PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

बौद्ध सम्मेलन चीन र नेपालले मिलेर गरेको धार्मिक ‘कू’ भन्दै भारतीय मिडियामा चिन्ता



बौद्ध सम्मेलन चीन र नेपालले मिलेर गरेको धार्मिक ‘कू’ भन्दै भारतीय मिडियामा चिन्ता

काठमाडौँ : राजधानीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा पनि चीनले भारतलाई पछाडि पारेको विश्लेषण भारतीय मिडियामा भएको छ। यसलाई ‘चाइनिज लुम्बिनी कू’ र ‘धार्मिक कू’को संज्ञासमेत द न्यु इन्डियन एक्सप्रेसमा यतिश यादवले दिएका छन्।
कसरी भयो कू? उनले समाचारमा राखेका केही बुँदा यस्ता छन्-

  • भारतले नेपालसँग मिलेर सम्मेलनको सह आयोजना गर्ने तयारी एक वर्षअघिदेखि भइरहेको थियो। गएको वर्ष डिसेम्बरमा संस्कृति मन्त्री आनन्दप्रसाद पोखरेलको भ्रमणका क्रममा लुम्बिनीमा कार्यक्रम गर्ने विषय लगभग टुङ्गो लागिसकेको अवस्था थियो।
  • मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश ल्याएका थिए जसमा भारत र नेपालले मिलेर सम्मेलन आयोजना गर्ने भनिएको थियो।
  • सम्मेलनको थिममा बोध गयाको महत्त्व स्थापित हुने गरी थप छलफल गर्ने निर्णय भएको थियो। बोधगयालाई भारतीय प्रम नरेन्द्र मोदी बौद्ध जगतको धार्मिक राजधानी बनाउन चाहन्छन्।
  • सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै लेखिएको छ- यसलाई भारत र नेपालबीच बिग्रँदो कुटनीतिक सम्बन्ध सुधार्न आइस ब्रेकरको रुपमा हेरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुषमा स्वराज, संस्कृति मन्त्री महेश शर्मालगायतलाई निमन्त्रणा गरी भारत नेपालको सम्बन्धमा नयाँ सुरुवात गर्ने योजना थियो। त्यतिबेला चीन दृश्यमा कतै नरहे पनि साइडलाइनमा बसेर हेरिरहेको थियो।
  • यही वर्षको मार्च महिनामा नेपालले यो सम्मेलनको थिम लुम्बिनी : फाउन्टेनहेड अफ बुद्धिजम राख्ने प्रस्ताव गर्‍यो। भारतीय पक्ष त्यसमा बोध गयाको थिम पनि राख्न चाहन्थ्यो।
  • भारतबाट एउटा प्रतिनिधि मण्डल नेपाल जाने कुरा थियो। तर प्रतिनिधि मण्डल पठाउन ढिला हुँदा चीनले मौका पायो। अप्रिलको पहिलो साता बल्ल एक सदस्यीय प्रतिनिधि मण्डल भारतले पठायो तर त्यतिबेलासम्म चीन ब्याक च्यानलबाट धेरै नै सक्रिय भइसकेको थियो।
  • नेपालका संस्कृति मन्त्रीले पूरै सम्मेलन प्रायोजनको अफर चीनलाई गरे।
  • आइबिसीले नेपालको भनाई चिनियाँ भनाईसँग मिलेको र थिम पनि चिनियाँ एजेन्डा भएको बतायो। सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको ठाउँ बोधगयाको महत्वलाई काउन्टर दिन लुम्बिनीलाई अघि सार्ने चीनको एजेन्डानै नेपालको एजेन्डा बन्यो।
  • चिनियाँ मन्त्री लुम्बिनीमा पुगेर प्रोपोगान्डा गरे।
  • यो एउटा सम्मेलनको मात्र विषय हैन। डरलाग्दो विषय के हो भने चीन नेपाल र अब पाकिस्तान पनि बुद्धको लिगेसीमा भारतलाई छेउमा पार्न योजनावद्ध रुपमा धार्मिक कू गर्दैछ।
  • पाकिस्तानले पनि गन्धरा ट्रेललाई पुनः सुरु गर्ने भन्दै चीन, श्रीलंका र भुटानका भिक्षु, बौद्ध धर्मावलम्बी र रिसर्चरहरुलाई निम्त्याएको थियो। गत महिना श्रीलंकाको बौद्ध प्रतिनिधिले पाकिस्तानको तक्षशीला भ्रमण गरेका थिए भने भुटानका भिक्षुहरुले स्वात उपत्यकाको साइदु सरिफ गुम्बा।
  • चीन, नेपाल र पाकिस्तान विरुद्ध सफ्ट पावर डिप्लोमेसीमा भारतको प्रतिक्रिया निराशाजनक छ। भारत सरकार अबेला हुनुअघि नै जाग्न जरुरी छ।
भारतीय मिडियामा यस्ता कुरा आइरहँदा प्रधानमन्त्री केपी ओलीले पनि बोधगयालाई छायाँमा पार्ने गरी सम्मेलनमा सम्बोधन गरेका छन्।
उनले बुद्धत्वको दर्शन बुद्धभित्रै भएर बुद्धत्व प्राप्ति भएको तर्क गरेका छन्। प्रधानमन्त्री ओलीले भनेका छन् - 'हामीले बुद्ध र बुद्धत्वलाई छुट्याउन सक्दैनौँ। बुद्धत्वको दर्शन बुद्ध भित्रै थियो र बुद्धत्व प्राप्ति (इन्लाइटमेन्ट) भयो र विकास भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell