PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

संविधान संशोधन विधेयकको विरोध गर्दै एमालेले चल्न दिएन संसद, भोलिसम्म बैठक स्थगित



संविधान संशोधन विधेयकको विरोध गर्दै एमालेले चल्न दिएन संसद, भोलिसम्म बैठक स्थगित

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमालेले आजको संसद बैठक चल्न नदिने भएको छ। दिउँसो सवा १ बजेपछि संसदको बैठक सुरु हुने बित्तिकै समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले मंगलबार राति दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा बोल्न समय मागे।

गौतमले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकले नेपालको संविधानको ठाडो उल्लङ्घन गरेको आरोप लगाए। रुपान्तरित संसदलाई प्रदेश हेरफेर नगर्ने अधिकार नदिएको भन्दै सरकारले अधिकार मिचेर संशोधन प्रस्ताव दर्ता गरेको उनले बताए। 

कसैलाई रिझाउनको लागि संशोधन विधेयक पेश भएको  र प्रधानमन्त्रीले संविधान बुझेर पनि संविधानको उल्लङ्घन गरेको आरोप उनले लगाए। 'हिमाल र तराईलाई भिडाएर देशलाई बर्बादीतर्फ लैजान खेल भइरहेको भन्दै एमालेले संविधान संशोधन विधेयकमा रहेको नागरिकता, भाषा र प्रदेश टुक्राएको विषयमा घोर विरोध गर्ने बताए ।  

उनले आजको संसद चल्न नदिने बताएपछि सभामुख ओनसरी घर्ती मगरले सदनको आजको कार्यसूचीमा सं‌विधान स‌ंशोधनको विधेयक नरहेको भन्दै उठिरहेका सांसदहरुलाई बस्न आग्रह गरिन्। तर सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध जारी राखेपछि सभामुखले भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिन्। 

संसद बैठक स्थगित भएपछि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाहिरिने क्रममा कुराकानी गर्दै। 

यसअघि हिजो अध्यक्ष केपी ओली अनुपस्थित संसदीय दलको बैठकमा गौतमले एमााले संसदीय दलको बैठकमा पार्टीको अध्यक्षका तर्फबाट भन्दै संसद अवरुद्ध गर्ने निर्णय सांसदहरुलाई सुनाएका थिए। बानेश्वरमा बसेको संसदीय दलको बैठकमा गौतमले भनेका थिए - संसद अवरुद्ध गर्न हामी दिनभर आवश्यक परे पनि बस्छौ, रातभर पनि बस्छौँ, पालो गरेर भए पनि बस्छौँ।'

एमाले सचेतक भानुभक्त ढकालले बिहीबारको संसद बैठकमा पौने १ बजे नै आइपुग्न सांसदहरुलाइ निर्देशन दिएका थिए। 'जाम छ भन्न पाइन्न। ढिला गर्न पाइन्न', उनले सचेत गराएका थिए। 

उपाध्यक्ष गौतमले संसद बैठकमा मर्यादित भएर प्रस्तुत हुन सांसदहरुलाइ निर्देशन दिएका थिए। 'खुर्सानी लिएर काटमार गरेर रगत बगाउने काम चाहिँ गर्दैनौँ', उनले भनेका थिए, 'मर्यादित रुपमै आन्दोलन गर्ने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell