PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

पद खोसिएका युवराज भन्छन्- केही फरक भएको छैन



पद खोसिएका युवराज भन्छन्- केही फरक भएको छैन

  • ऋषिकेश दाहाल/पहिलोपोस्ट-
काठमाडौँ : बौद्ध स्तुपाको पश्चिमतिरको सानो गल्ली। धारा टोल चोक जाने यो गल्लीमा मूल सडकदेखि नै मोटरसाइकल रोकिएका छन्। यसको पूर्वतिर अग्ला घर छन्। ती सबै घर बाटोतिर ढाड फर्काएर बसे झैँ लाग्छ। बौद्ध स्तुपातिर अग्लिँदै घरले उचाई लिँदा ओसिलो छ यो बाटो। यही बाटोबाट माया गार्डेन क्याफेमा छिर्दा म्यासेज आयो: आइ विल वी दिइयर विद् इन ट्वेन्टी मिनेट।

जिग्मे सिङ्वे पलवर विष्ट अर्थात् पूर्व युवराज। बाटोमा भेटिएका केही मानिसलाई नमस्ते फर्काउँदै उनी क्याफेतिर सोझिए। होटलका कर्मचारीहरु उनलाई देख्नासाथ अभिवादनमा जुटे।

यहाँबाट हेलिकप्टरमा जाने हो भने सोझै उड्दा २ सय ५ किलोमिटर दुरीमा छ उनी राजकुमार भएको राज दरबार - लोमान्थाङ। यतिखेर उनको दरबारमा चार जना काम गर्नेहरु खटिएका छन्। हिउँले छपक्कै छोपेको छ। सायद पन्छाउँदै होलान् हिउँका थुप्रा। कठ्याङ्ग्रिएर।

मुलुकमा गणतन्त्र आयो। शीरबाट ताजपोशहरु खोसिए। एकाएक राजाहरु रैति बने। काठमाडौंको नारायणहिटीमा धक्का लाग्यो। राजतन्त्रमाथि विषवमन कायमै थियो। एक दिन एकाएक काठमाडौंबाट उडेको हेलिकप्टर सोझियो ‘अपर’ मुस्ताङतिर। हेलिकप्टरमा थिए वामदेव गौतम। उनले सरकारी पत्र बोकेर गएका थिए जसमा भनिएको थियो – मुलुक अब गणतन्त्र भएको छ। तपाईँहरु अब राजा रहनु भएन। तपाईँका सुविधा काटियो।

मुस्ताङको उपल्लो भागमा कायम सांस्कृतिक राजदरबारका युवराज रहेका जिग्मे सिङ्वे पलवर बिष्ट, ५४ ले के अनुभूति गरे होलान त्यतिखेर?
हट लेमन विथ जिन्जर (अदुवासहितको तातो कागती पानी) घुट्क्याउँदै रहेका उनलाई कफीको गर्मी महसुस गर्दै सोधेँ, 'राजाबाट रैति बन्दा कस्तो लाग्यो ?'

छोटो मुस्कान छर्दै उत्तर दिन तयार भइहाले। भने, 'खासै फिल भएन।'

नर्थफेसको कालो ज्याकेट लगाएका उनी मुस्ताङी ग्याल्छुङ अर्थात युवराजको रुपमा थिएनन्, बौद्धको भेटमा।

यी त रहे युवराज। केन्द्रदेखि रजौटाका रुपमा रहेका सांस्कृतिक राजतन्त्र पनि उन्मुलनमा परेको पीर त यिनका बुबा अर्थात् राजालाई पक्कै परेको हुनुपर्छ।

यसै वर्ष ८४ पुगेका मुस्ताङका पूर्वराजालाई त पक्कै चित्त दुखेको होला नि ?

'उहाँको उमेर पनि गयो। ‘मेमोरी’ पनि कमजोर भइरहेछ त्यसैले हुनुपर्छ खासै फिल गर्नुभएको छैन। तर मासिक ५ हजार रुपैयाँ पाउनुहुन्न भन्नका लागि हेलिकप्टरमा वामदेव गौतम आउनुभयो,' उनले सुनाए, 'यहाँबाट अपर मुस्ताङ हेलिकप्टरमा जान र आउन ५ हजार डलर लाग्छ।'
राजाले पाउने मासिक ५ हजार रुपैयाँ भत्ता रोक लगाउन गणतन्त्रका महारथीले करिब ५ लाख रुपैयाँमा हेलिकप्टरको प्रयोग गरेकोमा शालीन व्यङ्ग्य थियो उनको।   
 

गणतन्त्रले राजतन्त्र गुम्यो, जनताले छाडेनन्

उनी युवराज रहेनन्। बुबा राजा छैनन्। सिंहदरबारले राजमार्गलाई समेत लोकमार्ग बनाएर 'राज' मासेको समय थियो। सरकारले राजा नरहेको पत्र थमाए पनि बिष्टको जीवन शैलीमा कुनै परिवर्तन छैन। 'हामी त नाममात्रका राजा र राजकुमार न थियौं। हामीलाई त्यो पदबाट हटाइयो,' उनले सुनाए, 'यसले हामीलाई कुनै परिवर्तन गराएन। त्यहाँका मानिसले गर्ने व्यवहार पहिलेजस्तो थियो अहिले पनि उस्तै छ।'
                       
प्रशासन यन्त्र फेरिएको छ। मानिसहरु जग्गा किनबेच हुँदा दरबारसँग जोडिन्थे। दरबारमा नै किन्ने पक्ष र बिक्रेताबीच कानुनी प्रकृया पूरा हुन्थ्यो। मालपोत कार्यालय हुन्थेन। एक किसिमको लालपूर्जा दरबारबाटै जारी हुन्थ्यो। 'अहिले पनि लालपूर्जाजस्तै मानिने परम्परागत कागज र दरबारको छापकै भरमा मानिसहरुसँग जमिन छ,' उनले सुनाए।

जग्गा जमिन जोड्न अरु कुनै आधार थिएन। 'लालपूर्जा त पछिमात्रै चल्न थालेको हो। किनबेच बुबाको रोहबरमा हुन्थ्यो,' उनले भने, 'परम्परागत थियो पूर्जा।'

जग्गा किन्दा केही थिएन। लालपूर्जाको चलन नै थिएन। 'किनबेच बुबाको रोहबरमा हुन्थ्यो,' उनले सुनाए, 'अझै पनि धेरै मानिसले लालपुर्जा लिएका छैनन्।'

खेतीयोग्य जमिन मुस्किलैले मिल्छ मुस्ताङमा। किनबेच नहुनुको मूल कारण यही हो।
 

ग्लोबलाइजेसन र ग्लोबल वार्मिङ

विश्वव्यापिकरणको एउटा आधार पर्यटन पनि हो। त्यसमै टिकेको छ मुस्ताङ। अनि मुस्ताङका ग्याल्छुङ पर्यटन व्यवसायसँग पनि जोडिएका छन्। ट्रेकिङ व्यवसाय छ उनको। अब अपर मुस्ताङमै पक्की होटल बनाउने तयारीमा छन्। कस्तो होला त युवराजको होटल ?

लोकल हिसाबले बनाउने हो भने अहिले पनि घर बनाउन त्यति महँगो पर्दैन रे ! तर, बढ्दो तापमानले यो भूगोल पूरै प्रभावित छ। 'ग्लोबल वार्मिकङले गर्दा नै हुनुपर्छ,' उनले सुनाए, 'परम्परागत घर चिरा पर्ने र पानी चुहिने समस्या बढेको छ पानी पर्ने क्रममा पनि परिवर्तन आएको छ।'

उनको बन्दै गरेको गेस्ट हाउस पिलर र ढलाने छ। १८ वटा रुम रहने छ यसमा। यहाँ घर बनाउनभन्दा पनि जोगाउन कठिन भएकाले उनले कंक्रिट घर बनाएका हुन्। 'चिसोमा माइनस २२ सम्म पुग्छ,' उनले सुनाए, 'पुरानै शैलीमा बनाउने हो भने हिउँ फाल्न नसक्दा चुहिने जोखिम उत्तिकै हुन्छ।' नयाँ बनाउँदा परम्परामाथि धावा बोलिन्छ।

त्यसो त सडक सञ्जालले छोएपछि अर्ग्यानिक पर्यटनलाई चोट परेको छ। २० दिन लगाएर अन्नपूर्ण फन्को मार्न पुगेकाहरु मोटरबाटोमा उडेको छारो छल्दै आत्तिरहेका भेटिन्छन् आजकल। 'जीवन पहिलेभन्दा सहज भएको छ। ११/१२ वर्षको बच्चाले पनि भारी खेप्नुपर्थ्यो,' उनले विगत सम्झिए, 'अहिले धेरैले गाडी किनेका छन्। आउने सालदेखि टेलिकमको मोबाइल पनि चल्छ, टावर बन्दैछ।' सदरमुकाम जोमसोमदेखि उनको दरबारसम्म पुग्न कच्चीबाटोमा धुलो उडाउँदै ७ घन्टाको दुरी तय गर्नुपर्छ।

पूर्व र पश्चिमको संगम

ग्याल्छुङका तीन सन्तान छन्। दुई पश्चिमा र एक पूर्वीय। अन्यथा अर्थ नलाग्दै प्रस्ट्याउँ: दुई सन्तान अमेरिकामा अध्ययन गर्दैछन् भने एक भारतको देहरादुनमा।

पूर्व र पश्चिममा पढ्नेका विषयमा पनि यी दुईबीचको दुरीजत्तिकै भिन्नता छ। जेठो छोरो व्यवस्थापनमा स्नातकोत्तर सकाउँदैछन्- अमेरिकामा। छोरी साइन्स पढिरहेकी छिन्।

ठीक विपरित कान्छो छोरो देहरादूनमा भिक्षु। 'लामाहरुले तपाईँको दुईवटा छोरा छन् एउटा हामीलाई दिनुस् भने,' उनले सुनाए, 'उसमा बच्चैदेखि अध्यात्ममा रुची थियो। मैले पठाइदिएँ।' भिक्षु बनाइएका उनका कान्छो छोरा अहिले १३ वर्षका पुगे। ८ वर्षको उमेरदेखि उनी परम्परागत शिक्षा लिइरहेका छन्।

अनि अहिलेको युगमा पनि कुनै छोरालाई अत्याधुनिक शिक्षा र अर्कोलाई परम्परावादी ? उनको अनुहारमा पनि यसको झल्को देखियो। एक किसिमको विभेद गरेका छन् उनले। 'रहर त उच्च शिक्षा नै पढाउने भन्ने थियो उतै,' उनले सुनाए, 'तर कान्छोले पनि बौद्ध दर्शनको अध्ययन गर्नेछ उच्च शिक्षाको क्रममा। त्यो पनि कमजोर शिक्षा हुन्न होला?'

कुनै पनि विषयको अध्ययन कहिल्यै कमजोर हुँदैन। चाहे पश्चिमी होस् या पूर्वीय नै। प्रश्न यतिमात्र हो लिएको शिक्षालाई व्यवहारमा कसरी उतारिन्छ। कान्छो छोराले बौद्ध दर्शनबाटै आफ्नो परम्परा जोगाउँदै दिगो जीवनयापन गर्ला भन्ने उनको अपेक्षा छ। 'अबको दुई वर्षपछि उसले पनि अंग्रेजी भाषा पढ्न थाल्छ,' उनले सुनाए।
 

'अब लैजाने छैन, ल्याउनेमात्र हो'

उपल्लो मुस्ताङमा यताबाटमात्र होइन तिब्बततिरबाट पनि गाडी आउँछन्। चिनिया भूभागतिर सुविधा तर यता पूरानै जीवन। 'चिनियाहरु लोमान्थाङसम्मै गाडीमा आउँछन्,' उनले भने, 'नेपालीहरु बोर्डरतिर १० मिनेटमात्र अलमलिए भने गोली तेर्स्याउँदै आइहाल्छन्।'

उनको अनुभवमा चिनियाले सुरक्षा कडा पारेका छन्। सीमामा काँडे तारबार गरिएको छ। सानो ढोका छ उता र यतालाई जोड्ने। 'पहिले बुबाले जे भने पनि मान्थे उनीहरु (तिब्बती),' उनले भने, 'बुबाकै समयदेखि सीमा वर्षको दुईपटक खुल्ने परम्परा अहिले पनि छ।'

हिउँद र वर्षा गरी दुईपटक सीमा वारपार हुन पाउँछन् मानिसहरु। यहीँ कारोबार पनि हुने गर्छ। १० देखि १५ दिन सम्म खुल्ने सीमामा वस्तु विनिमय हुन्थे। तिब्बतको यो भेग भेडा/च्याङ्ग्रा र चौरी गोठहरु भएको ठाउँ हो। त्यसैले त्यताबाट यिनै वस्तुभाउ ल्याइन्थे। सँगै नुन पनि। 'उन, नुन, घीउ, भेडा, याक उनीहरुले ल्याउँथे,' उनले सुनाए, 'हामी अन्न दिएर पठाउँथ्यौं। पैसा चल्दैन थियो यस्तै साट्नेमात्र चलन थियो।'

हिमाल पारीको जिल्ला केन्द्रसँग नजोडिएकाले विनिमयका लागि उतै निर्भर थियो। अनि अहिले सीमा खुल्दा के हुन्छ त कारोबार ?
एक किसिमले बोर्डर बन्द नै छ। तर खुलेको समयमा कारोबारको रुप फेरिएको छ। 'अहिले नपाइने कुरा केही हुन्न,' उनले फेरिएको तिब्बत नेपाल ब्यापारबारे सुनाए, 'चाहेको जे पनि पाइन्छ। लुगाफाटादेखि फर्निचरसम्म।'

अनि खाद्यान्न नि ? त्यो पनि उतैबाट पर्याप्त आउन थालेको उनले सुनाए। अनि यताबाट के जान्छ त ? उनी नअल्मलिकन सुरु भए, 'हामीले दिने केही छैन। पैसा लिएर जानेमात्र हो।'

नेपाल र तिब्बत भूगोलका हिसाबले दुवै उस्तै हुन्। तर यी दुई भूगोलको रुप अहिले हुनेखाने र भएखानेको हालतमा पुगेको छ। उताको भौतिक संरचना धेरै बलियो बनिसक्यो। भेडा गोठ हुने ठाउँ नै भए पनि सहर झै झकिझकाउ बनिसक्यो। सुविधाहरु सबै उपलव्ध छन्। 'त्यहाँको सरकारले हिउँ पर्छ भनेर सबै परिवारकहाँ दाउरा र रासन पानी पुर्‍याइसकेको हुन्छ यतिखेर,' उनले सुनाए।

अन्त्यमा,
सन्दर्भ आखिर संविधान निर्माणको। गणतान्त्रिक नेपालका रैति राजकुमारलाई के लाग्छ यहाँको राजनीति? 'मलाई बोर लाग्छ, नेताहरु सहमतिमा कहिल्यै नआउने,' उनले आम नेपालीकोजस्तै 'फ्रस्ट्रेसन' अभिव्यक्त गरे। एउटा औपचारिक प्रश्न सोध्न मन लाग्यो र सोधेँ: केही भन्न मन भए भन्नुस्।

'नेताको दिमाग चाँडोभन्दा चाँडो सुध्रियोस्,' वार्ता टुंग्याउँदै उनले भने, 'र संविधान बनोस् भन्ने 'विस' छ।'

उनको 'विस' पूरा होला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell