
- मनोज सत्याल -
दलहरुले गरेको बाचाअनुसार अब संविधान जारी गर्न ठिक एक महिनाको समय छ। तर, प्रमुख राजनीतिक दलबीच सम्बन्ध सहमतिको ठिक विपरित बाटोमा छ।
दलका शीर्ष नेता ब्यक्तिगत आरोप र प्रत्यारोपमा उत्रिएका छन्। संविधानसभाको दोश्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेश्रो शक्ति एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड एक अर्कालाई हिलो छ्याप्न व्यस्त छन्। यो क्रम अहिलेसम्म जारी छ।
आरोप र प्रत्यारोप
गत शनिबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बालुवाटार बैठकबाट एमाओवादी अध्यक्ष प्रचण्ड सहितका नेता एकाएक बाहिरिए। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीले जातजातिको विषय उठाएर मुलुक रुवान्डा बनाउन लागेको भन्दै लामो अभिव्यक्ति दिएका थिए। ओलीले धारणा राख्दै गर्दा एमाओवादी नेताहरु बैठक छाडेर हिँडेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको ट्विटअनुसार प्रचण्डले बैठकमा 'तपाईँहरु संविधान बनाउने पक्षमा हनुहुन्न भनेका थिए।' प्रचण्डको भनाइसँगै ओलीले माइक्रो ब्लगिङ साइट ट्विटरमा टिप्पणी गरे, 'प्रचण्डजी तीन दलको बैठकबाट जर्याकजुरुक उठेर हिँडेपछि सहमतिको सम्भावना लगभग सकियो।'
त्यसको भोलिपल्ट एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभा भवनमा पत्रकारहरुलाइ प्रतिक्रिया दिँदै ओलीमाथि ब्यक्तिगत आक्षेप लगाए।
‘एउटा पार्टीको अध्यक्ष भएँ अथवा अलिकति सिट बढी आयो भन्दैमा महाराजधिराज नै मै हुँ, अरु सब रैति भए अरु सबै दासहरु हुन् भन्ने ठान्यो भने त त्यो मानसिकतासँग त झुक्न सकिँदैन, ओलीजीले यसरी आफूलाई यो देशको ठेकेदार मै हुँ भने जस्तो गरी जे मन लाग्यो त्यही बोल्ने?' प्रचण्डले भने।
सोमबार सर्लाही पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार बैठकमा प्रचण्डलाई कमिलाले टोकेको हो कि भन्दै ब्यङ्ग गरे।
'हामी त सहमतिकै पक्षमा छौँ र त्यसअनुसार नै अगाडि बढिरहेका छौँ,” ओलीले ब्यङ्ग्य गरे, 'तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नुभयो।'
टाढियो सहमति?
प्रमुख दलका शीर्ष नेताहरुको आरोप र प्रत्यारोममा केन्द्रीत भएसँगै संविधानका विवादीत शासकीय स्वरुप, राज्य पुर्नसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमतिको सम्भावना समेत टरेको छ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमति भएको खण्डमा मात्र माघ ८ मा नियमावली र प्रक्रिया निलम्बन गरेर संविधान जारी गर्न सम्भव रहेको बताउँदै आएका छन्।
दोश्रो संविधानसभाको ११ महिना गुज्रँदा समेत दलहरुले सहमति जुटाउन सकेका छैनन्। पहिलो संविधानसभामा जे जति विवाद थिए आजको मितिसम्म ती विषय ज्यूँका त्यूँ छ।
एमाओवादी संविधानका अन्तरवस्तुमा कम्तीमा पनि कांग्रेस, एमाले, एमाओवादी र मधेसकेन्द्रित दलहरुको बीचमा सहमति हुनुपर्ने अडानमा छ। तर एमाले अध्यक्ष केपी शर्मा ओली संविधानका अन्तर्वस्तुमा सहमति जुट्न नसक्ने निष्कर्षमा पुगिसकेका छन्। ओलीले आफूहरुसँग दुई तिहाइ बहुमत रहेको भन्दै संविधान जारी गर्ने उद्घोष गर्दै आएका छन्।
एमाओवादीका नेता बाबुराम भट्टराई अहिलेको द्वन्द्वको कारक एमाले र नेपाली काँग्रेसमा शान्ति प्रक्रिया नबुझ्ने शक्तिको नेतृत्व आउनु बताउँछन्।
'शान्ति प्रकृयामा त्यतिखेर प्रत्यक्ष संलग्न भनेको गिरिजाप्रसाद कोइराला, प्रचण्ड, म, माधवकुमार नेपाल र कृष्ण सिटौला हो। अरु त सहयोगी पात्र थिए। अहिलेको संयोग कस्तो हुन पुग्यो भने त्यतिखेरका गिरिजाप्रसाद बित्नुभयो। अहिले सुशीलजी नेतृत्वमा हुनुहुन्छ। त्यतिखेर पनि सुशीलजी हामीप्रति नकारात्मक हुनुहुन्थ्यो,' भट्टराई भन्छन्, 'अर्कोतिर एमालेमा माधव नेपाल पाखा लाग्नुभयो, केपी ओलीजी आउनुभयो। यो प्रकृयामा उहाँ कतै जोडिनुभएन। १२ बुँदे सम्ममात्र उहाँ सक्रिय हुनुहुन्थ्यो। १२ बुँदे यताको पूरा शान्ति प्रकृयामा उहाँ रहनुभएन। यसको मर्म बुझ्ने मानिस त्यहाँ पनि भएन।'
एमाओवादीले संविधान निर्माण शान्ति प्रक्रियाको पाटो भएको धारणा पछिल्ला फोरमहरुमा राख्दै आएको छ। तर एमाले नेताहरुले संविधानसभा सार्वभौम भएको भन्दै कुनै सन्धि सम्झौताको बन्धनमा बस्न नसक्ने दावी गर्दै आएको छ।
'कुनै सन्धि सम्झौताले संविधानसभालाई बन्धक बनाउन सक्दैन,' एमाले सचिव समेत रहेका सभासद् भीम आचार्यले भने, 'दुई तिहाइ बहमुतको सहमतिमा संविधान बनाउन संविधानसभा सार्वभौम छ।'
प्रचण्ड र ओली सम्बन्ध?
गत कात्तिक १० गते एमाओवादी र मधेसी मोर्चाले आयोजना गरेको चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन्। चियापानमा प्रधानमन्त्री सुशील कोइराला र एमाले नेता माधवकुमार नेपाल भने सहभागी भएका थिए।
मञ्चबाट मुखै फोरेर प्रचण्डले ओली नआएकोमा खल्लो भएको बताए।
'कांग्रेस र एमालेको चियापानमा पुगेर हामीले भावनात्मक एकता साट्यौँ, एमाले अध्यक्ष केपी ओलीजी आइदिनु भएको भए राम्रो हुन्थ्यो,' प्रचण्डले भनेका थिए, 'हामीले ओलीजीलाई आग्रह गर्यौ, उहाँ आउनुपर्थ्यो तर आउन सक्नुभएन।'
पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेपछि ओली पार्टीमा बलियो बने। लगत्तै महाधिवेशनमा अर्का नेता माधवकुमार नेपाललाई पराजित गरे। पार्टीमा शक्तिशाली बनेपछि ओलीले सरकारमा समेत पछिल्लो समय हस्तक्षेप बढाएका छन्। पार्टीको संसदीय दल तथा नेताहरुसँग छलफल विना नै मन्त्रीमण्डल हेरफेर गरे र विश्वासपात्र महेश बस्नेतलाई मन्त्री बनाए।
कांग्रेस र अन्य सत्तारुढ दलहरुसँग सहकार्यमा ओलीले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सात प्रदेशको अवधारणा आफैँले पेश गरेका थिए।
वाकपटुतामा चातुर रहेका ओली पहिलो संविधानसभामा एमाओवादी पहिलो र एमाले तेश्रो भएपछि एमाओवादीको आलोचना गरेर माथि उठेका हुन्।
२०६९ साल असार १ गते एमाओवादीले खुल्लामञ्चमा आमसभा गरेको थियो। आमसभामा प्रचण्डले 'अरुले गाएको र माओवादीले सुसेलेको' भन्दै कांग्रेस र एमालेलाई ब्यङ्ग गरेका थिए। तर अहिले परिस्थिति प्रचण्डले भने भन्दा ठिक विपरित बनेको छ। राजनीतिमा ओली गाउने र प्रचण्ड सुसेल्ने अवस्थामा पुगेका छन्।