PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गौर हत्याकाण्डदेखि विपक्षी गठवन्धनसम्म, नीति हराएको शास्त्र राजनीति



  • ऋषिकेश दाहाल -

२०६३ चैत ७ गते रमिता थियो गौरको राइसमिलमा। माओवादी र मधेसी जनअधिकार फोरमका फरक फरक जुलुस निस्किने तयारीमा थिए। राइसमिल चौरको दुईतिर दुई मञ्च बनिसकेका थिए।

माओवादी शान्ति प्रकृयामा आएको वर्षदिन पूरा भएको थिएन। युद्धको धङधङीले लपक्कै लपेटेका क्रान्तिकारी युवाहरु सभाको तयारीमा सक्रिय थिए।
 
अर्कातिर नेपालको अन्तरिम संविधान २०६३ जलाएर अस्तित्वमा आएको थियो मधेसी जनअधिकार फोरम। फोरम पनि कम क्रान्तिकारी थिएन। संविधानमा जलाएको आगो तराईतिर पूरै सल्किसकेको थियो। त्यही आगोको रापमा लामो समय तराई रन्कियो। आन्दोलनको ताप राजधानी पुगेपछि अन्तरिम संविधान संशोधन भयो।

हतियार उठाउनसमेत तयार भन्दै मधेसको मसिहाका रुपमा उदाए उपेन्द्र यादव। १० वर्षे माओवादीजस्तै तराईको मुद्दालाई लिएर 'परम्परावादी' पार्टीलाई पछि पारिसकेका यादवको फोरमले संविधान संशोधनपछि गर्ने आन्दोलनलाई शान्तिपूर्ण बनाउने निर्णय गर्‍यो। त्यही पृष्ठभूमिमा फोरमका 'जुझारु' कार्यकर्ता सभा भब्य बनाउन जुटिसकेका थिए।
 
ठाउँ ठाउँबाट जुलुस निसक्न थाले। माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ता आफ्नो क्रान्तिकारीता पुष्टि गर्ने प्रतिस्पर्धामा थिए।
राजनीतिक प्रतिस्पर्धा क्रमश: हिंसात्मक दिशातिर मोडिँदै थियो।

नभन्दै एकअर्काका मञ्चमाथि कब्जा गर्ने होड चल्यो। लाठीमुग्रीसहित उत्रिएका दुई क्रान्तिकारीको भिडन्त सुरु भयो।

गोली चल्यो।

लाठी हानाहान र भागदौड सुरु भयो।

राइस मिलको चौर रणमैदान बन्यो।

भारतीय भूमिबाट आएका 'लडाकुहरु' पनि यो भेलमा मिसिए। गोली बर्सनेक्रम सुरु भयो।

भिडन्त सत्तापक्ष र विद्रोहीबीचकै थियो। माओवादी सत्तामा र मधेसी जनअधिकार फोरम क्रान्तिमा। माओवादीले गाउँमा सुविधाविहीन प्रहरी चौकी उडाए झै यहाँ माओवादीका कार्यकर्तालाई मधेसी जनअधिकार फोरमका लडाकुले पछार्दै थिए। हेर्दा हेर्दै २७ जना माओवादी लडाकु मारिए। कोही गोली खाएर मरे। कोही लाठीकै मार खप्न नसकेर। केही त कुटाइपछि आगोले झोसिएर पनि मारिए। अनि केही ढुंगाको प्रहारबाटै पनि। महिला पनि मारिए। यो भीषण युद्धमा प्रहरी मुक दर्शक रह्यो।

माओवादीको जनयुद्धमा प्रहरी मारिएकै थिए यहाँ उनीहरु मर्न परेन। नेपालको १० वर्षे लामो जनयुद्धपछि भएको बृहत शान्ति सम्झौतापछिको यो सबैभन्दा ठूलो हत्याकाण्ड थियो। यसले मुलत: दुई दल नेकपा माओवादी र मधेसी जनअधिकार फोरम सत्रुका रुपमा स्थापित भए। माओवादीका एक अर्का लडाकु अस्पतालमै मरेपछि २८ जना पुगे मारिने। युद्धपछिको नयाँ युद्धमा सत्रुको दोभान बन्यो रौतहटको चौर।

*****************

८ वर्ष पूरा भयो रौतहट नरसंहारको। १२ वर्षमा खोला फर्किन्छ भन्ने कथनीलाई छोट्याउँदै त्यतिखेरका क्रान्तिकारी सत्रुहरु माओवादी र मधेसी जनअधिकार फोरम अहिले एउटै मोर्चामा छन्। देख्दा उनीहरुको एउटै उद्देश्य छ - 'सहमतिमा संविधान बनाउने'।

एक अर्कालाई मार्दा भाला, ढुंगा र गोलीको पर्रा छुटाउन पछि नपरेका यी दुई दलका धेरै कार्यकर्ताले गौर हत्याकाण्डलाई सायद विर्सेका छैनन् तर नेताहरुले विर्से। मारिएका २८ माओवादीका जुझारु लडाकुलाई न माओवादीले सम्झ्यो। न मधेसी जनअधिकार फोरमले हत्याको जिम्मेवारी लियो।

ठीक विपरित आन्दोलनका कार्यक्रमहरुमा जुट्न यी दुई क्रान्तिकारी दलका नेताहरु कार्यकर्तालाई अग्रसर गराइरहेका छन्। यी दुई शीर्ष दलसँग अन्य २८ दलहरु पनि मिसिएका छन्। संख्याको हिसाबले अहिले सबैभन्दा ठूलो मोर्चा यी दुई दलसँग छ। तर यी दुवै दलले थालेको आन्दोलन आफ्नै भूमरीमा भाँसिएको छ।

तराईमा स्थापित दलका नेताहरु माउ पार्टी छाड्दै फोरमकै स्वरुप बन्ने होडमा लागे। पहिलो संविधानसभाको निर्वाचनले यिनलाई बलियो पनि बनायो। तर दोस्रो संविधानसभाको निर्वाचनले तराईका दलहरु धरमराए। 

अनि माउबाट चोइटिएका मधेसी नेताहरु क्षेत्रीय राजनीतिमा अस्तित्व खोज्दा खोज्दै हराउनेक्रम सुरु भयो र कुनै पनि वाद र सिद्धान्तविनै एक ठाउँमा जुट्न थाले। जुटिरहेका छन्- माओवादी र मधेसी जनअधिकार फोरम झै।

***************


चैत ९ गते। आठ वर्ष अघि काठमाडौंबाट सेनाको हेलिकप्टरमा उडेर गौर उत्रेको दिन। जिल्ला अस्पताल रौतहटमा सन्नाटा। कर्फ्युको घोषणा। गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरा मलिन अनुहारमा हेलिकप्टरबाट उत्रिए। एमाले महासचिव माधवकुमार नेपाल पनि सँगै। राष्ट्रसंघीय मिसन अनमिनका प्रतिनिधि पनि घटनास्थलतिरै पुगेका थिए।

प्रहरी लास खोज्न गहुँबारीभित्र भित्र पसिरहेका थिए। बाँच्नका लागि हतियार नलिइ कोही पनि बसेका थिएनन्। गाउँ शून्य। बजार पूरै बन्द।
 
हातमा रहेको क्यामरा लिएर जिल्ला अस्पताल भित्र छिर्दा हेर्न सकिने स्थिति थिएन। मानिसका मुखमा झोसिएको आगो !

क्लिक... क्लिक...क्लिक

तराईको तातोमा लाशबाट वास आउन थालिसकेको थियो। क्लिक गरेका तस्बिर न देखाउन सक्छु न प्रयोग नै गरेँ मिडियामा।

अस्पतालभित्र राखिएका लासबाहेक बाहिर पनि छरपस्ट। तर कात्रोले छोपिएका लासका खुट्टालाई मात्र खिचेर असाइनमेन्ट पूरा गरेँ। २ सय क्लिकमा २० वटा पनि प्रयोग गर्न लायक थिएनन फोटाहरु। मारिएका सबै माओवादी थिए। तिनलाई कुटेर, घाइते भएपछि ढुंगाले किचेर, आगोले पोलेर, भालाले घोचेर मारिएको थियो।

***************

त्यतिखेरको अवस्था याद आयो एकाएक। अनि मारिएका युवाहरुको मुहार सम्झेँ। माओवादी र मधेसवादी दुवैका क्रान्तिका नारा पनि गुञ्जिए कानमा। तर बुझेको यथार्थ भनेको एकमात्र हो नेपालको राजनीति वाद र विचारविमुख छ। गौर हत्याकाण्डमा मारिएका माओवादी लडाकु सायद सहिद बनाइएका होलान। तिनका परिवारले केही रकम राहत पनि पाए होलान। सोच्छु के नेपालको राजनीतिमा 'नीतिशास्त्र'ले कहिल्यै काम गर्ला ?

- See more at: http://www.pahilopost.com/content/-3022.html#sthash.0F4RkZsX.dpuf



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell