PahiloPost

Nov 6, 2024 | २१ कात्तिक २०८१

डिपिएल अक्सनमा आइपिएलको झल्को



गोविन्दराज नेपाल

डिपिएल अक्सनमा आइपिएलको झल्को

काठमाडौँ : 'हामी लामो समयदेखि आइपिएलको अक्सन हेर्दै आइरहेका थियौं, आज आफै अक्सनमा सामेल हुँदा च्यालेन्ज र रेस्पोन्सबिलिटी थियो,' धनगढी प्रिमियर लिग (डिपिएल)को शनिबार भएको अक्सनपछि रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले आफ्नो अनुभव यसरी
बताए। 

नेपाली क्रिकेटको इतिहासमै अक्सन (खेलाडी लिलामी) आफैँमा एउटा नयाँ प्रक्रिया थियो।  यसपटक डिपिएलको लागि अक्सन गरिएको हो जहाँ कप्तान बाहेक प्रत्येक टीमले १४/१४ खेलाडी अक्सनमार्फत् किनेका थिए। सँधै आइपिएलको अक्सन र यसको खेलमा झुम्दै आएको नेपाली क्रिकेट प्रेमीको लागि समेत यो नौलो अनुभव थियो।

डिपिएलमा रहेका ६ टोलीले कूल ८४ खेलाडीलाई पैसाको बोली लगाएर आफ्नो टीममा किने।

चार समूहमा गरेर कूल २१७ खेलाडीले डिपिएलको लागि नाम दर्ता गराएका थिए। त्यसमध्ये कप्तानसहित ९० खेलाडीले मात्र चैत ५ देखि १९ सम्म हुने यस संस्करणको डिपिएल खेल्न पाउनेछन्।

६ टीमले यी खेलाडीहरुमाथि पैसाको बोली लगाउँदै प्रतिद्वन्दीलाई पछि पार्दै आफूलाई मन परेको खेलाडी टीममा भित्र्याएका हुन्।

हरेक समूहका खेलाडीको बेस अमाउन्ट र लिमिटेसन अमाउन्ट तोकिएको थियो भने एक टीमले जम्मा कप्तानसहित ८ लाख ५० हजार मात्र खर्च पाउने नियम थियो। केही खेलाडीहरुमाथि एक भन्दा बढी टीमले लिमिटेसन अमान्टसम्म बोली लगाउँदा झनै रोमाञ्चक बनेको थियो। त्यस्तो अवस्थामा लोटरीमार्फत खेलाडीको बिक्री गरियो।

यस्तो लिमिटेसनसम्म पुग्ने खेलाडीहरुमा राष्ट्रिय टीमका सागर पुन, सोमपाल कामी, करण केसी थिए। उनीहरुको बेस अमाउन्ट ५० हजार थियो भने लिमिटेसन १ लाख थियो। यी तीन खेलाडीसँगै मेहबुब आलम सबैभन्दा बढी रकम १ लाखमा बिक्री भए।

 

शक्तिले यस पटक अक्सनमा नबिकेका खेलाडीहरुको लागि यो सबक समेत रहेको बताए। 'यदि सबै खेलाडीले खेल्ने मौका प्राप्त गर्ने हो भने मेहनत गर्नुपर्छ भन्ने यसले देखाएको छ।'

अक्सन अगाडि नै ६ टीमले लक्की ड्र मार्फत कप्तान छानिसकेका थिए। कप्तानलाई सबै टीमले समान १ लाख ५० हजारमा अनुबन्ध गरेका हुन्। त्यसबाहेक विभिन्न ४ समूहमा विभाजन गरी खेलाडीको अक्सन गरिएको थियो। 

अक्सनमा ६ वटा टीमका खेलाडी, मालिकदेखि लिएर अक्सनरहरु सबै उत्साहित बनेका थिए। विराटनगर किङ्सका कप्तान शरद भेषावकरले यसलाई हिस्टोरिक मोमेन्ट भएको बताए। 'नयाँ अनुभव भयो, दिनभरी टाइम गएको नै थाहा भएन।' 

यस्तै सिवाइसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्ले यस ऐतिहासिक क्षण भएको बताउँदै नेपाली क्रिकेट व्यवसायिकतातर्फ जान यस्ता खालका टुर्नामेन्टहरु हुनुपर्ने बताए। 

'हामी ओडिआई स्ट्याटसका लागिपरेका छौं, नेपाली क्रिकेटलाई व्यवसायिकता दिन र अझ अगाडि बढाउन यस्ता खालको टुर्नामेन्ट हुनुपर्छ।'
मल्लले भने, ‘टी २० लेभलमा मात्र नभएर अन्य फर्म्याटमा पनि यस्ते खालको टुर्नामेन्ट हुनुपर्छ। जसले गर्दा स्थानीय र अनक्याप्ड प्लेअरले पनि मोटिभेसन पाउँछ। रियल स्पोर्ट्सको विकासको लागि यो नयाँ सुरुवात हो।'

यता कञ्चनपुर आइकोनिकका कप्तान विनोद भण्डारी भने अक्सनमा आफूहरुले किनेको खेलाडीबाट सन्तुष्ट छन्। एक टीमको लागि छुट्टाइएको सबै ८ लाख ५० रकम खेलाडी खरिदमा खर्चेको कञ्चनपुरको टीम राम्रो बनेको भण्डारीले प्रतिक्रिया दिए। 'हामीले जस्तो सोचेका थियौं, त्यस्तै टीम बनाएका छौं।' 'म आफैँ सुदूर पश्चिमको भएर होला सुदूरपश्चिमा हुल लागेको यो प्रतियोगिताले गर्व लागिरहेको छ।'

राष्ट्रिय टीमका कप्तान समेत रहेका टीम चौराहका धनगढीका कप्तान पारस खड्काले एक वर्ष देखिको आफूहरुको प्रयास अहिले आएर सफल भएको बताए।

'६ वटै टीम ओनरहरुलाई धन्यवाद, सुवास शाही हामीहरु एक वर्षदेखि यसबारे लागिरहेकाले सफल भएका छौं। खेलाडीहरुको लागि यो एकदमै राम्रो अवसर समेत हो।'

यस्तै कान्तिपुर गोल्डेन्सका कप्तान बसन्त रेग्मीले यस्ता टुर्नामेन्ट सुवास शाहीले मात्र नभएर विराट नगर, भैरहवा, वीरगन्ज सबै डाउँमा हुनुपर्ने जोड दिए।

'यस्तै खाले गेमहरुले नै क्रिकेटको विकास गर्ने हो। अब नयाँ नयाँ खेलाडीहरु पनि आउनुपर्छ हामीले मात्र खेलेर पुग्दैन। हामीसँगै नयाँले पनि खेल्नुपर्छ र त्यसका लागि यो एउटा प्लाटफर्म समेत हो।'

शक्ति गौचनले भनेजस्तै डिपिएलको अकसनले पक्कै पनि थोरै मात्रामा भएपनि आइपिएलको झल्को दिएको छ। तर छिमेकी मुलुक भारतमा हुने आइपिएल र डिपिएलमा तुलना हुन सक्दैन। ग्ल्यामर, पैसा र स्टार खेलाडीले भरिएको आइपिएल विश्वमै चर्चित छ। 

आइपिएलको एक टीमले एक सिजन खेलाडी खरिदका लागि मात्र ६६ करोड खर्च गर्छ। त्यसले त यहाँ करिब ६६ वटै टुर्नामेन्ट गर्न पुग्छ। 

यहाँ कूल ६ टीमले खर्च गरेको रकम ५१ लाख छ। हुन त डिपिएल आयोजनाका पर्दा पछाडिका हिरो एसपिए र डिसिएका अध्यक्ष तथा निर्देशक सुवास साही सँधै भन्ने गर्छन्, 'यो एउटा सुरुवात मात्र हो गर्न धेरै बाँकी छ। हामी सबै मिल्यौँ भने असम्भव भन्ने केही छैन।' र उनी भन्छन्, 'नेपाली क्रिकेटको भविष्य उज्जवल छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell