
काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनको आज बसेको बैठकले संविधान संशोधन परिमार्जनसहित पारित गर्न र वैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन फिर्ता लिन सात दिनको अल्टिमेटम दिएको छ।
सप्तरीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाको विरोधमा नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा पनि गठबन्धनले गरेको छ। गठबन्धनका प्रवक्ता डा. ओम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भने 'सात जनाको हत्या भएको' दावी गरिएको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा एक हप्ताको अल्टिमेटम दिने निर्णय गर्दै त्यससम्बन्धी औपचारिक पत्र सरकारलाई भोलि बुझाइने भएको छ।
मृतकहरुलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुलाई निःशुल्क उपचार गर्नुपर्ने माग राख्दै गठबन्धनले गठबन्धनले फागुन २६ गते बिहीबार काठमाडौँसहित जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने, फागुन २७ गते शुक्रबार नेपाल बन्द गर्ने भएको छ। यसअघि नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन २४ र २५ गते मधेस बन्दको घोषणा गरिसकेको थियो।
संघीय गठबन्धनको बैठकले एमालेले साम्प्रदायिकता निम्त्याउन खोजेको र सरकार नरसंहारमा उत्रेको आरोप पनि लगाएको छ।