PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यही ४ नम्बरको फ्रिजभित्र छ नन्दप्रसादको लास



यही ४ नम्बरको फ्रिजभित्र छ नन्दप्रसादको लास
तस्बिर : पत्रकार कनकमणि दीक्षितको ट्विटरबाट

  • ऋषिकेश दाहाल -
काठमाडौं : पत्रकार कनकमणि दीक्षितले ट्विटरमा पोस्ट गरेको माथिको तस्बिर के को हो चिन्नुहुन्छ ? पख्नुस् भनिहालौं ४ नम्बर लेखिएको यो एउटा फ्रिज हो। फ्रिजमा नन्दप्रसाद अधिकारी छन्। होइन, उनको लाश छ यसभित्र। नन्दप्रसादले यो फ्रिज 'अकुपाई' गरेको २ सय दिन पुग्ने तरखरमा छ।

छोराको हत्यारालाई कारबाही होस् भन्ने माग गर्दै न्यायका लागि अनशनमै उनको प्राण गयो। मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक दलको नेतृत्व सत्तामा रहँदा उनको प्राण उड्यो। आखिर के भयो त ? सरकार मौन रह्यो। २०७१ असोज ६ यता यही छ उनको लाश। फ्रिजभित्रै कैद भयो उनको न्याय। मूलत: उनले उठाएका मुद्दा नन्दप्रसादसँगै यही बाक्साभित्र कैद भएको छ।
 

'न्याय मिलेको छैन'

नन्दप्रसाद न्याय माग्दा माग्दै बिते। उनकी पत्नी अझै न्यायको आशामा छिन्। त्यसैको बलले उनलाई मन छैन – नन्दप्रसादलाई जलाउन। स्वीकृति दिएकी छैनन् उनले सरकारलाई।

सत्ता त न्यायको घाँटी रेटेपछि खरानी बनाउन हतारिन्छ। तर, जलेपछि बन्ने खरानीले न्याय बल्यो कि अन्याय कसरी भेद गरोस् ?
केही अघि पहिलोपोस्टले मुलुकको न्याय मन्त्रालय थामिरहेका मन्त्री नरहरि आचार्यलाई सोधेको थियो – के भइरहेको छ बाक्सामा थुनिएको न्यायको ? मतलव लाशको ?

भावुक स्वभावका मन्त्री आचार्यले जोरजुलुम गरेर लाश जलाउन नसकेको बताएका थिए। छोरा सम्पर्कमा रहन्नन्। पत्नी न्यायको पर्खाईमा छिन्। 'परिवारका सदस्य नभएका भए सरकारले दाहसंस्कार गर्न सक्थ्यो,' मन्त्री आचार्यले भनेका थिए, 'उहाँको चाहनाविपरित हामीले शव जलाउन मिलेन।'

यतिखेर चिकित्सक डा गोविन्द केसी अनशनमा छन्। उनको पाँचौ पटकको अनशन हो। नन्दप्रसादको न्याय त्यही शिक्षण अस्पतालको लासघरभित्र छ जहाँ केसी न्यायका लागि लडाई लडिरहेका छन्। दीक्षितले ट्विट गरेर न्यायको तस्बिर फेरि देखाएपछि तिलमिलाउँदो बनाएको छ : न्याय लासघरभित्रको ४ नम्बरको बाकसभित्र कहिलेसम्म कैद भइरहन्छ हँ ?
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell