
- पहिलोपोस्ट -
निर्देशन नम्बर एक : एसएलसी परीक्षा उपचार कक्षमा नै दिने प्रबन्ध मिलाउनू
प्रधानमन्त्री सुशील कोइरालाले तेजाब आक्रमणमा परी उपचाररत छात्राहरु सीमा बस्नेत र सङ्गीता मगरको उपचार कक्षमा नै एसएलसी परीक्षा दिने प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्।वीर अस्पतालको क्याविन नं ९ मा उपचाररत छात्रा सीमा बस्नेतले मङ्गलबार लेखेको पत्र छात्राका आफन्तले आज प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गराएका थिए।
चार पृष्ठ लामो सो पत्रमा पीडित छात्रा बस्नेतले ‘आगामी चैत ५ गतेदेखि हुने एसएलसी परीक्षा पनि दिन पाउँछु कि पाउँदिन भन्ने अन्योल’ उत्पन्न भएको लेखेका थिए।
निर्देशन नम्बर २ : दोषीको पहिचान र पक्राउ गर्नू
प्रधानमन्त्रीले आजै गृह मन्त्रालयलाई तेजाब प्रहार घट्नाको गम्भीर र प्रभावकारी अनुसन्धान गरी दोषीको पहिचान र पक्राउ गरी शीघ्र कडा कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन्। उनले भविष्यमा यस प्रकारका घट्ना हुन नदिनसमेत विशेष सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।निर्देशन नम्बर ३ : सम्पूर्ण उपचार खर्च राज्यको
प्रधानमन्त्री कोइरालाले तेजाब प्रहारको घट्नाबाट पीडित छात्राहरुको सम्पूर्ण उपचार खर्च राज्यको तर्फबाट व्यहोर्ने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यससम्बन्धी निर्णय गरी कार्यान्वयनको व्यवस्था मिलाउन यही फागुन १८ गते नै परिपत्र जारी गरिसकेको छ।
बस्नेतले प्रधानमन्त्रीलाई लेखेको पत्रमा यही फागुन १० गते आफूहरु एकापसमा लेखा विषयको समस्या समाधान गर्दै शिक्षकको प्रतीक्षा गरेको समयमा अप्रत्यासीत रुपमा अपरिचित व्यक्तिले एसिड फालेर आफ्नो जीवनमाथि खेलबाड गरेको र भविष्य चौपट पार्न खोजेको उल्लेख गर्दै १७ दिन बित्दा पनि दोषी पक्राउ नपरेकोमा आश्चर्य प्रकट गरेकी छन् ।
उनले दोषी व्यक्ति को थियो ? किन आफूहरुमाथि आक्रमण गर्यो र आजसम्म किन पक्राउ परेको छैन भन्ने प्रश्न गर्दै पत्रमार्फत आफूसँग मोबाइल नभएको, फेसबुक पनि नभएको र केटासाथी पनि नभएको जानकारी गराएकी छन्।



