PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

श्रीकृष्ण र गीता रहस्य



श्रीकृष्ण र गीता रहस्य

आलोक लम्साल

श्रीमद्भगवद्गीता, एक वैज्ञानिक ग्रन्थ। कृष्ण, एक अद्भुत व्यक्तित्व। महाभारतको इतिहासको सूक्तिबद्ध स्वरुप भगवद्गीता। हरेक श्लोकमा मन्त्र, यस्तो मन्त्र, स्वाहा… पू… गर्दैमा लागू नहुने, व्यवहारमा नउतारी हुँदै नहुने।

अर्जुनलाई पाठ सिकाउने क्रममा महान् विचारक कृष्णका ती वाणीको हामी पनि रसस्वादन गर्दैछौं। श्रीकृष्ण, कस्ता दूरदर्शी व्यक्ति। त्यो दूरदर्शितालाई सफल तुल्याउन छन्दोबद्ध रूपले सिँगार्ने ऋषि व्यास पनि उत्तिकै दू्रदर्शी। आचारसंहिता, व्यवहार र आध्यात्मिक ज्ञानका लागि अकूत विज्ञानको भण्डार हो भगवद्गीता। यस ग्रन्थले मानिसलाई सही आचरणका साथ जिउन सँधै प्रेरणा दिइरहन्छ।

विश्वका धेरै दार्शनिक यति अचम्मित छन् कि, आजभन्दा लगभग ५ हजार वर्ष अगाडिको ज्ञान अहिलेसम्म सान्दर्भिक कसरी हुन गयो? संसार कै महान् बुद्धिजीवी पनि यस ज्ञानको सागरबाट अत्यन्त प्रभावित छन्। भगवद्गीता हिन्दु धर्म ग्रन्थ मात्र होइन, किनकि यो ग्रन्थ त सम्पूर्ण मानवजातिको उत्थानका लागि निर्माण गरिएको एक अद्वितीय ग्रन्थ हो। हिन्दु शब्द त सिन्धु भन्ने नदीबाट आएको भन्ने भाषा वैज्ञानिक मान्यता छ जसले मात्र ८ सय वा ९ सय वर्षको मात्र इतिहास बोकेको छ।

भगवद्गीता र कृष्ण चिन्तनलाई पौराणिक मान्यता वा पुराणका आधारमा मात्र व्याख्या गरियो भने त्यो अधूरो रहन जान्छ। किनभने पुराणमा सत्य भन्दा साम्प्रदायिक र आलंकारिक कुरा बढी भएको विद्वद्वर्गको मान्यता छ। पुराणका तथ्यहरुमा एकरुपता नभएको कुरा पनि विज्ञजनहरुबाट आइरहेको छ। पुराणलाई जीविकाको विषय बनाउने पुरेत र पण्डितहरुले आफू अनुकूलका कुरा थपेर ‘गुरुडम’ बढाएको पनि हामी पढ्न तथा सुन्न पाउँछौं।

वाल्मीकि रामायण र महाभारत ग्रन्थ त्यति विकृतिग्रस्त छैनन् भन्ने मानिएको छ। अझ भगवद्गीता त एकदमै निष्कलंक ग्रन्थ मानिन्छ। जति पनि दार्शनिक छन् सबैले भगवद्गीता र माहाभारतलाई असली ऐतिहासिक ग्रन्थ मानेका छन्। भगवद्गीताको ज्ञानगंगाबाट पूर्वीय मात्र होइन पाश्चात्य दार्शनिक पनि आकृष्ट भएका कुरा हामी पढ्न पाउँछौं।

यस प्रसंगमा भगवद्गीताप्रतिको सामाजिक आस्थाबारे केही छलफल गर्नु सान्दर्भिक नै हुनेछ। कृष्णतत्व र भगवद्गीताको चिन्तन विभिन्न दार्शनिकहरुले गरेका छन् र गर्दै आएका पनि छन्। जसमा विवेकानन्दको निकै ठूलो योगदान छ। पाश्चात्य जगतमा भगवद्गीताका बारेमा दर्शन फैलाउनेहरुमा पनि उनी पनि अग्रगण्य मानिन्छन्। विवेकानन्द निकै पोख्त अध्येता र योगी थिए। विवेकानन्द नवीनतम ऋषि हुन्। उनीभन्दा अगाडि भक्तियोगको पराकाष्ठा नाघेका चैतन्य महाप्रभुलाई गीताका परमभक्तका रुपमा लिन सकिन्छ। बीसौं शताब्दीका दार्शनिक अरविन्द घोष, बालगंगाधर तिलक, महात्मा गान्धी र योगी नरहरिनाथ आदि पनि गीता बुझ्ने महात्मा हुन्। राधाकृणन्‌ले पनि भारतीय दर्शनका साथसाथै थुप्रै ग्रन्थ लेखेका छन्। उनको पनि दार्शनिक चिन्तनको आधार भगवद्गीता नै देखिन्छ। अर्का महान् साहित्यकार तथा नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुरको पनि भगवद्गीता प्रतिको झुकाव उनको ग्रन्थबाट प्रष्ट रुपले थाहा पाउन सकिन्छ। यी पूर्वीय चिन्तकलाई हामीले राम्रोसँग अध्ययन गर्न पाएका छैनौं। समाज र संस्कृतिलाई व्याख्या गर्ने क्रममा भगवद्गीताको सहायता लिएका यी विद्वानहरुको विवेचना निकै नै उत्कृष्ट र अविस्मरणीय छ।

त्यसै गरी पाश्चात्य दार्शनिक पनि भगवद्गीताबाट निकै नै प्रभावित भएको हामी सुन्न र पढ्न पाउँछौं। 'म्याक्स मूलर' ले त ठेली का ठेली वैदिक इतिहासको खोजी गरेका छन्। कति संस्कृत वाङ्मयको अनुवाद पनि गरेका छन्। 'सोपेनहावर' पनि कृष्ण र भगवद्गीताका बारेमा विशिष्ट अध्ययन गरेका पाश्चात्य दार्शनिक हुन्। 'जुलियस क्ल्याप्रोथ' को लेखबाट प्रभावित सोपेनहावरले पूर्वीय दर्शन र भगवद्गीताका बारेमा आफ्नो किताब, "द वर्ल्ड याज वील एण्ड रेप्रीजेन्टेशन" मा सङ्ग्रहीत गरेका छन् । जर्मन दार्शनिक 'फ्रेड्रिक नित्से' ले पनि मनु स्मृतिका बारेमा लेखेका छन् जसमा उनले मनु स्मृतिलाई अतुलनीय आध्यात्मिक र अद्वितीय ग्रन्थ भनेर मानेका छन्। मनु स्मृतिका उक्ति पनि भगवद्गीताका सूक्तिसँग मेल खान जान्छन्। अर्का जर्मन दार्शनिक 'हेगल' लाई भगवद्गीताको ज्ञानले यति धेरै छोएछ कि, भगवद्गीताको तीन वटा अध्यायका केही श्लोक जर्मन भाषामा उल्थै गरे। हेगल भन्छन्, कृष्ण उच्चकोटीको व्यक्तित्व, "एक्सीलेण्ट अमंग अल"। त्यसैगरि अन्य थुप्रै पाश्चात्य साहित्यकार, वैज्ञानिकले भगवद्गीता र वैदिक इतिहासलाई अध्ययन गरेका छन् । "जब मैले भगवद्गीता र ब्रह्माण्ड उत्पत्तिबारे पढेँ, तब मलाई यो सम्पूर्ण ब्रह्माण्ड नै बेकाम लाग्यो", यो भनाई महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको हो। भारतीय चिन्तक विजयकुमार भन्छन्, "यदि अल्बर्ट आइन्सटाइनले भगवद्गीता पहिल्यैदेखि पढेको भए, शायद उनी प्रथम दार्शनिक वैज्ञानिक हुने थिए र सापेक्षतावादको सिद्धान्तलाई अझ बढी मनन गर्न पाउने थिए।" अरु पनि दार्शनिक र चिन्तकको नाम लिँदा नोबेल पुरस्कार विजेता 'हर्मन हेस', 'हेनरी डेभिढ थोरो', 'अल्डस हक्सली' आदि लाई पनि लिन सक्छौं, जसले भगवद्गीता र त्यसमा लुकेको वैज्ञानिकतालाई प्रष्ट्याउन खोजेका छन्।

यी पाश्चात्य दार्शनिक, साहित्यकार, वैज्ञानिकको कुरा सुन्दा र उनीहरुको पूर्वीय दर्शन पट्टीको मोह देख्दा शायद हामी पूर्वीय वासिन्दा, खासगरी नेपालका वासिन्दा ‘नजिकको देवता हेला’ भन्ने उखानलाई त चरितार्थ गरिरहेका छैनौ, भन्ने जस्तो लाग्छ। किटान गरेर नै नेपाली भन्नुको तात्पर्य के हो भने, हामी महाभारत इतिहाससँग जोडिएका अविस्मरणीय पात्र हौं, जसमा यस ज्ञानसागरको एक एक ज्ञान कता कता हाम्रो ‘जीन’ मा लुकेको छ। हामी भौगोलिक हिसाबका साथसाथै वैचारिक हिसाबले पनि यस इतिहाससँग नजिक छौं।

दुःख र आश्चर्य यस विषय मा लाग्ने गर्छ कि, हामी केवल पौराणिक कथा र मेला जात्राका रमझममा मात्र अलमलिइरहेका छौं र कर्मकाण्डी दानदक्षिणा र भोजभतेरका रमझमलाई नै धर्म ठानेर अथवा ‘गुरुडम’ वादीहरुका फट्याईंमा फँसिरहेका छौं। जसले गर्दा मूल सनातन तत्व बुझ्न पाइरहेका छैनौँ। दिन रात कुनै देवमूर्ति अगाडि बसेर वा मालाका माला मन्त्रहरु जपेर, अथवा ताल बिनाका भजन गाएर हाम्रो उत्थान कदापी हुँदैन।

यथार्थमा हामी जबसम्म असली ज्ञानगंगाको भावधारामा प्रवेश गर्दैनौं तबसम्म हाम्रो उन्नति हुँदैन। जबसम्म हामीले आफ्नो संस्कृतिको वैज्ञानिक विश्लेषण र संरक्षण गर्दैनौं तब सम्म हामी अवनतिको बाटो अँगालिरहेका हुनेछौं। यो ध्रुव सत्य हो। ध्रुव पनि भगवानका भक्त थिए, तर उनले वैज्ञानिक भक्तिमार्ग अँगाले, त्यसैले सफल भए। गीतारहस्यको अध्ययनमा लागे मात्र भगवद्गीताको ज्ञान हामी बुझ्ने छौं। हामीले अँगाल्नु पर्ने असली बाटो यही हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell