PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​सुनकोसीका अन्धविश्वासी किस्सा



​सुनकोसीका अन्धविश्वासी किस्सा
पहिरोको असर। फोटोः कञ्चन अधिकारी

पहिलोपोस्ट-
सिन्धुपाल्चोक : माङ्खा गाविसको जुरेमा गएको पहिरोका प्राविधिक कारणहरुलाई छोडेर स्थानीयका किस्सा सुन्ने हो भने अनौठो लाग्न सक्छ। स्थानीयहरु यहाँको भौगोलिक बनौट, पहिलैदेखि चर्किँदै गएको जमिनका बारेमा एकै शब्द बोल्दैनन्। स्थानीयले भन्ने गरेका किस्साले हाम्रो समाजको अन्धविश्वास झल्काउँछ।

किस्सा १: नागपञ्चमीका दिन नाग मारिएको थियो

त्यति ठूलो पहिरो जानुको मुल कारण स्थानीयले नागपञ्चमीको दिन नाग मारेकोले हो भन्ने किस्सा घटनास्थल वरपर हरेकले भन्छन्। नागपञ्चमीका दिन स्थानीय एकजनाको घरमा नाग पसेको थियो। उनका साना छोरालाई नागले टोक्नसक्ने भन्दै उनले कोदालोले हिर्काएर नाग मारेका थिए। नागपञ्चमी कै भोलिपल्ट अर्थात् २ बजे राति विशाल पहिरो गयो।

नाग मार्नेको पारिवार मात्र हैन पहिरोले पूरै गाउँ नै सखाप पार्‍यो। ड्यामसाइट र पहिरो खसेको स्थानको बीचमा कोदारी राजमार्ग मै घर भएका इश्वरीलाल श्रेष्ठ भन्छन्, ‘ नागपञ्चमीका दिन दुईवटा नाग मारेकै हो। तामाङ बस्तीमा मारेको हो तर त्यसकै कारण पहिरो गएको हो कि होइन, थाहा छैन,’ उनले भने, ‘विगत पाँच बर्षदेखि सानो सानो गर्दै पहिरो गइरहेको थियो।‘

किस्सा २: एक वर्षअघि अजिंगर मारिएको थियो

पहिरोको कारणको अर्को किस्सा अजिंगरमा गएर जोडिन्छ। चौताराबाट उद्दारका लागि शनिबारै घटनास्थल पुगेका र उद्दारमा खटिइरहेका एक सैनिकले भने, ‘स्थानीयहरुले बताएअनुसार पोहोर साल यही गाउँमा एउटा ठूलो अजिंगर मारेर १० केजी त बोसो निकालिएको थियो रे।‘ यो किस्सालाई माथ दिँदै स्थानीयहरुले अझ अगाडि बढेर भन्छन्, ‘कोसी थुनिएर ताल बनेको ठाउँमा पहेँलो रंगको एउटा बच्चाजस्तोको टाउको देखिन्छ। मान्छेको शव भनेर सेना डुंगा लिएर पुग्छ, तर त्यो गायब हुन्छ।‘

उनीहरु मारिएको अजिंगर भाले भएको र उसको पोथी अजिंगर अझै जिवित भएको विश्वास गर्छन्। त्यही बाँचेको पोथी अजिंगरले आफ्ना बच्चा खोजिरहेको बताउँछन्। तर उद्दार कार्यमा खटिएको सेनाले यसलाई पुष्टि गर्दैन। ‘एकपटक मान्छेको शवजस्तो केही देखिएको हो, तर त्यो काठ नि हुनसक्छ, जुन पानीमा डुब्दै तैरिँदै गर्छ,’ उद्दारमा खटिएका एक सैनिकले बताए।

किस्सा ३: ब्याउने गाई काटिएको थियो

पहिरो गएको माथिल्लो बस्ती तामाङ बस्ती हो। तौथली ड्यामसाइटका बासिन्दाका अनुसार माओवादी जनयुद्दताका यो तामाङबस्ती माओवादीको ‘सेल्टर एरिया’ थियो। त्यतिबेलादेखि नै तामाङबस्तीमा गाई काटेर खाने क्रम बढेको थियो। घटनाको ६ महिना अघि तामाङ बस्तीमा ब्याउने गाई काटेको कारण नै पहिरोको कारण हो भन्छन् स्थानीय। पहिरोमा घर गुमाएका तर आफु भागेर बाँचेका दिनेश नेपालीले भने, ‘सबैजना गाई काटेकोले र नाग मारेकोले भगवानले सजाय दिएको भन्छन्, खै के पत्याउने! के नपत्याउने!’

किस्सा ४: वरिपरीका घर बगे तर मन्दिर बगेन

अन्धविश्वासका किस्सा अझै सकिँदैनन्। स्थानीयहरु ड्यामसाइट पुग्ने जोसुकैलाई किस्सा सुनाउन व्यस्त देखिन्छन्। पहिरोले गाउँ नै सखाप पार्दा स्थानीयबासीहरु कुन घर किन बगेन भनेर किस्सा हालिरहेका छन्। ड्याम साइटको किराना पसलमा बसेर केही अँधबैंसे युवकहरु विश्लेषण गर्दै थिए, ‘वल्लो घर नि बग्यो, पल्लो घर नि बग्यो तर दुई घरको बीचको सानो मन्दिरको एउटा बत्ती सम्म फुटेको छैन। दैवी शक्ति हुँदैन भनेर कसरी मान्नू।‘ पहिरो खस्दा गहिरो भागतिर बग्ने भएपनि एउटै स्तरमा रहेका अरु घर भत्केर मन्दिरमा कुनै क्षति नपुगेकोमा उनीहरु चकित परेका देखिन्थे।

किस्सा ५: माताजी बच्नु भो

स्थानीयबासीहरु पहिरोमा कस्को घर भत्क्यो र कस्को बच्यो भन्ने हिसाब गर्दै उसले पहिला के भनेको थियोसम्म जोडेर किस्सा हाल्छन्। कोही एउटी माताले पहिले नै नागको पूजा गर्नु भनेकी तर गाउँलेले नमानेको किस्सा हाल्छन्। यो किस्साले भन्छ, ‘माताजीले सबै गाउँलेलाई नाग रिसाएको बताएकी थिइन्। गाउँलेले मानेनन्। पछि माताले आफ्नो घरको एउटा कुनामा नाग पूजा गर्ने ठाउँ बनाइन् र पूजा गरिन्। उनको घर त बचेन तर उनी घाइते भएर बचिन्।‘

किस्सा ६: भगवान काशी गए अझ ठूलो पहिरो जान्छ

चौताराबाट पहिरो हेर्न पुगेका एकजनाले उद्दारका लागि खटिएका सैनिकसँग हालेको किस्सा झन् चाखलाग्दो छ। ‘यो ठाउँ नागको बस्ती हो। अजिंगर पनि त्यही नागको एक अंश हो।‘ उनले यति मात्र भनेनन्, थपे, ‘पशुपतिका मूल भट्टले बकिसके, यो ठाउँका मान्छेले नागलाई गरेको व्यवहारले नाग रिसाएका छन्। यी नाग काशी गए भने यो ठाउँमा अझै पहिरो जान्छ र केही पनि बाँकी रहँदैन।‘ सैनिकले ‘ए, हो !’ भनेर प्रतिक्रिया जनाउँदै गर्दा उनले थपे, ‘थाहा पाउनु भएन? भट्ट हेलिकोप्टरमा यो ठाउँ हेरेर गइसके। तपाइँहरुकै हेलिकोप्टर त चढेर आए होलान् नि !’ उनको कुरा सुनेर सैनिकले मुन्टो मात्र हल्लाए र भने, ‘खै, म हिजोदेखि मास्तिर गएकै छैन।‘
 
पहिरोबाट विस्थापित भएकाहरुलाई लामासाँघुमा राखिएको छ। परिवार गुमाएकाहरु शव फेला  परेका र नपरेकाहरु काजकिरीया गर्दैछन्। पहिरो गएको स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उत्खनन्‌ गरिरहेका छन्। यता किस्सा हाल्नेहरु चाहिँ तौथली ड्यामसाइटमा बसेर त्यहाँ पुग्ने नयाँ मानिसहरूलाई किस्सा सुनाइरहेका छन्। किस्सा हाल्नेमा स्थानीयबासी त अग्रपंक्तिमा छँदैछन्, सुरक्षाकर्मी पनि यसबाट अछुतो छैनन्।

सिन्धुपाल्चोकको जुरेमा शनिबार गएको पहिरोमा १ सय ५६ जनाले ज्यान गुमाए। मृत्यु हुनेमा मांखाका ड्याम, कागुने र इटनी बस्तीका १ सय २५, टेकानपुरका दाबी गाउँका २३ र राम्चेका ८ जना रहेको प्रहरी प्रमुख डिएसपी भरतबहादुर बोहराले बताएका छन्।

त्यस्तै पहिरोमा राम्चेका २ सय ७, मांखाका १ सय ९४, टेकानपुरका ४२ र धुस्कुन गाविसका ३४ गरी ४ सय ३६ घरपरिवार विस्थापित भएका छन्। शनिबार बिहान डेढ किलोमिटरमाथिबाट आएको मांखा कान्ले पहिरोले सुनकोसी नदी थुनिएको थियो।
comments powered by Disqus



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell