PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

सिड्नीमा सन्दीपको सनसनी, एक्लैले चट्काए छ विकेट



सिड्नीमा सन्दीपको सनसनी, एक्लैले चट्काए छ विकेट

सिड्नी : अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको प्रिमियर ग्रेड क्रिकेट सिजन खेल्न सिड्नी पुगेका सन्दीप लामिछानेले आज छ* विकेट लिएर सनसनी मच्चाएका छन्।  

अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले उनलाई आफ्नो टिम वेस्टर्न सबअर्ब्सबाट खेल्न डाकेका थिए। सिजनको ए ग्रेडको पहिलो खेलमा उनले एक विकेट लिए पनि पछिल्ला दुई म्याचमा कुनै विकेट लिन नसकेपछि उनलाई आज बी ग्रेडको खेल खेलाइएको थियो।  

उनी संलग्न टिम वेस्टर्न सबअर्ब्सले ए ग्रेडको लगतार दुई म्याचमा पराजय भोग्नुपरेको थियो। 

सन्दीपलाई राखिएको सेकेन्ड ग्रेडको चौथो राउन्डको सेन्ट जर्जविरुद्धको दुई दिवसीय खेलको पहिलो खेल पिचका कारण रद्द भएको थियो। सन्दीपको उत्कृष्ट प्रदर्शनका कारण आजको खेल उनको टिम वेस्टर्न सबअर्ब्सले जितेको हो। 

उनी बिनाको फर्स्ट ग्रेडको म्याच भने बराबरीमा टुङ्गिएको छ। 

टस जितेर ब्याटिङको निम्तो पाएको सन्दीपको टिम ४९.१ ओभरमा २१८ रन बनाई अल आउट भएको थियो। अन्तिम नम्बरमा ब्याटिङ गरेका सन्दीपले पाँच बलमा एक चौकासहित पाँच रन बनाई आउट भए। 

जवाफी ब्याटिङमा उत्रिएको सेन्ट जर्जलाई सन्दीपको घातक बलिङ अफाप सिद्ध भयो। सर्वाधिक ६१ रन बनाएका रोस भेर्गोपोलस सन्दीपले स्टम्प आउट गराए। ३१ रन बनाएका मिसेल एडवार्डसलाई उनले एलबिडब्ल्यु धरापमा पारे। २८ रन बनाएका बेन बर्केलाई सन्दीपले आफ्नै बलमा क्याच आउट गराए। 

१४ रन बनाएका बेन पानायोटोपोलसलाई उनले आफ्नै बलमा आफैले क्याच आउट गरे। उनले आफ्नो पाँचौँ विकेट पिटर फ्रान्सिसलाई स्टम्प आउट गराई लिए। त्यसैगरी १२ रन बनाएका क्रेग थोर्नबोरोलाई पनि सन्दीपले नै आउट गरे। 

सबैभन्दा बढी २१.१ ओभर बलिङ गरेका उनले ५ ओभर मेडन राख्दै ६३ रन दिएर ६ विकेट लिएका हुन्। (*यसअघि समाचारमा पाँच विकेट भएकोमा सच्याइएको छ)

५४.१ ओभरमा सेन्ट जर्जले १८३ रन मात्रै बनाउन सक्यो।  

फर्स्ट ग्रेडका तीन खेलमा मात्र एक विकेट

सन्दीपले सिजनको फर्स्ट ग्रेडको पहिलो खेल मोसमनविरुद्ध खेलेको थियो। माइकल क्लार्कले समेत ब्याटिङ गरेको ५० ओभरको फर्स्ट ग्रेड लिमिटेड ओभरको यो खेलमा सन्दीपले ८ ओभरमा १७ रन दिई १ विकेट लिएका थिए। खेलमा वेस्टर्न सबअर्ब्सले ६ विकेटको विजय हात पार्योि। यो खेलपछि सिड्नीका मिडियामा समेत सन्दीपको चर्चा भएको थियो। 

र्‍यान्डविक पिटरस्यामविरुद्धको फर्स्ट ग्रेड ५० ओभरको सिजनको दोस्रो खेलमा सन्दीपले ९ ओभर बलिङ गरी ४९ रन दिए, कुनै विकेट लिन सकेनन्। खेल उनको टिमले १०२ रनको पराजय भोग्नु पर्यो । खेलमा उनले ब्याटिङतर्फ ४ बलको सामना गरी एक चौकासहित ४ रन पनि बनाएका थिए।

तेस्रो चरणको फर्स्ट ग्रेड दुई दिवसीय खेलमा पनि सन्दीपको टिमले नमीठो पराजय भोग्यो। पारामाटाविरुद्धको खेलको पहिलो इनिङ्ग्समा उनको टिम ६९.४ ओभरमा २८३ रन बनाएर अल आउट भयो। यो खेलमा पनि उनले अन्तिगम नम्बरमा ब्याटिङ गर्दै  ७ बलमा तीन चौकासहित १२ रन बनाए।

बलिङतर्फ उनले १२ ओभरमा ७५ रन दिए। कुनै विकेट लिन नसकेका उनले दुई वटा नो बल फ्याले। ८६.१ ओभरमा ५ ओभरको क्षतिमा ४२२ रन बनाएर पारामाटाले डिक्लेयर गर्योय। दोस्रो इनिङ्ग्समा १५ ओभरमा बिना कुनै क्षति ५२ रन बनाएपछि सन्दीपको टिमले पराजय भोग्नुपर्‍यो।   

पोइडेभिन ग्रे शिल्डको अक्टोबर ९ मा भएको नर्थ सिड्नीविरुद्धको खेलमा भने सन्दीपले १० ओभर बलिङ गरी १ ओभर मेडनसहित ३३ रन दिएर ३ विकेट लिएका थिए। 

सिडनीका २२ टिमहरुको यो प्रिमियर ग्रेड प्रतियोगितामा अझै दुई दिवसीय म्याच र वन डे ह्वाइट बल म्याच गरी १० राउन्डका खेलहरु हुन बाँकी छ। आजको प्रदर्शनपछि सन्दीपलाई अर्को म्याचमा फर्स्ट ग्रेडमा बढुवा गरिने हो कि सेकेन्ड ग्रेडमै कायम राखिने हो, निर्णय हुन बाँकी छ। 

अस्ट्रेलियन वान डे वर्ल्डकप विजेता टीमका कप्तान माइकल क्लार्कको निम्तोमा सिड्नी पुगेका सन्दीपलाई विमानस्थलमा क्लार्क स्वयंले स्वागत गरेका थिए। 

यु १९ विश्वकपको आयरल्यान्डविरुद्धको खेलमा ह्याट्रिक गरी सनसनी मच्चाएका सन्दीपलाई अस्ट्रेलियन लेग स्पिनर सेन वार्नसँग समेत तुलना गरिएको थियो। नेपालको राष्ट्रिय क्रिकेट टीमबाट समेत खेलिसकेका १६ वर्षीय सन्दीपले गत मेमा हङकङ क्रिकेट ब्लिट्जमा क्लार्कसँगै खेलेका थिए। 

सन्दीपको अष्ट्रेलिया बसाइको सम्पूर्ण खर्च क्लार्कले नै मिलाएका छन्। हुबलेटले यसको प्रायोजन गरिरहेको छ।  (फाइल फोटो : twicopy.org)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell