PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

देउवा पनि चुके- विधानअनुसार पार्टी हाँक्न, विरोध गर्ने समूह मौन



देउवा पनि चुके- विधानअनुसार पार्टी हाँक्न, विरोध गर्ने समूह मौन

  • रमेश वाग्ले
काठमाडौं : नेपाली कांग्रेसलाई लागिरहने आरोप हो- कांग्रेस प्रजातान्त्रिक सिद्धान्त मान्छ तर प्रजातान्त्रिक व्यवहार मान्दैन।
 
विधानअनुसार पार्टी सञ्चालन हुन नसक्नु नै कांग्रेस यो आरोपको भागीदार हुनु हो। न यसअघिका पार्टी सभापतिहरुले यो आरोप चिरेर अगाडि बढ्ने प्रयत्न गरे न त अहिलेका पार्टी सभापति शेरबहादुर देउवाले नै चासो राखे। यसर्थ देउवा पनि विधानअनुसार पार्टी हाँक्न चुकेका छन्।
 
सुशील कोइराला सभापति भएका बखत विधानअनुसार पार्टी नहाँकेको र आन्तरिक प्रजातन्त्रलाई खत्तम पारेको आरोप लगाउँदै विरोध गर्ने समूहका नेता यिनै देउवा थिए। उनी नै १३औं महाधिवेशनबाट सभापति निर्वाचित भएकाले धेरैको अपेक्षा थियो कि उनले पार्टीलाई विधानको लिकमा ल्याउँछन् र आन्तरिक प्रजातन्त्र मजबुत हुन्छ।
 
उनी सभापति निर्वाचित भएको वैशाख २३ गते दुई महिना पूरा भयो। देउवामाथि गहन प्रश्न उठिरहेका छन्- के उनले पूरा गर्दै छन् ती अपेक्षा? अनि कांग्रेसमा आन्तरिक प्रजातन्त्र मजबुत हुँदै छ त?
 
कांग्रेस केन्द्रीय सदस्य तथा देउवा निकटका नेता मानबहादुर विश्वकर्मा अहिलेको परिणाम नै त्यही नाराका कारण आएको बताउँछन्। 'सुशीलजीले पार्टी राम्रोसँग हाँक्नुभएन र विधानको पालना गर्नुभएन। त्यसविरुद्ध हामीले विद्रोह गरेर उहाँको प्यानल छोड्यौं,’ विश्वकर्माले भने, 'अहिले देउवाजी निर्वाचित भएपछि हामीले सुझाव दिएकै हौं तर उहाँ पनि विधानको पालनामा चुक्नुभएको छ।' विधान पालना नगर्दासम्म संगठन अनुशासित र व्यवस्थित नहुने भन्दै विश्वकर्मा देउवाले अब पार्टी संरचनालाई पूर्णता दिनतर्फ लाग्नुपर्ने बताउँछन्।
 
देउवा निकटकै अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी पनि संगठन वैधानिक हिसाबले चल्छ भनेर नै देउवाको टिमले जित हासिल गरेको बताउँछन्। तर विधान कार्यान्वयन नगर्दा प्रतिनिधिहरु निरास हुने अवस्थामा रहेको भण्डारीको भनाइ छ। 'विधान कार्यान्वयन गर्ने र पार्टीलाई संस्थागत हिसाबले सञ्चालन गर्ने अवसर नेतृत्वलाई पटक-पटक आउँदैन,' उनले भने, 'अहिले तोकिएको समयभित्र चुक्नुभयो उहाँ, अब पनि ध्यान दिनुभएन भने त्यसको मूल्यांकन आवश्यक समयमा हुनेछ।'
 
नेपाली कांग्रेसको विधानअनुसार सभापति निर्वाचित भएको दुई महिनाभित्र पार्टी विभाग र समितिहरु गठन गरिसक्नुपर्ने प्रावधान छ। कांग्रेसको विधानमा पाँच वटा समिति र २७ वटा विभागको व्यवस्था छ। जसमध्ये 'कार्यसम्पादन समिति', 'संसदीय समिति', 'अनुशासन समिति', 'केन्द्रीय निर्वाचन समिति' र 'लेखा परीक्षण समिति' गरी पाँच समिति तथा २७ विभागको व्यवस्था विधानले गरेको छ।
 
यसबाहेक नेपाली कांग्रेसलाई विभिन्न समयमा सहयोग गरेका तर अहिले कांग्रेसको प्रत्यक्ष राजनीति वा जिम्मेवारीमा नरहेकाहरुलाई समेटेर 'ज्येष्ठ राजनीतिज्ञ सभा' गठनको व्यवस्था पनि विधानले गरेको छ। पार्टी विधानको दफा १९ ले महाधिवेशन भएको दुई महिनाभित्र ती सबै विभाग र समितिको गठन गरिसक्नुपर्ने व्यवस्था गरेको छ।
 
तर दुई महिनाकै छेकोमा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्त गरेका छैनन्। केन्द्रीय समितिमा उनले नियुक्त गर्न पाउने २१ केन्द्रीय सदस्यमध्ये सात जनालाई पदभार ग्रहणसँगै नियुक्त गरे पनि बाँकी १४ जनाको नियुक्ति आजका मितिसम्म गरेका छैनन्।


नियुक्ति कहिलेसम्म?

देउवा निकटका केन्द्रीय सदस्य बालकृष्ण खाँले पदाधिकारी नियुक्ति र विभाग गठनका लागि अझै केही समय लाग्ने बताएका छन्।
दुई महिना त भयो, अझै कहिलेसम्म? भन्ने प्रश्नमा उनले धेरै कारण दिए।

'पार्टी महाधिवेशनलगत्तै संसदीय दलको चुनाव भयो, त्यसपछि सभापति पारिवारिक कामले भारत जानुपर्‍यो,' खाँडले भने, 'त्यसपछि संसदमा सरकारको नीति तथा कार्यक्रम आयो,  अधिकांश केन्द्रीय सदस्यहरु त्यतै व्यस्त हुनुहुन्छ।'  
 
विधानले दुई महिनाभित्र सबै विभाग र समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ नि? भन्ने प्रश्नमा उनले 'कांग्रेस विधान र परम्परा दुवैका आधारमा चल्ने' बताए।
 
विगतमा सुशील कोइराला सभापति हुँदा पार्टीलाई विधानअनुरुप हाँक्न नसकेको आरोप लगाउँदै विरोधमा उत्रिएको देउवा पक्ष अहिले आफूले नेतृत्व सम्हालेका बेला भने परम्पराका नाममा सुशील कोइरालाकै सिको गरिरहेको छ।
 

के गर्ला कांग्रेसभित्रकै ‘प्रतिपक्ष’?

देउवालाई पार्टीभित्रको प्रतिपक्षले पनि अहिलेसम्म केही भनेको छैन। सभापति देउवाका प्रतिद्वन्द्वी नेता रामचन्द्र पौडेल पारिवारिक भ्रमणमा अमेरिका छन् भने यहाँ रहेका उनी निकटका नेताहरुले पनि कुनै असन्तुष्टि राखेका छैनन्।
 
कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी कांग्रेसमा भएका गुट-उपगुट सिद्धान्तका आधारमा नभई स्वार्थका आधारमा मात्र भएको भन्दै त्यस्ता समूह स्वार्थमा सञ्चालित हुने बताउँछन्। 'विगतमा शेरबहादुरजीको गुटले पनि पार्टी हितमा नभएर आफ्नो हितमा मात्र विधान कार्यान्वयनको कुरा उठाएको थियो,' केसीले भने, 'अहिले विधान कार्यान्वयनमा चिन्ता नै नदेखाउनुले त्यो कार्यकर्तामा भ्रम छर्नमात्र थियो भनेर पुष्टि भएको छ।'
 
उनले विगतमा देउवा पक्षले विभाग र समिति गठनमा आफ्नो पक्षको नाम दिन नै ढिला गरेको भन्दै गठनपछि पनि विरोध र बहिस्कार गरेको स्मरण गरे। 'हामी त्यस्तै अनुशासनहीन काम गरेर सभापतिलाई असहयोग त गर्दैनौं,’ भन्छन्, ‘तर पार्टी अनुशासनभित्रै रहेर विधानको परिपालनामा भने निरन्तर दबाब दिइरहन्छौं।' पार्टी भनेकै सिद्धान्त, नेतृत्व, संगठन र अनुशासन भएकाले अनुशासनहीन शैली अपनाए पार्टी चल्न नसक्ने केसीको भनाइ छ।
 
तर पौडेल पक्षकै अर्का केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना काम गर्दा परिस्थितिवश कहिलेकाहीँ ढिला हुने भन्दै 'नभ्याएर काम ढिला भएको हो वा नियतवश भएको हो' भन्ने कुरा महत्वपूर्ण हुने बताउँछन्। उनले परिस्थितिवश ढिला हुँदा त्यो सबैलाई क्षम्य हुने भन्दै नियतवश ढिला भएको पुष्टि भएमात्र टिप्पणी सुरु हुने उनको भनाइ छ।
 
'परिस्थिति नै त्यस्तै भयो, काम त हुँदै जान्छन् नि,' ढुंगानाले भने, 'अहिले संसद् चलिरहेको छ, उहाँ (देउवा) को परिवार बिरामी भएका कारण केही दिनका लागि नयाँदिल्ली पनि जानुभयो।‘

त्यसो भए कांग्रेसभित्रको प्रतिपक्षले विधान कार्यान्वयनको कुरा उठाउँदैन? भन्ने पहिलोपोस्टको प्रश्नमा ढुंगाना ती सबै कुरा समय आएपछि मात्र उठाउने भन्दै खुल्न चाहेनन्। 'अहिले नै यो विषयमा कुरा उठाउने समय आएको छैन,' उनले हाँस्दै भने, 'समय आएपछि हामी उठाउँछौं तपाईहरुले पनि थाहा पाइहाल्नुहुनेछ।'
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell