PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

षड्यन्त्र, दुर्भाग्य, लाजमर्दो, रहस्यपूर्ण : ​एन्फाको लापरवाही विरुद्ध को के भन्छन्?



षड्यन्त्र, दुर्भाग्य, लाजमर्दो, रहस्यपूर्ण : ​एन्फाको लापरवाही विरुद्ध को के भन्छन्?

काठमाडौँ : एएफसीले आयोजना गर्ने एएफसी कपको पहिलो चरणको छनोट पार गरे पनि थ्री स्टार एएफसी कप प्लेअफमा खेल्न नपाउने भएको छ। एएफसीले पटक पटक प्रतियोगिताका लागि क्लबको इन्ट्री गर्न पत्राचार गरे पनि नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाले वास्ता नगरेपछि थ्रीस्टार प्लेअफ खेल्नबाट वञ्चित भएको हो। एन्फाको यो लापरवाहीविरुद्ध क्लबले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्‍यो। 

सम्मेलनमा कसले के भने?  

बालगोपाल महर्जन, प्रशिक्षक सम्पूर्ण प्रशिक्षकको तर्फबाट
यो घटना थ्री स्टार क्लबको मात्र होइन, नेपाली फुटबलकै लागि दुर्भाग्य हो, लाजमर्दो घटना हो। एन्फाले पछिल्लो समय ए, बी, सी प्रशिक्षक कोर्स लगायत करिब दर्जनौं कोर्सहरु सम्पन्न गर्‍यो। तर यो क्लब दर्ताको विषयमा कुरा बाहिर आएन। यो एकदमै रहस्यमय बनेको छ। यस विषयमा उचित छानविन हुनु जरुरी छ। फुटबलको मुख्य विषय भनेकै अनुशासन हो। अनुशासन बिना फुटबलको कुनै मूल्य छैन। त्यसैले यसबारे सत्यतथ्य कुरा बाहिर आउनैपर्छ। नेपाली फुटबलमा पछिल्लो समय राम्रो नतिजाहरु आइरहेको छ। यसले नेपाल अझै माथि जान सक्ने देखाएको छ। राम्रो गर्नेलाई पुरस्कार दिने, प्रोत्साहन गर्ने जस्तै खराब काम गर्नेलाई दण्ड दिनैपर्छ। व्यक्तिगत रुपमा पनि म एकदमै दुःखी भएको छु। सरकारले पनि उचित छानविनका लागि पहल गर्नुपर्छ।

कृष्ण कार्की, वि आर स्टार्स, थ्री स्टारको अफिसियल फ्यान क्लबका अध्यक्ष
एन्फाले षडयन्त्रपूर्वक थ्री स्टारलाई प्लेअफ खेल्नबाट बन्चित गरेको छ। थ्री स्टारले २०३१ देखि हात पारेको उपलब्धिलाई शुन्य बनाएको छ। नैतिकताका आधारमा गल्ती गर्ने निकायको सम्बन्धित व्यक्तिले राजीनामा दिनुपर्छ। दशकौं इतिहास बोकेको क्लब एएफसीको प्रतिष्ठित प्रतियोगिता खेल्न बन्चित हुँदा थ्री स्टारको फ्यानमात्र होइन सम्पूर्ण फुटबल फ्यानहरु दुःखी बनेका छन्। एन्फामा आएको सामान्य इमेलसमेत चेक गर्न नसक्ने नेतृत्वले एन्फा कसरी हाँक्छ? नेपाली फुटबलमा भएको यो गम्भीर लापरवाहीको विरुद्धमा फ्यानहरुले एन्फा घेर्ने समेत योजना बनाएको छ।

ठूलोभाइ केसी, जावालाखेल युथ क्लब अध्यक्ष, सम्पूर्ण क्लबको तर्फबाट
दोषी संस्थाले नै छानबिन समिति गठन गर्नु कहाँसम्मको हास्यास्पद कुरा हो। सरकार, राखेप लगायत सम्बन्धित खेल निकायले यसबारे तत्कालै छानविन गरी दोषीलाई कारवाही गर्नुपर्छ। ए, बी र सी डिभिजन क्लबले नेपालको फुटबल धानेको छ। अब सबै क्लबले एउटा समिति बनाएर सरकार, राखेप, मन्त्रालयलाई छानविनका लागि दबाब दिनुपर्छ। यो एउटा क्लबलाई मात्र आइपरेको समस्या होइन, अब सबै क्लब मिलेर क्षतिपूर्तिको दाबी गर्नुपर्छ। यस्तो बेला क्लब एसोसिएसन भएको भए अझ राम्रो हुन्थ्यो। 


मेघराज केसी, प्रशिक्षक थ्रीस्टार क्लब र सम्पूर्ण खेलाडीको तर्फबाट
मसँग यो विषयमा बोल्ने कुनै शब्द छैन। अब बाँकी नै के नै रह्यो र? एएफसीको प्रतियोगिता छाडेर घरेलु प्रतियोगितामा रुमल्लिरहनुको अवस्था आएको छ। एन्फाले २० वर्षदेखि यस्तो गल्ती दोहोर्‍याइरहेको छ। के एन्फा देशको कानुनभन्दा माथि छ ? जे पनि गर्न छुट पाउने?
सबै एकजुट भएर एन्फालाई दण्डित गर्नुपर्छ। यो बेला पनि अब चुप लागेर बस्ने र एन्फा अघि बढ्ने हो भने अर्को २० वर्षसम्म पनि एन्फा यसरी नै हावी हुन्छ। सबै मिलेर थ्री स्टार क्लबको पुरानै लयलाई फेरि फर्काउने वातावरण तयार गर्नुपर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell