PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

दीपक बोहरा र विक्रम पान्डेले मन्त्रीको शपथ लिँदै, भोलि नहुने भयो राप्रपा एकीकरण



दीपक बोहरा र विक्रम पान्डेले मन्त्रीको शपथ लिँदै, भोलि नहुने भयो राप्रपा एकीकरण

काठमाडौँ : कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाबीच एकीकरण तत्काल नहुने भएको छ। यसअघि दुवै पार्टीले साउन २५ गते मंगलबार पार्टी एकीकरणको घोषणा गर्दै नीति र आधारपत्रसमेत तयार पारिसकेको थियो।

तर सोमबार साँझ राप्रपा नेपालका अध्यक्ष कमल थापाले पशुपतिशमशेर राणाले एकपक्षीय रुपमा एकीकरण स्थगित गर्ने निर्णय गरेको ट्विट गरेका छन्।  

साँझ राप्रपा नेता तथा पूर्व मन्त्री सुनीलबहादुर थापाको घरमा पार्टी एकीकरणकै विषयमा छलफल भइरहेको छ। थापा निकट स्रोतले पहिलोपोस्टलाई भन्यो, 'तयारी नपुगेको भन्दै केही दिनका लागि एकीकरण प्रक्रिया स्थगित गरिएको हो, रद्द भएको हैन।'

दुई पार्टीबीच मिति घोषणा भइसकेको एकता प्रक्रिया स्थगन भएसँगै वर्तमान मन्त्रिपरिषद्मा राप्रपाका दुई मन्त्री सहभागी हुने तयारी भएको छ।दीपक बोहोराले आफू र विक्रम पान्डेले आजै मन्त्री पदको शपथ ग्रहण गर्न लागेको जानकारी पहिलोपोस्टलाई दिए। 

राप्रपा नेपालले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको विपक्षमा मतदान गरेको थियो भने राप्रपाले पक्षमा। पार्टी एकीकरण भइसकेपछि सरकारमा जाने/नजाने विषयमा अन्यौल हुने अवस्था भएकोले एकीकरणको पूर्वसन्ध्यामा एकाएक राप्रपा सरकारमा सहभागी भएको हो। 

शपथका लागि राष्ट्रपति भवनमा सम्पूर्ण तयारी भइसकेको छ। आजै महान्यायाधिवक्ता रमन श्रेष्ठको पनि शितल निवासमा शपथ ग्रहण थियो। 

बोहोरा राप्रपाका संसदीय दलका नेता हुन्। ओली सरकारमा उनी श्रम तथा रोजगार र वाणिज्य मन्त्री थिए।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell