PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाढीबाट क्षति बढ्दो, मृत्यु हुनेको संख्या ८५ पुग्यो



बाढीबाट क्षति बढ्दो, मृत्यु हुनेको संख्या ८५ पुग्यो

काठमाडौँ :  केही दिन यता देशभर आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ८५ पुगेको छ। गृह मन्त्रालयले दिएको आधिकारिक जानकारी अनुसार गएरातिसम्म सुर्खेतमा बाढीले २६ जनाको ज्यान लिएको छ भने बर्दियामा १६ जनाको मृत्यु भएको छ।

​केन्द्रीय दैवी प्रकोप उद्दार समितिका झंक नारायण ढकालले तथ्याङ्क संकलन अझै जारी रहेको र बेपत्ता हुनेको संख्या देशभर नै ठूलो रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए।

उनले राहत सामाग्री तथा उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरी काम गरिरहेको जानकारी दिए। देशका विभिन्न जिल्लामा बाढी प्रभावितहरुका लागि राहत केन्द्रहरुको स्थापना गरिएको र राहत वितरण गर्ने काम जारी रहेको ढकालले जानकारी दिए। 

सुर्खेत सबैभन्दा प्रभावित
सुर्खेतमा बाढीमा परी अझै १ सय ४८ जना अझै हराइरहेका छन्। पछिल्लो तीन दिनमा त्यहाँ मृत्यु हुनेको संख्या २६ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिए। बाढीका कारण १ हजार ६ सय ६८ घरमा क्षति पुगेको बस्नेतले बताए।

बेपत्ता मध्ये अधिकाशंलाई भेरी नदीले बगाएको हुन सक्ने उनले जानकारी दिए। हाल ३२ वटा स्थानमा सेल्टर स्थापना गरिएको र राहत पुर्‍याउने काम भइरहेको बस्नेतले उल्लेख गरे। जिल्लाका विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउन अहिले पहल भइरहेको उनले जानकारी दिए।

बर्दिया
बर्दियामा पनि बाढीका कारण मृत्यु हुनेका संख्या १६ पुगेको छ। त्यहाँ १६ जना अझै बेपत्ता रहेका छन्। बाढीका कारण १० हजार घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए। ३५ वटा सेल्टरमा १८ हजार जनालाई राहत वितरण भइरहेको उनले बताए। 

​नेपालगन्ज डुबानमा
विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालगन्ज नगरपालिकाका अधिकांश स्थान डुबानमा परेका छन्। सेतु विक चोक, घरबारी टोली, बलासपुर, फुल्टेक्रा, गणेशपुर लगायतका स्थानमा कम्मरसम्म पानी जमेकोले आवागमनमा कठिनाइ भएको छ। यहाँका कयौं घर, पसलभित्र पानी पसेको छ। आइतबार घाम लागे पनि पानी भने घटेको छैन। 













फोटो : रेडियो एक्सप्रेस ८८.४ एफएम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell