PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संविधानसभा कहिलेसम्म स्थगित गरिरहने ? : नेम्वाङले दलहरुलाई सोधे



काठमाडौं : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठकको अनिश्चितता अन्त्य गर्न प्रमुख दलका सचेतकहरुलाई आग्रह गरेका छन्।

सिंहदरबारमा भएको छलफलमा नेम्वाङले दलका सचेतकहरुसँग 'संविधानसभा कहिलेसम्म स्थगित गर्ने ?' भन्दै प्रश्न गरेका हुन्। नेम्वाङले दलहरुले सहमतिका नाममा १९ दिन गुजारेको भन्दै सहमति गर्ने भए छिट्टै गर्न अन्यथा संविधानसभा प्रक्रिया अगाडि बढाउने सहमति गर्न आग्रह गरेका थिए।

'तपाईँहरुले नै सहमतिका लागि समय मागेकाले माघ २९ मा अनिश्चितकालका लागि संविधानसभा स्थगित भएको हो भनेर मैले दलका सचेकहरुसँग भनेँ,' नेम्वाङले बैठकपछि पत्रकारहरुसँग भने।

नेकपा एमालेका सचेतक अग्‍नि खरेलले सकिन्छ भने अझै पनि सहमतिको वातावरण तयार गर्ने अन्यथा प्रक्रिया सुरु गर्नै पर्ने भएकाले त्यो विषयमा पनि ध्यान दिएर अगाडि बढ्ने कुरा भएको बताए।

'अझै पनि सहमतिको उपयुक्त वातावरण बनाउन सकिन्छ भने सचेतकहरुले पहल गरौँ, दश दिन भनेको ठाउँमा संविधानसभा स्थगित भएको १९ दिन भइसक्यो, प्रक्रिया सुरु गर्नै पर्छ तर त्यो सँगसँगै सहमतिको वातावरण पनि बनाउँदै जाउँ भन्ने भयो। तर यही नै भन्ने टुङ्गो भएन,' खरेलले भने।

बैठकमा एमाओवादी सचेतक गिरिराजमणि पोखरेलले संविधानसभाको बैठक दलहरुबीच सहमतिको वातावरण निर्माण नभई बोलाउनुको औचित्य नभएको बताएका थिए।

नेम्वाङले भने आफूले संविधानसभा बैठकमै दलहरुबीच सहमति भए प्रस्ताव समिति मार्फतको प्रक्रिया रोकिने बताएकाले सहमति गर्न दलहरुलाई सुझाएका थिए।

'संविधानसभा अनिश्‍चित स्थगनको भूमिका दलहरुले खोज्‍नुपर्छ, मैले दलहरु देखिने गरी संवादमा बस्‍नुपर्ने र परिणाममुखि वार्ता गर्नुपर्छ, देशले धेरैदिन पर्खने अवस्था छैन, देशले व्यवहारिक जवाफ पाउनुपर्छ,' नेम्वाङले बैठकपछि भने।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र फोरम नेपाल दलका सचेतक र प्रतिनिधि उपस्थित थिए।

बैठकमा संसदको अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell