PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ज्यान मुद्दाका दोषी छुटाउन शिक्षकको आन्दोलन



ज्यान मुद्दाका दोषी छुटाउन शिक्षकको आन्दोलन

सुनसरी: सुन्दा अचम्म लाग्ला, ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी प्रमाणित भएका एक अभियुक्तलाई छुटाउन सुनसरीका शिक्षक संघ संगठनले आन्दोलन थालेका छन्। 

मंगलबार साँझ हतियारसहित पक्राउ परेका हरिलाल यादवलाई छुटाउन सुनसरीका शिक्षकसम्बद्ध विभिन्न १७ संघसंगठनले संयुक्त आन्दोलन थालेका छन्। 

१७ शिक्षक संघसंगठनले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै यादवलाई बिनासर्त रिहाइ गर्न माग गरेका छन्।

विज्ञप्ति जारी गर्नेमा नेपाल शिक्षक युनियन, नेपाल राष्ट्रिय शिक्षक परिषद, शैक्षिक गणतान्त्रिक मञ्च, मधेसी शिक्षक फोरम नेपाल, नेपाल शिक्षक संघलगायत १७ शिक्षक संगठन छन्।

पक्राउ परेका यादव पनि शिक्षक हुन् तर जिल्ला अदालत सुनसरीले ज्यान मार्ने उद्योगमा उनलाई २०६८ सालमा पाँच वर्ष जेल सजायँ तोकेको थियो। 

सुनसरीको बालकृष्ण उच्च मावि रामनगर भुटाहामा निमावि तहमा कार्यरत शिक्षक यादवलाई मङ्गलबार राति बबिया गाविसबाट आफ्नो घर नर्सिङ्ग गइरहेको बेलामा सादा पोशाकका प्रहरीले कटुवा बन्दुक र ४ राउण्ड गोलीसहित पक्राउ गरेको थियो। 

सुनसरीका प्रहरी उपरिक्षक मसउद आलम खाँका अनुसार यादवलाई २०६८ सालमा सुनसरी अदालतले ज्यान मार्ने उद्योगमा कैद सजाय तोकेको थियो। 

'उनको साथबाट हतियार फेला परेको थियो। रेकर्ड हेर्दा उनी दोषी प्रमाणित भएर पनि फरार रहेको भेटिएपछि अदालतको जिम्मा लगाइदियौं,' उपरीक्षक खाँले पहिलोपोस्टसँग भने, 'अदालतले उनलाई जेल चलान गरिसकेको छ।' यादवलाई शुक्रबारदेखि झुम्का कारागारमा राखिएको छ।

प्रहरीले कारागारबाटै ल्याएर हतियारको विषयमा यादवसँग बयान लिने र हातहतियार तथा खरखजाना ऐेन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको पनि खाँले बताए। 

शिक्षक यादव ज्यान मार्ने उद्योगमा २४ हजार धरौटीमा तारेखमा छुटेका थिए। तर तोकेको तारेखमा अदालतमा उपस्थित नभएपछि उनलाई ५ वर्षको कारागार सजाए सुनाइएको थियो। कारागार सजाए तोकेदेखि नै यादव अदालतको फरार अभियुक्त थिए। 

यता शिक्षक संगठनले भने यादवलाई बिनाकारण पक्राउ गरेको र झुठा मुद्दा लगाउन खोजेको भन्दै विरोध जनाएका छन्। उनीहरुले यादवलाई बिनासर्त रिहाइ नगरे कडा आन्दोलन गर्ने र आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी दिएका छन्। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले अदालतले दोषी प्रमाणित गरिसकेका व्यक्तिलाई रिहाइको माग गर्नु अनुचित रहेको बताए। 'कानुनकै खिल्ली उडाउने काम भयो। झन् ज्ञान बाँड्ने शिक्षकबाट यस्तो हुनु त पटक्कै सुहाएन', उनले भने।

यादवको रिहाइको माग गर्दै मधेसी युवा फोरम सुनसरी, मधेसी जनअधिकार फोरम सुनसरी र महिला फोरम सुनसरीले समेत शिक्षक यादवलाई प्रहरीले बिनाकारण फसाउने नियतले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell