PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​कोइरालाको योजनामा दिनेशको हत्या भयो : खुस्बु



​कोइरालाको योजनामा दिनेशको हत्या भयो : खुस्बु

काठमाडौँ : प्रहरीसितको मुठभेडमा मारिएको भनिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’सितको सम्बन्धका कारण चर्चामा रहने मोडल खुस्बु ओलीले प्रहरी र अर्पण कोइरालाको योजनामा हत्या गरिएको दावी गरेकी छिन्।
 
घटनास्थल भिमढुङ्गाबाट शव शिक्षण अस्पताल ल्याउने क्रममा अस्पताल परिसरमा रहेकी ओलीले सञ्चारकर्मीहरुसित कुरा गर्दै यस्तो आरोप लगाएकी हुन्।
 
पूर्व मिस टिन ओली र कोइरालाबीच पहिले राम्रो र नजिकको सम्बन्ध थियो। ‘चरी’सित ओलीको भेट कोइरालाले नै गराइदिएका थिए। पछि ओली र ‘चरी’बीच निकटता बढ्दै गयो र कोइरालासित सम्बन्ध तिक्त हुन थाल्यो।
 
‘ऊ (अर्पण) डिएसपी प्रजितलाई लिएर हाम्रो अफिसमा आएर रातमा मिसबिहेब (दुर्व्यबहार) गरेको थियो। अस्पताल परिसरमा ओलीले पुराना कुरा सम्झँदै भनिन्, ‘१५-२० जना प्रहरी पनि लिएर आएको थियो। पुलिस आउनु त ठिकै हो तर अर्पण कोइरालाले पुलिसलाई लिड गरेर लिएर आउनु, हाम्रो अफिस खोज्नु,सर्च गर्नु त गलत हो। त्यति बेलादेखिको प्लानिङ हो यो।‘
 
किन यस्तो भयो त? ओली भन्छिन्, ‘सबैभन्दा ठूलो कुरा भनेको दिनेशसँगको मेरो रिलेसनसिप, मेरो पारिवारिक रिलेसनसिपले गर्दा डाहामा हो।‘
 
कोइराला र ओली एकताका ‘लिभ-इन रिलेसनसिप’मा थिए। उनीहरुबीच विवाह गर्ने तयारीसमेत भइसकेको थियो।
 
उनी भन्छिन्, 'अर्पणले त त्यसलाई छाड् नत्र म त्यसलाई मारिदिन्छु भनेको थियो। दिनेशलाई मारिदिन्छु भन्दै उसले केही दिन अघि पठाएको म्यासेज मसँग छ।'
 
‘इन्स्पेक्टर प्रजित र अर्पण कोइरालाको मेजर प्लानिङ हो। किनभने पहिल्यैदेखि जतिपनि खर्च गर्छु, पचास लाख, करोड खर्च गर्छु, जसरी हुन्छ दिनेश अधिकारीलाई मार्छु भन्थ्यो। उनीहरुको इन्टेन्सन त्यतिमात्र थियो। यो घटना डिएसपी सोमेन्द्र राठौर लास्ट टाइम ललितपुरमा हुँदाखेरि उहाँकै अगाडि भएको हो। मैले त्यतिबेलै उजुरी दिएको थिएँ। यस्तो मान्छेलाई के थुन्नु भनेर घरमा सल्लाह भयो। किन चलाउनु भनेर कागज गरेर छाडिदिएका थियौँ’’, ओलीले भनिन्।
 
उनी भन्छिन्, ‘त्यतिखेरै मैले अपर्णलाई भनेको थिएँ। अब दिनेशलाई केही भयो भने तपाईको जिम्मा।'
 
ओलीले कोइराला भारतमा छु भन्दै नेपालमै लुकिराखेको र उनले नै पुलिस लगाएर मार्न लगाएको आरोप लगाइन्।  ‘भिडन्त सिडन्त केही भएको हैन। पुलिसले नै योजना बनाएर मारेको हो’, उनका अनुसार यसमा अर्पण कोइराला र प्रहरी इन्स्पेक्टर कुमुद ढुंगेलको हात छ।

कुमुद ढुंगेलले पनि आफूलाई मन पराएको तर आफूले रिजेक्ट गरेकोले इबी साँधेको उनको आरोप थियो। दिनेश अधिकारीसँग बिहे हुने भनेर कुरा छिनेको दिनदेखि कुमुद र अर्पण कोइरालाले प्रोब्लम सुरु गरेको उनको भनाई थियो।
 
सम्बन्ध राम्रो हुँदाका बखत कोइरालाकै गाडी ओलीले चढ्दै आएकी थिइन्। चरीसँगको सम्बन्ध बाक्लिएपछि उनले गाडी फिर्ता लिन सकेका थिएनन्।
 
राधे समूहसितको द्वन्द्वका क्रममा चरीले राधेलाई खुकुरी हानेपछि हत्या प्रयासको मुद्दामा प्रहरीले खोजेपछि उनी फरार भएका थिए। त्यसपछि कोइरालाले आफ्नो गाडी फिर्ता लिन एसएसपी रमेश खरेललाई गुहारेका थिए।
 
प्रहरीले पनि चन्डोलस्थित ओलीको घरबाट गाडी हनुमानढोका पुर्‍याएको थियो। तर ओलीले गाडी कोइरालाको नभई बैँकबाट लिलाम हुँदा किनेको कागजात तथा बिलबुक प्रमाण देखाएपछि कोइरालाले गाडीसमेत पाएका थिएनन्।
 
सम्बन्ध राम्रो हुँदाताकाको आर्थिक विषयमा पनि छुट्टिएपछि कोइराला र ओलीबीच कुरा नमिलेको बताइन्छ।






comments powered by Disqus



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell