PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

भारतीय सुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका गोविन्दलाई सहिद घोषणा गरिने : प्रधानमन्त्री



भारतीय सुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका गोविन्दलाई सहिद घोषणा गरिने : प्रधानमन्त्री

काठमाडौँ : कञ्चनपुरमा बिहीबार भारतीय सुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढिसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बताएका छन्। 

सुदूरपश्चिमबाट आएको प्रतिनिधि मण्डलसित कुरा गर्दै प्रधानमन्त्रीले  भने, 'गोविन्द गौतमलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढिसकेको छ। उहाँको परिवारलाई तत्काल १० लाख दिने निर्णय भइसकेको छ।

उनले मृतक गौतमका दुई सन्तान रहेको जानकारी आएको र उनीहरुको पठनपाठनको व्यवस्था सरकारले गर्ने निर्णय पनि भइसकेको जानकारी दिए। 

सम्मानपूर्वक उनको अन्त्येष्टि गर्ने निर्णय पनि भइसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले घटना सुन्ने बित्तिकै तुरुन्तै कुटनीतिक पहल प्रधानमन्त्रीकै तहबाट पनि गरिएको बताए। 


दूतावासका प्रतिनिधि बोलाएर अनुसन्धान गरी दोषीलाई कारबाही गर्न परराष्ट्र मन्त्रालयबाट कुटनीतिक कुराकानी भइसकेको र बिहानैदेखि परराष्ट्र मन्त्री आफै पहल गरिरहेको जानकारी पनि उनले दिए। 

'नेपाल सरकारले यो विषयको गम्भीरता र संवेदनशीलतालाई विचार गरीकन कुटनीतिक रुपमा भारत सरकार समक्ष राख्नुपर्ने कुरा राखेको छ र सार्वजनिक रुपमा गर्नुपर्ने कुरा गरेको छ', उनले भने, 'नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकोले यसमा कुनै पनि किसिमको हस्तक्षेप निन्दनीय हुन्छ। निरन्तर केन्द्रबाट संवाद गरिरहेका छौँ। स्थिति सामान्यीकरण गर्न पहल भइरहेको छ।

'यो विषयमा सरकार गम्भीर छ। कुनै पनि किसिमको हस्तक्षेप हामीलाई सह्य छैन भन्ने प्रष्ट कुरा भारतसमक्ष राखेका छौँ', उनले भने।

उनले अनावश्यक उत्तेजना फैलाएर बोर्डरमै गएर तनाव नगर्न पनि आग्रह गरे। 'जनताको भावनालाई सरकार सम्मान गर्छ। देशभक्तिपूर्ण राष्ट्रिय भावनाको सरकार उच्च कदर गर्छ। तर तनाव बढाउने कुरा बोर्डरभन्दा अन्यत्र नै राख्नु ठीक हुन्छ', उनले भने।

सम्बन्धित समाचार
नेपाली भूमिमा भारतीयको गोली लागेर नेपाली ढलेको क्षण
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell