PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

​लोकमान कालोमोसो प्रकरण : अनुत्तरित चार प्रश्न



​लोकमान कालोमोसो प्रकरण : अनुत्तरित चार प्रश्न

काठमाडौँ : सर्वोच्च अदालत परिसरभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दलिएपछि त्यहाँको सुरक्षामाथि प्रश्न खडा भएका छन्। 

कालोमोसो दल्नेहरु पक्राउ परे पनि अदालत परिसरमा आक्रमणको घटना भएको छ। प्रवेशमा समेत कडाई रहेको अदालतमा सुरक्षा निगरानीमा त्यतिकै छ। कहाँ भयो त सुरक्षा चुक?

प्रश्न नम्बर १ : कहाँबाट छिरे आक्रमणकारी?

सर्वोच्च अदालतमा प्रवेशका लागि मुख्यतया चार गेट छन्। नेपाली सेनाको क्याभलरीतर्फको गेटबाट सर्वोच्च र न्यायपरिषद्का् कर्मचारीले मात्र प्रवेश इन्ट्री पाउँछन्। त्यस्तै अर्को गेट छ महान्याधिवक्ताको कार्यालयबाट। त्यहाँबाट सरकारी वकिल, कानुन व्यवसायी र कर्मचारी प्रवेश गर्छन्। तर महान्यायाधिवक्ता कार्यालयमा प्रवेश गर्नकै लागि प्रहरीको सेक्युरिटी चेक पास हुनुपर्छ। 

बाँकी दुई गेट मध्ये पनि नेपाल बार एशोसिएसनतर्फको गेटबाट कानुन व्यवसायी र पास भएका पत्रकारले मात्रै प्रवेश पाउँछन्। सर्वसाधारणका लागि भने सर्वोच्चको एउटै मुख्य गेट पार गर्नुको विकल्प छैन। त्यहाँ प्रहरीले झोला मात्र खानतलासी गर्दैनन् शरीर पनि जाँच गर्छन्। अनि उनीहरुले मेटल डिटेक्टरबाट जाँच गरेपछि मात्र भित्र जान दिन्छन्। त्यहाँ मेटल डिटेक्टर गेट समेत राखिएको छ। 

यस्तो अवस्थाम प्रश्न उठ्छ कहाँबाट प्रवेश गरे लोकमानलाइ कालोमोसो लगाउने दुई युवक? कुनै पनि नागरिकले सर्वोच्च परिसरमा उभिनकै लागि मात्र पनि आफ्नो मुद्दाको मिसिल सहितको कागजपत्र वा नागरिकता देखाउनुपर्छ। इजलासमा जान भने नागरिकता राखेर अर्को पास लिनुपर्छ। तर यी दुई युवक भने इजलास जान आएका थिएनन्। के प्रहरीले उनीहरुको नाम टिपेको थियो? 


प्रश्न नम्बर २ : लोकमानका निजी सुरक्षा गार्ड के गर्दै थिए?

लोकमानसिंह कार्कीलाई अदालत परिसरमा मात्र आक्रमण वा कालोमोसो दलिएको होइन, अदालतको पनि रिट शाखाको कोठाभित्र दलिएको हो जहाँ सर्वसाधारणको सहज पहुँच छैन। यस्तोमा प्रश्न उठ्छ के आक्रमण गर्नेहरु पहिला नै कक्ष भित्र थिए? यदि लोकमानसिंह कार्की प्रवेश गरेपछि उनीहरु प्रवेश गरेका हुन् भने उनको निजी सुरक्षाकर्मी के गर्दैथिए? उनको बडिगार्डको जिम्मेवारी माथि प्रश्न उठेको छ।

प्रश्न नम्बर ३ : ७० प्रहरीको ड्युटी, घटना भयो कसरी?

सर्वोच्च अदालतमा सुरक्षाका लागि ७० प्रहरीको ड्युटी छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले बन्द आयोजना गरेको अवस्थामा सुरक्षाकर्मी थप चलाख हुनुपर्थ्यो। सरकारी गाडीहरु बन्दमा निशानामा पर्ने गरेका छन्। यस्तोमा गाडीको समेत सुरक्षा हेर्नुपर्ने र सरकारी भवनको घटनामा निगरानी वृद्धि गर्ने थप जिम्मेवारी प्रहरीमा हुन्छ। तर प्रहरीले बन्दको अवस्थाको सचेतता अपनाएको देखिन्न।

विगतमा न्यायाधीशको हत्यासम्मको घटना भएपछि न्यायाधीशहरुले पनि उच्च सुरक्षा घेरामा जीवन जिउने गरेका छन्। यस्तोमा सर्वोच्च अदालतभित्रको घटनाले सुरक्षा चुक देखिन्छ। 


प्रश्न नम्बर ४ : लोकमान माथि सुरक्षा थ्रेट विश्लेषण

लोकमानसिंह कार्की उच्च सुरक्षा घेरामा रहने गरेका थिए। निलम्बित अवस्थामा उनको सुरक्षा केही कम भएको देखिन्छ। तर उनीमाथि हुनसक्ने आक्रमण वा अन्य घटनाबारे प्रहरीले विश्लेषण नै नगरेको घटनाबाट देखिन्छ। मुलुकमा मुख्य ६ संवैधानिक आयोग छन्। त्यसमध्ये अख्तियार परिसर सबैभन्दा धेरै सुरक्षा घेरामा छ। तर त्यसकै एक निलम्बित प्रमुखको सुरक्षामा हेलचेक्र्याँइ देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell