PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​निर्धारित सयममा संविधान जारी गर्न दलका नेतालाई मोदीको शुभकामना



​निर्धारित सयममा संविधान जारी गर्न दलका नेतालाई मोदीको शुभकामना
राष्ट्रपति डा. यादवसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिरः भारतीय दूतावास

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारित समयमा संविधान जारी गर्न नेपालका राजनीतिक दलका नेताहरुलाई शुभकामना दिएका छन्।

दुई दिने नेपाल भ्रमणको अन्तिम दिन प्रमुख दलका शीर्ष नेतासँग बौद्धस्थित हायात होटलमा भएको भेटवार्तामा  मोदीले निर्धारित समयमा शान्तिप्रक्रिया र संविधान निर्माण हुने विश्वास व्यक्त गरे।

काठमाडौंको हायात होटलमा मोदीले नेपाली कांग्रेस, नेकपा एमाले  र एकीकृत नेकपा माओवादीका नेतालाई छुट्टाछुट्टै भेटेका थिए भने तराईकेन्द्रित दलका नेतालाई सामूहिकरुपमा भेटेका थिए।

सत्तारुढ नेकपा एमालेसँगको भेटमा मोदीले नेपालका राजनीतिक दलहरुले गर्ने निर्णयमा भारतले साथ दिने बताए। ‘तोकिएकै समयमा संविधान निर्माण हुनेमा आफू आशावादी रहेको बताउनुभयो’, भेटमा सहभागी नेकपा एमालेका केन्द्रीय सदस्य राजन भट्टराईले भने, ‘हामीले समयमै संविधान जारी गर्नेगरी काम भैरहेको जानकारी गरायौँ।‘

भेटमा मोदीले पार्टीको नवौँ महाधिशवेनबाट अध्यक्ष निर्वाचित भएकोमा नेता केपी शर्मा ओलीलाई बधाई दिएका थिए।

नेपाल भारत संयुक्त आयोगको सक्रियतामा एमालेले जोड दिएको भट्टराईले जानकारी दिए।

भेटमा अध्यक्ष ओलीसँगै उपाध्यक्ष एवं गृह तथा उपप्रधानमन्त्री बामदेव गौतम, उपाध्यक्षद्वय भीम रावल र विद्यादेवी भण्डारी, महासचिव इश्वर पोखरेल सहभागी थिए।

यस्तै एकीकृत नेकपा माओवादीका नेतासँगको भेटमा पनि भारतीय प्रधानमन्त्री मोदीले शान्ति प्रक्रिया र संविधान निर्माण समयमै टुङ्गिने विश्वास व्यक्त गरेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए। 'शान्ति प्रक्रिया र सविधान निर्माण टुङ्गोमा पुगोस् भनेर मोदीले कामना गर्नुभयो', अध्यक्ष प्रचण्डले भने।

दसकदेखि द्वन्द्वमा रहेको माओवादी शान्तिप्रकृयामा आउनु निकै खुसीको कुरा भएको भन्दै मोदीले प्रचण्डलाई शुभकामना दिएका थिए।

भेटमा प्रचण्डसहित नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी थिए।  

भेटपछि एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले आगामी दिनमा नयाँ आधारमा द्विपक्षीय सम्बन्ध विकसित हुनसक्ने संकेत गरेको प्रतिक्रिया दिएका छन्। सन् १९५० को सन्धि उच्च राजनीतिक तहबाट बदल्ने प्रतिबद्धता आएको भन्दै भट्टराईले मोदीको भ्रमणलाई समग्रमा सकारात्मक मान्नुपर्ने उनले फेसबुकमा लेखेका छन्।  

तराईकेन्द्रित दललाई भने मोदीले सामूहिकरुपमा भेटेका छन्। मोदीले क्षेत्रीयता भन्दा पनि समग्र देशको चिन्ता गर्न सुझाव दिएको संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी दिए।

भेटमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यावद, तमलोपाका नेता महन्थ ठाकुर लगायतका नेता सहभागी थिए। 

नेपाली कांग्रेसका नेतासँग भएको भेटमा भारतका प्रधानमन्त्री मोदीले लोकतान्त्रिक संविधान बन्नेमा आशावादी रहेको बताएका थिए। भेटमा नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का लगायतका नेता सहभागी थिए।

राष्ट्रपति मोदी भेट   

राष्ट्रपति डा. रामवरण यादवसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गरे।

राष्ट्रपतिले संविधानसभा व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री मोदीले दिएको मन्तव्यको प्रशंसा गर्दै भारतीय प्रधानमन्त्रीको भ्रमणबाट नेपाल–भारत सम्बन्धमा ठूलो योगदान पुग्ने आशा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell