PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ग्यास बेच्ने अर्को सरकारी योजना पनि फेल, उपभोक्ता हिस्स



ग्यास बेच्ने अर्को सरकारी योजना पनि फेल, उपभोक्ता हिस्स

  • पहिलोपोस्ट-
काठमाडौं : चरम ग्यास अभावले मच्चिएको हाहाकार हटाउन सरकारले ल्याएको अर्को योजना पनि फेल खाएपछि उपभोक्ता हिस्स पर्न बाध्य भएका छन्। 

ग्यास अभाव हटाउन सरकारले पहिलो योजना ल्याएको थियो नेसनल ट्रेडिङको टेकुस्थित बिक्री केन्द्रमा ग्यास बाँड्ने। ४० लाख बासिन्दा रहेको काठमाडौँमा एउटा केन्द्रबाट बिक्री गर्ने योजना दुई दिनमै फेल खायो। त्यसपछि सरकारले मंगलबार अर्को निर्णय गर्‍यो, लोडसेडिङ जस्तै उपत्यकामा समूह बनाएर ग्यास बाँड्ने।

आयल निगमले सूचना नै निकालेर यो दिन यो स्थानमा ग्यास बाँडिन्छ भन्ने जानकारी दियो।  सोही सूचना पत्याएर उपत्यकाका विभिन्न स्थानमा उपभोक्ता बिहानै लाइनमा बसे, तर बिक्रेताले ग्यास नआएको भन्दै फिर्ता पठाइदिएपछि रित्तै फर्किए।

‘ग्यास उद्योगले पसललाई अहिलेसम्म ग्यासनै पुर्‍याएका छैनन । ग्यास नआएपछि बिक्रेताले कसरी बिक्री गर्ने ?’ ग्यास बिक्रेता महासंघ नेपालका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्यालले भने। कुनै तयारी बिना ग्यास बिक्री गर्ने योजना गर्दा सरकार असफल भएको उनको आरोप थियो।

बिक्रेतासम्म ग्यास नपुर्‍याएको भन्दै महासंघले वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई जानकारी गराइसकेका छन्।

सरकारले बिहीबार नयाँ बानेश्वर, कोटेश्वर, बत्तीसपुतली, शंखमूल, माइतिघर, बुद्धनगर, बबरमहलबाट ग्यास बिक्री गर्ने जनाएको थियो। यो क्षेत्रमा रहेका केही बिक्रेताले मात्रै ग्यास बिक्री गरेको भेटिएको थियो।

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ग्यास बिक्री गर्ने भनिएका स्थानहरुमा संयुक्त अनुगमन थाल्न लागिएको बताए।

'हामी ग्यास बिक्री भएको स्थानमा अनुगमनमा जाँदैछौ । केही स्थानमा बिक्री भइरहेको पाइएको छ,’ उनले भने, ‘उपभोक्ताले सजिलै ग्यास पाउने वातावरण बनाउनेछौ ।’

ग्यास बिक्रेतासम्म नपुगेको बारेमा नेपाल एलपी ग्यास उद्योग संघले भने अस्वीकार गरेको छ। ‘चार वटा कम्पनीको मात्रै ग्यास नभएको हो । यो बाहेक अरु कम्पनीको ग्यास तोकिएको स्थानमा बिक्री भइरहेको छ,’ संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘उपभोक्तालाई सहज ग्यास दिलाउन भएको संयन्त्रलाई सहयोग गरिरहेका छौ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell