका र पास गर्न नसकेपछि २०६४/६५ शैक्षिक वर्षमा अमृत साइन्स क्याम्पसबाट नक्कली प्रमाणपत्र बनाएर फिलिपिन्सको डेल्टा एयरमा पाइलट कोर्स लिन पुगेका थिए। कार्कीले नेपाल नागरिक उड्ययन प्राधिकरणले दिने विमान चालक अनुमति पत्र (CPL) पनि बनाइसकेका छन्।

उनलाई पक्राउ गरी प्रहरीले अदालतबाट म्याद लिइ अनुसन्धान सुरु गरिसकेको छ। कार्की विरुद्ध मुलुकी ऐन अन्तर्गत सरकारी छाप दस्तखत कीर्ते अन्तर्गत मुद्दा चलाउने सिआइबीले जनाएको छ। त्यस्तै नागरिक उड्ययन प्राधिकरण ऐन २०५३ को नियमावली २०५८ अनुसार अनुमति पत्र रद्द हुनेछ।

अझै ६० भन्दा बढी छानबिनमा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर पढाइ पूरा गरेकाहरुमाथि छानबिन गर्न अपरेसन क्वाक सञ्चालन गरेको थियो। त्यसमा धेरैले नक्कली सर्टिफिकेट पेश गरेर डाक्टर बनेको तथ्य पत्ता लागेको थियो।

अहिले नक्कली प्रमाणपत्र पेश गरेर उड्ययन क्षेत्रमा संलग्न भएकाहरुको अनुसन्धानका लागि प्रहरीले 'अपरेसन हक' सञ्चालन गरेको छ। नक्‍कली प्रमाणपत्र पेश गरेर पाइलट कोर्स पूरा गरेका नक्कली पाइलटहरु बिभिन्न विमान कम्पनीमा कार्यरत रहेको पाइएको सिआइबीका प्रमुख डिआइजी नवराज सिलवालले बताए। सिआइबीले नेपालका बिभिन्न विमान कम्पनीमा गरी ६० भन्दा बढी पाइलटहरु नक्कली प्रमाणपत्रधारी रहेको अनुमान गरेको छ।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी पाइलटको अनुमतिपत्र प्राप्त गरेका विमान चालकहरूको शैक्षिक प्रमाण पत्रहरू छानविन भइरहेको उनले बताए। 'उड्ययन क्षेत्र भनेको नागरिकको जीवनसँग प्रत्यक्ष संबन्धित क्षेत्र हो, पाइलटको  हातमा विमानका सबै यात्रुहरुको भविश्य रहेको हुन्छ' उनले भने 'त्यसैले पाइलटहरु सक्षम र क्वालिफाइड हुन् भनेर हामीले अभियान सुरुवात गरेका हौं।'

नेपालको हवाइ सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत प्रश्न उठिरहेकोभन्दै सिलवालले आउँदा दिनमा नक्कली शिक्षा लिएर विमान उडाउने र यात्रुको जीवनमाथि खेलवाड गर्नेहरुको खोजी गर्ने जिम्मेवारी आफुहरुले लिएको बताए। 

फोटोहरु : इलिट जोशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell