संविधान संशोधन विधेयक संसदमा पेश हुँदा देखिएका चार रोचक दृश्य
8th January 2017 | २४ पुष २०७३
काठमाडौँ : संसद बैठकमा विपक्षीहरुको होहल्लाबीच आइतबार संविधानको दोश्रो संशोधन विधेयक पेश भयो। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरुले होहल्ला र नाराबाजी गरेपनि कानुनमन्त्री अजयशंकर नायककले संशोधन पेश गरे। लगत्तै सभामुखले संसद बैठक सोमबार १ बजेसम्मका लागि स्थगित गरिन्।
१) कानुन मन्त्री तलै झरेनन्
निर्वाचन सम्बन्धी विधेयक पेश गर्ने क्रममा संसदको रोष्टममा पुगेका कानुन मन्त्री अजयशंकर नायक तल आफू बस्ने स्थानमा आएनन्। संशोधन प्रस्ताव अघि दुई विरोधका सूचना थिए। पहिलो नेमकिपाका प्रेम सुवालको। दोश्रो राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको। प्रेम सुवालले संसदमा उभिएर विरोध जनाइरहेकै बेला आफ्नो प्रस्तावबारे प्रष्ट पारे। तर उनी बोलिरहँदा पनि नायक तल झरेनन्। उनी संविधान संशोधन विधेयक टेबल गरेर संसद स्थगित भएपछि मात्र तल आए।
२) प्रेम सुवालको नाराबाजी,चित्रबहादुर चुप
संविधान संशोधन विधेयकमाथि विरोधको सूचना राखेका प्रेम सुवालले भारतको इशारामा संविधान संशोधन हुन लागेको बताए। नेपाल भारत सीमानामा पर्खाल लगाउनुपर्ने बताए। त्यसपछि सभामुखले चित्रबहादुर केसीलाई समय दिइन्। उभिएर संसदमा विरोध जनाइरहेका पूर्व उपप्रधानमन्त्री केसी बोलेनन्। उनले केसीको नाम दोहोर्याएर लिइन् तर केसी बोलेनन्। लगत्तै सभामुखले दुवै विरोधको सूचना निर्णयार्थ पेश गरिन्। त्यति नै बेला नेमकिपाका प्रेम सुवालले माइकमा नारा लगाए – भारतीय विस्तारवाद मुर्दावाद। केही समयपछि माइक काटियो र दुवै प्रस्ताव बहुमतले अस्वीकृत भयो।
निर्वाचन सम्बन्धि विधेयक पेश गर्ने बेला प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली संसद बैठकमा उपस्थित थिए। तर संविधान संशोधन विधेयक माथिको विरोध अघि नै उनी बैठकबाट बाहिरिए। संसदमा एमाले सांसदहरुले उभिएर विरोध गर्दै होहल्ला गरे। नेम्वाङ अन्य सांसदहरुले नारा लगाउँदा पनि हात बाँधेर चुप बसे। अघिल्लो लाइनमा बसेका वामदेव गौतम र युवराज ज्ञवालीले नारा लगाए। झलनाथ खनाल पनि चुप बसे।
४) प्रचण्ड हात मिलाउँदै बाहिरिए
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैठक अवधिभर आफ्नो चेयरमा बसे। उनले बाहिरिने क्रममा मधेसी नेताहरुसँग हात मिलाउँदै बाहिरिए। संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्न आग्रह गर्दै आएका मधेसी मोर्चाका नेताहरुले हाँस्दै प्रचण्डसँग हात मिलाए।