PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​रत्नपार्कमा 'प्रधानमन्त्री'ले गरे 'पानीजहाज'को उद्घाटन



काठमाडौं : शुक्रबार दिउँसो ४ बज्दै थियो। रत्नपार्कमा भेला भएका डेढ दुई सय मानिसहरु प्रधानमन्त्रीको ब्यग्र प्रतीक्षा गरिरहेका थिए। मञ्चबाट उद्घोषकले 'केही बेरमात्र धैर्य गर्नुस् प्रधानमन्त्री आउँदै हुनुहुन्छ' भने पनि उनीहरु यताउता चल्मलाउन थालिसकेका थिए।

एक्कासी मञ्चको पछाडिबाट 'प्रधानमन्त्री' आइपुगे। हात उठाउँदै सबैलाई अभिवादन गरे। सबैले ताली बजाएर स्वागत गरे। कार्यक्रम थियो पानी जहाज उद्घाटनको। आसनग्रहणको औपचारिकतापछि प्रधानमन्त्री मन्चबाट ओर्लिए। पानी जहाज उद्घाटन गरे। हेर्दाहेर्दै पानीजहाजले गति लियो। उपस्थित सबैले ताली बजाए, हुटिङ गरे। 

यो कुनै काल्पनिक घटना होइन। तर त्यहाँ गरिएको कार्यक्रममा 'प्रधानमन्त्री' केपी ओली सहभागी थिएनन् र भएको थिएन साँच्चिकै पानीजहाजको उद्घाटन। यहाँ त प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको विरोधमा प्रदर्शन गरेको थियो।

त्यसै क्रममा देखाइएको एक सांकेतिक कार्यक्रम थियो। जसमा प्रधानमन्त्रीको भेषमा आएका थिए कलाकार ज्योति काफ्ले र पानीजहाजको रुपमा बजारमा पाइने खेलौना गाडीलाई डुंगाको आकार दिइएको थियो।

प्रधानमन्त्री ओलीले कालोबजारी, महंगी जस्ता तत्कालीन समस्याहरु रोक्न नसकेको तर ठूला सपना मात्र बाँडेको आरोप लगाउँदै नेविसंघले विरोध कार्यक्रम गरेको जनाएको छ।


नेविसंघको काठमाडौं जिल्ला समितिले गरेको कार्यक्रममा नेविसंघ अध्यक्ष तथा सांसद रञ्जित कर्णले प्रधामन्त्रीले कार्यान्वयन हुन नसकेको कुरा गरेर जनता झुक्याएकाले त्यसको विरोध गरेको बताए। कार्यक्रममा गायिका राधिका हमालले प्रधानमन्त्री ओलीको आलोचना गर्दै गीत सुनाएकी थिइन्।  

कार्यक्रममा बोल्ने नेविसंघका नेताहरुले प्रधानमन्त्रीले सपना बाँड्न छाडेर जनजीविकामा अहिले देखिएका समस्या समाधान गर्न सक्रिय हुनुपर्ने बताएका थिए। 












@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell