PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाढी पहिरोको अवस्था अवलोकनका लागि एक साता संसद् स्थगित



पहिलोपोस्ट-
काठमाडौँ: प्रतिपक्षी दलहरुको माग बमोजिम देशभर आएको बाढी पहिरोको अवस्थामा सभासद्हरुलाई निर्वाचन क्षेत्र फर्कन संसद बैठक एक साताका लागि स्थगित भएको छ।

संसद बैठक आउँदा ९ गतेसम्मका लागि स्थगित गरिएको हो। सभामुख सुवासचन्द्र नेम्वाङले संसद बैठक ९ गते सम्मका लागि स्थगित गरेका हुन्।

सोमबार एकीकृत नेकपा माओवादीले देशभर विपत्तिको अवस्था रहेकाले सभासद्हरु जिल्ला जान जरुरी रहेको भन्दै समय माग गरेको थियो।

एमाओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरेलले सरकारले देशभरको बाढी पहिरोपीडितको समस्या समाधानका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने तथा सभासद्लाई जनताको बीचमा जाने अवसर दिनुपर्ने माग गरेका थिए।

उनले जिल्लातर्फ जान सभासद्लाई समय आवश्यक रहेको बताएका थिए। प्रतिपक्षी दलहरुले राष्ट्रिय विपद्को घोषणा गर्न तथा बाढी पीडितलाई राहत कार्यक्रम ल्याउन माग गर्दै संसद अवरोध गरेका थिए।

संसद अवरोध र सुचारु
प्रतिपक्षी दलहरुको विरोधका कारण आधा घण्टाका लागि स्थगित भएको संसद बैठक गृह तथा उपप्रधानमन्त्री वामदेव गौतमले जवाफ दिएपछि सुचारु भएको छ। गौतमले संसद बैठकमा बाढीका कारण भएको क्षती र राहत तथा उद्दारका विषयमा जानकारी गराएका थिए।

त्यसअघि प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी सहित विपक्षी दलहरुले देशभर बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै राष्ट्रिय विपत्ति घोषणा गर्न माग गर्दै सदन अवरुद्ध गरेका थिए।

सोमबार सदनमा समय लिएर प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले सरकारले अविलम्ब राष्ट्रिय विपत्तिको घोषणा गरेर तत्कालीन र दीर्घकालीन ठोस योजना बनाउन माग गरेका हुन्। उनले सभासद्हरुलाई जनताको भावना बुझ्न स्थानीय क्षेत्रमा जान समय दिनुपर्ने समेत धारणा राखेका थिए।

प्रचण्डले आफू सरकारमा रहँदा कोसी बाँध फुट्दा राष्ट्रिय विपत्ति घोषणा गरिएको उल्लेख गर्दै अहिलेको क्षति सयौँ गुणा धेरै र भयानक हुदाँ समेत सरकारले भैपरी आउने विपद् झैँ गरी सामान्य रुपमा लिएको आरोप लगाए। प्रचण्डले भने, 'कोसी बाँध फुटेको क्षति भन्दा अहिले भयानक क्षति भएको छ। हजरौँ हेक्टर जमिन बगेको छ। क्षतिको प्रकृति सयौँ गुना बढी छ। यो अवस्थामा सरकार भैपरी आउने विपद् हो भने जस्तै गरी सामान्य रुपमा लिने काम गरेको छ।'

अहिलेको बाढी पहिरोले श्रृजना गरेको अवस्था राष्ट्रिय संकटको स्तरमा रहेको उल्लेख गर्दै प्रचण्डले कुनै मन्त्रालयले हेर्न नसक्ने दावी गर्दै प्रधानमन्त्रीको नेतृत्वको काम गर्नुपर्ने बताए।  

'सयौँ मानिस बेपत्ता छन् पशु चौपाया मरेका छन्। महामारी फैलन सक्ने समस्या छ। यसलाई सामान्य रुपमा नलिइयोस्।'प्रचण्डले भने, 'राष्ट्रिय विपद् घोषणा नगरे आउने दिनमा थप विपद् आउन सक्छ। राष्ट्रिय अन्तराष्ट्रिय पहल गर्नुपर्छ।'

प्रचण्डले तुरुन्तै घरबारविहीन भएकाहरुलाई बसोबासको ब्यवस्था मिलाउन र दशैँ तिहार छठ जस्ता चाडपर्व आउन लागेकोले कम्तिमा तीन महिनाको खाद्यान्न र लत्ता कपडा र बासको ब्यवस्था गर्न माग गरेका थिए।

प्राकृतिक विपत्तिविरुद्ध लड्न समिति बन्ने
प्रमुख प्रतिपक्षि दल एकीकृत नेकपा माओवादीले राष्ट्रिय विपत्ति विरुद्ध लड्न माग गरे अनुसार प्रधानमन्त्रीको नेतृत्वमा समिति बनाउने सहमति भएको छ। समितिमा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य तथा उपप्रधान तथा गृह मन्त्री समेत रहने समिति गठन गर्ने समहति भएको हो। सहमति पछि संसद सुचारु भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell