PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

एउटा मन्त्री त किन्नुहोस् !



एउटा मन्त्री त किन्नुहोस् !

चट्याङ मास्टर चर्चित हास्यव्यंग्य लेखक हुन्। साहित्यिक नाम चट्याङ मास्टर भएका उनको खास नामचाहिँ कृष्णमुरारी गौतम हो। व्यङ्‍यचेतले भरिएका उनका कवितामा समाजिक विकृतिमाथि तीखो व्यंग्य प्रहार गरिएको हुन्छ। सरल शब्दबाट रमाइलो गरी पाठकको मन छुनु उनको लेखनीको विशेषता हो। गाईजात्राको अवसरमा प्रस्तुत छ चट्याङ मास्टरको पुस्तक ‘चट्याङगीता’ का केही पङ्तिः

एउटा यस्तो नेता होस् !

 
एउटा यस्तो नेता होस्,, केटी होस् या केटा होस् !
भेटौँ-भेटौँ मनमा होस्, फोटो त्यसको घरमा होस् !!

देख्दा-भेट्दा आस बढोस्, कुरा कम, काम धेरै गरोस् !
प्यारो होस्, त्यो सबैको होस्, कसैको त्यो पेवा नहोस् !!

भुक्नु मेरो गर्व बनोस्, धर्म त्यसले कर्म गरोस् !
देश हितका कुरा गरोस्, उसलाई सुन्दा जोश बढोस् !!

ढुंगा हान्दा हात गलोस्, पुत्ला पोल्दा मन डढोस् !
मनमा एउटै इच्छा होस्- त्यसको आयु अझै बढोस् !!

यस्तो एउटा नेपाली होस्,
केटी होस् या केटा होस् !

जाबो एउटा भोट !

भोट मात्रै तपाईँको हो, नोट मेरै कमाई हो !
दिएर मात्र एउटा भोट, कत्रो आस गराइ यो ?
शिक्षा, स्वास्थ्य, सडक, बत्ती चाहिएको छ कतिकति !
जाबो एक भोटको बद्ला कहाँ पाइन्छ खोजे जति ? !

जम्मा जम्मी तपाईँको पो शान्ति त्यै एक भोट हो !
मेरा त हजारौँ छन्, के माने एक भोटको ? !
भोट बाहेक कहाँ के ख्वै दिएको छ तपाईँले ?
दिनुभन्दा सधैँ धेरै लिन खोज्ने तपाईँले ? !

ढाल ! ढाल !

कार्यकर्ता ! ढालिदेउ नेता,
नेताले पार्टी ढालिदेउ !
पार्टीले ढालिदेउ सरकार,
सरकारले देश ढालिदेउ !

सप्पैले ढाल सप्पैलाई,
उठ्या देख्यो कि ढालिदेउ !
गुहारौँ अनि विदेशीलाई,
“हाम्रा यी बच्चा पालिदेउ !”

नयाँ अफिस ट्याम

९ बजे नै अफिस खुल्छ, १० बजे त पुग्नै पर्‍यो
भलाकुसारी हाकिमलाई, एक घण्टा त दिनै पर्‍यो,
“के छ ?”, “सञ्चै ?”, “नमस्कार” भन्दैमा १२ बज्दछ,
पत्रपत्रिका उल्टाउँदा, घडीले एक भन्दछ !

भोक लाग्छ, खाना सस्तो, मीठो खोज्दै मेनु पढ्यो,
अर्डर दियो, कुर्‍यो, खायो, फिर्ता हुँदा दुई बज्यो,
मेचमा बस्न पा’छैन, फोनको टोनले ३,
४ चाँडै किन बज्थ्यो, चिया चुरोट न लि’कन !

बाँकी रह्‍यो मात्र एक घण्टा थकाइ नि लाग्न थाल्दछ,
आजै कति मरिमेट्नु? भोलि पनि त खुल्दछ !!

एउटा मन्त्री त किन्नुहोस् !

तरकारी बेच्नेले भोलि, अर्कै टोकरी ल्याउँछ
आलु गोभी, प्याजको सट्टा, बोली बेग्लै लगाउँछ।

“लिनुहोस् लौ गृहमन्त्री, अर्थमन्त्री रसिलो छ
चाँडै पाक्ने प्रधानमन्त्री, न्यायमन्त्री कलिलो छ,
ताजा छ जलश्रोतमन्त्री, सस्तो मोल लगाउँछु
चारोटा किन्नुहोस् मन्त्री, यौटा फोसा चढाउँछु।

रातो, कालो, सेतो छ हुजूर, आफ्नो मनपसन्द किन्नुहोस्
सानो-ठूलो मिलाइदिन्छु, छानीछानी लिनुहोस्
तपाईँ त आफ्नु मान्छे हुजूर, तौलमा कमी छैन
कोही त किन्नुहोस्, हुजूर, बोहनी भाएछैन।

खुद्रा व्यापारी छु हुजूर, पार्टी बेच्ने छैन
दु-चार झोला मन्त्री छ हुजूर राजनीति कर्नुहोस्
प्रजातन्त्रको सिजन छ हुजूर, राजनीति कर्नुहोस्
सस्तो दिन्छु अरे साहुजी, एउटा मन्त्री त किन्नुहोस्!”

चुप !

कसैको कृपाबाट उहाँले पद पाएकै होइन !
देशलाई कृपा गरेर उहाँ पदमा बसिदिनुभएको हो !

कताबाट उठ्यो उहाँले देश सेवा गर्ने कुरा?
देशले उहाँको सेवा गर्ने मौका पाएको हो !!

हल्ला गर्छन् तर हल्लाले डराउने उहाँ मान्छे होइन!
हल्ला उहाँदेखि डराउँछ आजकल, चुप लाग्नोस् कराउने हैन !!

- चट्याङगीता (२०६१) । चित्रः रविन साय्‌मि



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell