
लण्डन : शनिबार नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका भनिएका लोकप्रिय र्याप गायक यमबुद्ध (अनिल अधिकारी) को सोमबार पोस्टमार्टम गरिएको छ।
परिवार निकट स्रोतले जनाए अनुसार पोस्टमार्टम रिपोर्टमा धेरैले शंका गरे जस्तो लागूऔषधजन्य पदार्थ भेटिएको छैन।
पोस्टमार्टममा अल्कोहल भने भेटिएको छ। स्रोतका अनुसार राति कामबाट फर्किएपछि उनले श्रीमतीसित बसी वाइन खाएका थिए।
त्यसैगरी रिपोर्टमा बंगारा भाँच्चिएको पनि देखिएको छ।
प्रहरीले उनी बसेको ठाउँबाट पासपोर्ट च्यातिएका टुक्राहरु पनि भेट्टाएको छ। उनले किन त्यसरी पासपोर्ट च्याते भन्नेबारे केही पनि थाहा हुन सकेको छैन।
यमबुद्धको पोस्टमार्टम सकिएपछि उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि नेपाल ल्याउने कि नल्याउने निर्णय परिवारले गर्दैछ। उनी आफ्नी श्रीमतीका साथ लन्डनमा बसिरहेका थिए। उनका पिता काठमाडौँमा छन् भने दिदी र आमा अस्ट्रेलियामा छन्।
र्यापर यमबुद्ध आफ्नो नयाँ एल्बम र फेब्रुअरीमा हुन लागेको कन्सर्टको तयारी गर्दै थिए।
उनको साथी, आमा, पोखरा जस्ता गीतहरु चर्चित छन्। युवामाझ एकदम चर्चित र बार्ज : र्याप ब्याटलका सञ्चालक पनि उनै यमबुद्ध थिए।