PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रामचन्द्र पौडेल अब गीतकार



रामचन्द्र पौडेल अब गीतकार
तस्बिरः पौडेलको फेसबुकबाट

काठमाडौं :
“निलो आकाश नेपाली धर्तीको
रातो झण्डा चारतारे क्रान्तिको
बीपी सम्झेर नेपाल हेरेर……..”

यो गीतका लेखक हुन्, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल। राजनीतिक सभा, समारोह र सम्मेलनमा बीपीका विचार समेटेर भाषण गरिरहने पौडेलले राजनीतिज्ञ बीपी कोइरालाको सम्झनामा गीत लेखेका हुन्।

बीपीको विचार गाउँगाउँसम्म फैलाउन कांग्रेसले आइतवारबाट सुरु गरेको ‘बीपी विचार यात्रा’ लाई लक्षित गरेर पौडेलले गीत लेखेका हुन्। विराटनगरबाट सुरु भएको यात्राका क्रममा हुने सभा समारोहमा यो गीत बजिरहेको छ।

विमलराज क्षेत्रीको संगीत रहेको यो गीतमा संगीतकार क्षेत्रीसहित सूर्यकुमार क्षेत्री, कृष्णसुधा ढुंगाना, स्मृति शाही र पुष्पा बोहोराको स्वर छ।

गीतकार पौडेलले गीतमा बीपीलाई पक्राउ गरी काठमाडौं ल्याइएका स्थान र मार्गलाई पनि गीतमा समेटेका छन्। लोकलयमा गाइएको गीत ६ मिनेट ४२ सेकेन्डको छ।


“समानता स्वतन्त्रता समाज सभ्य बन्नु छ
भेदभाव मेटाएर अघि बढ्नु छ।
थिचिएका मिचिएका निमुखालाई न्याय
शोषिएका हेपिएका बिपन्नलाई आय।।
निलो आकाश…….।
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद रोज्दै
नेपालीको स्वाभिमान, सुखी दिन खोज्दै।
हामी चढ्छौँ भेडेटार ट्याम्केगाउँमा पनि
मेरो प्यारो ओखलढुंगा, रामेछाप भनी।।
निलो आकाश….”
नेता पौडेलले लेखेको गीत सुन्नुहोस्।

बीपी विचार यात्रा

बीपीको जन्मशताब्दीको अवसर पारेर कांग्रेसले बीपी विचार यात्रा सुरु गरेको छ। कांग्रेस उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले आइतबार विराटनगरबाट ‘बीपी विचार यात्रा’ शुभारम्भ गरेका हुन्। विराटनगर जुट मिलमा विक्रम सम्वत २००३ सालमा भएको मजदुर आन्दोलनका क्रममा नेताहरु बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणीप्रसाद कोइराला, गेहेन्द्रहरी शर्मा र युवराज अधिकारीलाई गिरफ्तार गरिएको थियो।

चैत १३ गते गिरफ्तार भएका उनीहरुलाई अड्डासार गर्दै मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै काठमाडौं ल्याइएको थियो। बीपी विचार यात्रा यिनै जिल्ला हुँदै काठमाडौंमा समापन गरिनेछ। बीपीसहितका नेतालाई ल्याइएको मार्गमा उनका राजनीतिक, आर्थिक, सामाजिक विचार फैलाउने यात्राको उद्देश्य छ।

बीपीले आफ्नो आत्मवृतान्तामा विराटनगरदेखि काठमाडौं ल्याउन तीनहप्ता लागेको उल्लेख गरेका छन्।

१९७१ सालमा भारतको बनारसमा जन्मेका बीपीको २०३९ साल साउन ६ गते निधन भएको थियो। नेपालमा प्रजातन्त्र स्थापानाका लागि राजनैतिक नेतृत्व प्रदान गरेका बीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। २०१५ सालको आम निर्वाचनमा वहुमत ल्याएपछि उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए।

तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार बर्खास्त गरेपछि उनी भारत निर्वासित भए। बीपी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केका थिए। बीपीका नामले राजनीतिमा चर्चित कोइराला विशेश्वरप्रसादका नाममा साहित्यमा चर्चित छन्।

बीपी विचार यात्रा भदौ २४ गते काठमाडौंको सुन्दरीजलमा समापन गरिने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell