काठमाडौँ : २७ दलसम्मिलित सङ्घीय गठबन्धनले आन्तरिक छलफल नगरी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको भन्दै मोर्चाभित्रका तीन साना दलले असहमति जनाएका छन्।
लोक दलका अध्यक्ष कौशलकुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष, गङ्गा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादवले आज विज्ञप्ति जारी गरी तयारी नभएका कारण आन्दोलनले लक्ष्य प्राप्त गर्न नसकेको जनाएका छन्।
संयुक्त मधेसी मोर्चाका नेताले गठबन्धनको अस्तित्वलाई स्वीकार गर्न नसकी नयाँ गठबन्धनको २६ बुँदे माग छाडेर मोर्चाकै नामबाट सरकारसँग आफ्नो ११ बुँदे माग उठाएका कारण आफूहरुले असहमति जनाएको विज्ञप्तिमा उल्लेख छ। उनीहरुले सो विषयमा सहमति नभएका कारण आफूहरु गठबन्धनबाट अलग भएको घोषणा पनि गरेका छन्।
गठबन्धनले आजै राजधानीकेन्द्रित आन्दोलन थप १० दिन चर्काउने निर्णय गरेको थियो।
कुन कुन दल आन्दोलनमा ?
सरकारका तर्फबाट वार्ता समितिका संयोजक परराष्ट्र मन्त्री तथा उपप्रधानमन्त्री कमल थापाले वैशाख २६ गते मधेस केन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ता गर्न पत्र लेखेको थियो। तर मोर्चाले वैशाख ३० गते त्यसको जवाफ लेख्दै आफूहरुले प्रस्तुत गरेको ११ बुँदे प्रस्तावबारे सरकारको स्पष्ट धारणा नआएको लगायतका कारण दर्शाउँदै वार्ताको वातावरण नरहेको जवाफ दिएको थियो।
के हो माग ?
यसअघि तराईमा आन्दोलनरत दलहरुले उठाउँदै आएका मागमा केही मागहरु थपेर संघीय गठबन्धनले सरकारसमक्ष २६ बुँदे माग अघि सारेको छ। तराईमा २ प्रदेश हुनुपर्ने, निर्वाचन क्षेत्र बिभाजन गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने, वैवाहिक नागरिकताको प्राप्ति संविधानमा नै प्रष्ट पार्नुपर्ने लगायतका मागहरु त्यसमा छन्। २६ बुँदे माग विस्तृत पढ्न क्लिक गर्नुस्
राससको सहयोगमा