PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जिरीमा ढिस्को खस्दा चारजनाको मृत्यु, ८ घाइते



जिरीमा ढिस्को खस्दा चारजनाको मृत्यु, ८ घाइते

काठमाडौं : दोलखाको पर्यटकीय नगर जिरी गाविसमा अविरल वर्षासँगै खसेको ढिस्कोले पुरिएर एकै परिवारका दुईजना सहित चारको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

मध्यरात १२ बजेतिर सडक भन्दा करिव २५ मिटर माथिबाट खसेको ढिस्कोले जिरी गाविस ७ स्थित बसपार्क छेउमा रहेका पाँचवटा टहरा पुरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी प्रह्‍लाद पोखरेलले जानकारी दिए। 'यो ससाना छाप्रोले बनेको बस्ती हो। ढिस्कोसँगै खसेका दुई रुखले अँठ्याएछ', पोखरेलले भने, 'चारजनाको शव भेटिएको छ।' 

मृत्यु हुनेमा जिरी लिँकन बजारमा बस्ने जिरी गाविस वडा नम्बर ६ का कीर्तिमान जिरेलका ५ वर्षका छोरा सुजल जिरेल, १२ वर्षकी छोरी सुस्मा जिरेल, ३७ वर्षकी पेमाडोमा तामाङ र उनकी १७ वर्षकी छोरी फुर्लमु तामाङ छन्। 

सुजलको शव शुक्रबार राती नै निकालिए पनि अन्य तीनजनाको शव नेपाली सेना, प्रहरी र स्थानीयबासीले शनिबार बिहान निकालेका हुन्।

पहिरोमा स्थानीय ४० वर्षका कीर्तिमान जिरेल, उनका श्रीमती ३५ वर्षकी गुणकुमारी जिरेल, रामेछाप रस्नालु स्थायी घर भएका ३९ वर्षकी जसमाया खड्का, उनका श्रीमान ३७ वर्षका गुञ्ज बहादुर खड्का, श्यामाका ४६ वर्षका आङदावा तामाङ, उनका छोरा स्वयं तामाङ, ७ वर्षकी आङफुट्टी शेर्पा र ८ वर्षका आङनिमा शेर्पा घाइते भएका छन्। 

चिन्ताजनक अवस्थामा रहेका आङदावालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। अन्य घाइतेको जिरी अस्पतालमा उपचार भैरहेको छ।

दुर्घटनामा मृत्यु भएकाको शव आफन्तले बुझेका छन्। मृतकको शनिबार नै दाहसंस्कार गरिएको प्रजिअ पोखरेलले बताए।  

घटनास्थल सदमुकाम चरीकोटबाट करिव दुईघण्टा पूर्व पर्छ। जिरीलाई सगरमाथा क्षेत्रको प्रवेशद्वार मानिन्छ।   

​पहिरोले जिरीबाट ठोसे जाने सडक अबरुद्ध भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell