
बलिउड कलाकार ओम पुरीको शुक्रबार बिहान आफ्नै निवासमा हर्ट अट्याकका कारण मृत्यु भएको छ। उनी ६६ वर्षका थिए। बलिउडका चर्चित फिल्महरुमा बेजोड अभिनय र फरक खालको आवाजका कारण उनलाई धेरैले सम्झन्छन्।
१० तथ्य जसले उनलाई नजिकबाट चिन्न सघाउँछ-
१) ओम पुरीले भारतीय मात्र हैन, बेलायती, हलिउड र पाकिस्तानी फिल्ममा समेत काम गरेका छन्।
२) उनका पिता पहिले भारतीय सेनामा कार्यरत थिए। तर मृत्युभन्दा दुई तीन महिनाअघि उनी सेनाकै सम्बन्धमा गरिएको एउटा टिप्पणीका कारण विवादमा आए। उनले सेनाको कामै सीमामा बसेर देशको रक्षा गर्नु हो, कसले भनेको थियो उनीहरुलाई सेनामा भर्ती हुनका लागि भनेका थिए। पाकिस्तानसँगको सीमामा भएको फायरिङमा भारतीय सैनिकको मृत्यु लगत्तै गरिएको यो यथार्थवादी टिप्पणीलाई अपमान भन्दै मिडियाले उनलाई फिल्मको हैन वास्तविक जीवनको भिलेन बनाए। जसका कारण उनले पछि माफी माग्नु पर्यो र एक मृत सैनिकको घरमा गई आँसु बगाएको दृश्यसमेत मिडियामा आयो। केही मिडियाले त्यसलाई पनि गोहीको आँसु भन्दै आलोचना गरेका थिए।
३) जीवनमा उनी विवादमा परेको यो मात्रै घटना थिएन। उनको निजी जीवन पनि सार्वजनिक रुपमा छताछुल्ल हुन पुगेको थियो। उनले पत्रकार नन्दिता पुरीसँग सन् १९९३ मा बिहे गरेका थिए। दम्पतिको इसान नामका एक छोरा पनि छन्। तर दुवै १० वर्षको वैवाहिक जीवनपछि छुट्टिए। उनकी पत्नीले अनलाइक्ली हिरो : स्टोरी अफ ओम पुरी नामको किताब लेखेकी थिइन् जसमा पुरीले १४ वर्षको उमेरमा आफ्नो घरमा काम गर्ने केटीसित यौन सम्पर्क गरेको, लक्ष्मी नामकी अर्की महिलासँग पनि यौन र भावनात्मक रुपमा सम्बन्ध रहेको जस्ता निजी कुरा खोतलेकी थिइन्।
४) उनले पुणेको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट अभिनय सिकेका थिए। सन् १९७३ को उनको क्लासमा सहपाठी थिए नसरुद्दिन शाह।
५) सन् १९७६ को मराथी फिल्म घासीराम कोटवाल उनको पहिलो फिल्म थियो। सोही इन्स्टिच्युटमा पढेका १६ जनाको सहयोगमा यो फिल्म बनेको थियो।
६) ८० को दशकमा भारतीय फिल्ममा आएको आर्ट फिल्मको बहारलाई लिड गर्ने अमरिश पुरी, नसरुद्दिन शाह, शबाना आज्मी र स्मिता पाटिलसँगै उनको पनि नाम आउँछ। भावनी भवाई, सदगति, अर्धसत्य, मिर्च मसाला र धारावी यी मध्येमा पर्छन्।
७) उनलाई सँधै स्मरणीय बनाउने फिल्महरुमा सन् १९८० को आक्रोश नामको फिल्म पर्छ जसमा उनले एक पीडित आदिवासीको अभिनय गरेका छन्। यो फिल्ममा उनी फ्ल्यासब्याकमा मात्रै बोल्छन्। त्यस्तै सन् १९८२ को डिस्को डान्सरमा उनले डान्सर जिम्मी जसको अभिनय मिथुनले गरेका थिए, उनङ्को म्यानेजरको भूमिका गरेका छन्। त्यही वर्ष बनेको अर्ध सत्यमा उनले गरेको पुलिस इन्सपेक्टरको अभिनय पनि बिर्सन नसकिने खालको छ। यही फिल्मबाट उनले राष्ट्रिय अवार्ड पाएका थिए। १९९६ को माचिसमा उनले शिख विद्रोही नेताको भूमिका गरेका थिए। १९९७ को गुप्तमा कडा पुलिस अधिकारीको अभिनय पनि स्मरणीय छ।
८) भारतीय सिरियल र केही फिल्ममा उनले कमेडियनको अभिनय पनि गरेका छन्।
९) पछिल्लो पटक जङ्गल बुकमा उनले बाघिराको भूमिकामा आवाज दिएका थिए।
१०) यो वर्ष उनी अङ्ग्रेजी फिल्म भाइसरायज हाउस, पाकिस्तानी फिल्म एक्टर इन ल र दुई कन्नाडा फिल्मको अभिनयमा व्यस्त थिए।