PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

ओलीले प्रधानमन्त्रीलाई भने- अनुहार पनि हेर्न मन लागेको छैन



ओलीले प्रधानमन्त्रीलाई भने- अनुहार पनि हेर्न मन लागेको छैन

काठमाडौँ : संसदको आजको बैठक एमाले सांसदहरुको विरोधका कारण भोलिसम्मका लागि स्थगित भएको घोषणा सभामुख ओनसरी घर्ती मगरले गरिसकेपछि सांसदहरु बाहिरिन थाले। 

टेलिभिजन क्यामेरा सांसदहरु बस्ने अघिल्लो लहरतिर केन्द्रित भयो जहाँ प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँगै देखिन्थे। उनीहरुबीच केही कुराकानी भएको देखिन्थ्यो। 

उनीहरुसँगै थिए एमाले सांसद रवीन्द्र अधिकारी। अधिकारीले संसद बाहिर सञ्चारकर्मीहरुलाई दुई नेताबीच के कुराकानी भयो भन्ने बारे जानकारी दिए। 

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीलाई 'छलफल गरौँ, वार्तामा बसौँ' भनेका थिए। जवाफमा ओलीले 'छलफलको त के कुरा, बोल्न त के, अनुहार पनि हेर्न मन लागेको छैन' भने। यो सं‌शोधनले मुलुकलाई गम्भीर दुर्घटनामा पुर्‍याउने ओलीले बताएको सांसद अधिकारीले जानकारी दिए। 


संसद बैठक स्थगित भएपछि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाहिरिने क्रममा कुराकानी गर्दै। 

यसअघि दिउँसो सवा १ बजेपछि संसदको बैठक सुरु हुने बित्तिकै समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले मंगलबार राति दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा बोल्न समय मागेका थिए।

गौतमले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकले नेपालको संविधानको ठाडो उल्लङ्घन गरेको आरोप लगाए। कसैलाई रिझाउनको लागि संशोधन विधेयक पेश भएको  र प्रधानमन्त्रीले संविधान बुझेर पनि संविधानको उल्लङ्घन गरेको आरोप उनले लगाए।

उनले संविधान संशोधन विधेयकको विरोध गर्दै आजको संसद चल्न नदिने बताएपछि सभामुख ओनसरी घर्ती मगरले सदनको आजको कार्यसूचीमा सं‌विधान स‌ंशोधनको विधेयक नरहेको भन्दै उठिरहेका सांसदहरुलाई बस्न आग्रह गरिन्।   

तर विरोध जारी रहेपछि सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गरिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell