PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रहरीको गोलीबाट गुन्डा नाइके 'चरी'को मृत्यु



प्रहरीको गोलीबाट गुन्डा नाइके 'चरी'को मृत्यु
चरीलार्इ गाेली हानिएकाे स्थान

काठमाडौँ : काठमाडौँको भिमढुंगामा भएको गोली प्रहारबाट गुन्डा नाइके दिनेश अधिकारी 'चरी'को मृत्यु भएको छ। चरी धादिङ एमाले निर्वाचन क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्ष*समेत हुन्। हत्या प्रयासको अभियोग लागेर फरार भएका चरीलाई महानगरी प्रहरी अपराध महाशाखाले पछ्याउँदै गर्दा फायर खोलेपछि प्रहरीले गरेको जवाफी फायरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। साँझ साढे ५ बजेतिर गोली हानाहान भएको थियो।

हातमा पेस्तोल बोकेको अवस्थामा मृत्यु
११ वर्षअघिदेखि अपराध यात्रामा प्रवेश गरेका 'चरी'लाई मृत्युसम्म पनि पेस्तोलले पछ्याउन छाडेन। भिमढुंगामा रहेका पहिलोपोस्टका संवाददाताका अनुसार हातमा पेस्तोल समातेकै अवस्थामा उनको शव रहेको छ। नजिकै बा ४९ प ३११२ नम्बरको रातो पल्सर लडेको अवस्थामा छ।

भिमढुंगाबाट धादिङ निस्कने बाटोमा गाउँदेखि अलि टाढा जंगलको बाटोमा मुठभेड भएको थियो। प्रहरीका अनुसार मोटरसाइकलमा रहेका चरीले आफूलाई पछ्याउँदै गरेको प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा उनको मृत्यु भएको हो। मोटरसाइकलमा उनी एक्लै थिए।

यस्तो छ घटनास्थल
घटनास्थल भिमढुंगाको नर्सरी भन्ने ठाउँ हो। काठमाडौँको सीतापाइलाबाट धादिङ निस्कने बाटोमा पर्ने यो ठाउँ सीतापाइलाबाट ७ किलोमिटर टाढा छ।

एउटा मोड क्रस गरेर उकालो लागेको १०० मिटर पर देब्रे साइडको भित्तामा मोटरसाएकल ढलेको अवस्थामा रहेको छ। 

चरीको शव कपाल खौरिएको, टिसर्ट लगाएको अवस्थामा छ। 

प्रहरीका अनुसार यो बाटो अपराधीहरुले काठमाडौँ भित्रिन र बाहिरिन प्रयोग गर्ने हुँदा सादा पोशाकका प्रहरीको निगरानीमा थियो। एउटा मोटरसाइकलमा शंकास्पद व्यक्ति गएको देखेपछि पछ्याएर रोक्न खोज्दा पनि नरोकिएपछि र अझ गाडीमा गोली प्रहार भएपछि जवाफी फायर गरिएको प्रहरी दावी छ। 

अपराध महाशाखा प्रमुख एसएसपी पुस्कर कार्की भन्छन्, 'शंकास्पद व्यक्तिलाई पछ्याउँदा को व्यक्ति हुन् भन्ने प्रहरीलाई थाहा थिएन। गोली लागी मृत्यु भइसकेपछि हेर्दा निज हत्या प्रयासको अभियोगमा प्रहरीको फरार सूचीमा रहेका दिनेश अधिकारी रहेको देखियो।'

आफन्तको नाराबाजी
घटनास्थलमा यो समाचार तयार पार्दासम्म सयभन्दा बढी प्रहरी छन्। चरीका आफन्तहरुले आफूहरुलाई पनि घटनास्थलमा गएर हेर्न दिइनु पर्छ भन्दै नाराबाजी गरिरहेका छन्। प्रहरीले उनीहरुलाई बल प्रयोग गरी हटाइरहेको छ। 

चरीको शवलाई एम्बुलेन्समा राखी पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लग्ने तयारी गरेको छ। 

आक्रमण पहिले पनि
गत वर्ष पनि उनी आफ्नै समूहका असन्तुष्ट व्यक्तिहरुको गोली प्रहारबाट घाइते भएका थिए। 

एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपाल धादिङले धादिङबेसीमा गरेको पत्रकार सम्मान कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कने क्रममा उनी सवार गाडीमा गत वर्ष असारमा नैकापमा गोली हानिएको थियो। गाडी चलाउँदै गरेका उनीमाथि हानिएको गोली दाहिने पाखुरामा लागेपछि उनी बचेका थिए।

पहिले आफूसँगै रहेका राधे समूहले गोली हानेको भन्दै चरीले राधे भण्डारीलाई त्यसको केही समयपछि खुकुरी हानेका थिए। यसका कारण उनीमाथि हत्या प्रयासको अभियोग लागेको थियो। 

हत्या प्रयासको अभियोगमा पक्राउ गर्ने निश्चित भएपछि उनी फरार भएका थिए। लामो समय फरार रहेका उनी १५ दिनअघि मात्रै फर्किएर केही व्यापारीलाई धम्क्याएको भन्ने सूचना पाएपछि प्रहरी सक्रिय भएको अवस्थामा उनको गोली हानी हत्या भएको हो। 

काठमाडौँको नयाँ बजार क्षेत्रमा बेस बनाएर आपराधिक क्रियाकलापमा सक्रिए उनलाई खाग तस्करी अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। तर राजनीतिक दबाबका कारण उनी सफाइ पाउन सफल भएका थिए।

त्यस्तै नुवाकोटका व्यापारीहरुसँग असुलेको २१ लाख रुपैयाँकाे चेक र हतियारसहित थानकोटमा अर्को पटक प्रहरीले पक्राउ गरेको दावी गरेको थियो। तर उनको समर्थनमा पार्टी कार्यकर्ताहरुले धादिङ नौबिसे खण्ड चक्काजाम गरेका थिए। राजनीतिक दबाब बढेपछि उनीविरुद्ध सार्वजनिक अपराधको अभियोग मात्र लगाइएको थियो। 

'चरी' उपनाम किन ?

अधिकारी सानो र फूर्तिलो जिउ भएकोले साथीहरुले उनलाई 'चरी' उपनाम दिएका हुन्। उनको नयाँबजारमा रेस्टुरेन्ट, ढाबा आदिको कारोबार छ। डकैती र गोलीकाण्डमा संलग्न भएको अभियोगमा प्रहरीले उनलाई पटकपटक पक्राउ गरिसकेको थियो।
 
प्रहरीको रेकर्ड अनुसार उनी उपत्यकाको आपराधिक गतिविधिमा २०६० सालबाट लाग्न थालेका हुन्। २०६२ कात्तिक १५ गते प्रकाशराज सिलवाललाई हत्या प्रयास गरेको अभियोगमा मंसिरमा पक्राउ परेका थिए। यो उनको पहिलो पक्राउ थियो।
 
प्रहरीले सार्वजनिक अपराधको अभियोग लगाएको थियो। दरबारमार्गको चौकीमा हिरासतमा राखिएका उनी महिना दिन नपुग्दै मंसिर ७ गते फरार भएका थिए।
 
दोस्रो पटक उनी २०६२ चैतमा पक्राउ परे। लक्ष्मण बस्नेत, अरुण शर्मालगायतलाई क्षेत्रपाटीमा धारिलो हतियार प्रहार गरेर हत्या प्रयास गरेको अभियोग उनी माथि लागेको थियो। पुर्पक्षमा ११ महिना कैद रहेर उनी धरौटीमा छुटे।
 
तेस्रो पटक उनी आफैले आत्मसमर्पण गरेका थिए। अर्जुन श्रेष्ठ र निरञ्जन खनाललाई गोली हानेको अभियोगमा फरार रहेका उनले २०६५ असोजमा महानगरीय प्रहरी आयुक्त कार्यालयमा गएर आत्मसमर्पण गरेका थिए।
 
दुईवटा ज्यान मुद्दा र हातहतियार तथा खरखजाना मुद्दा समेतमा पुर्पक्षका लागि थुनामा परेका चरी आठ महिनामै कारागारमुक्त हुन सफल भए।
 
पछिल्लो पटक थानकोटमा हतियार र २५ लाख रुपैयाँको चेकसहित पक्राउ परेका उनी १० हजार धरौटीमा ९ दिनमै छुटे।
 
पहिले कांग्रेस पछि एमालेमा
चरी पहिले कांग्रेसनिकट थिए। तर संविधानसभा निर्वाचनपछि भने एमालेमा सक्रिय छन्। एमालेको भ्रातृ संगठन युथफोर्सका नेता भएका उनी एमालेको धादिङ  क्षेत्र नम्बर १ मा उपाध्यक्ष निर्वाचित भएका थिए।
 
एमालेभित्र खासगरी उनी हालका अध्यक्ष केपी ओली र युवासंघ अध्यक्ष महेश बस्नेतका नजिक मानिन्छन्। उनी हिरासतमा रहेको बेला एमाले धादिङका नेता राजेन्द्र पाण्डेले छाडिदिन एसपीलाई दबाब दिएको खबर सार्वजनिक भएको थियो।
 
ओलीले समेत सार्वजनिक कार्यक्रममा चरीमाथि गलत आरोप लगाएर प्रहरीले फँसाउन खोजेको बताएका थिए।

*पूर्व उपाध्यक्ष हुनुपर्नेमा उपाध्यक्ष भएकोले सच्याइएको।

ओलीले त्यतिबेला हिमालय टिभीलाई दिएको अन्तर्वार्ताको रेकर्ड-
चरीको जीवन यात्रा (फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell