काठमाडौँ : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक प्रकाश अर्याललाई सर्वोच्च अदालतले सात दिनभित्र माओवादी नेता तथा पूर्व सभासद् बालकृष्ण ढुंगेललाई पक्राउ गर्न आदेश दिएको छ।
अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई पक्राउ वारेन्टको माग गर्दै दायर गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सुनुवाई गर्दै डा. आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।
'आफू र आफू मातहतको सम्पूर्ण प्रहरी संरचना परिचालन गरी जो जससँग समन्वय गर्नुपर्ने हो सो त्यहाँबाटै गरी आदेश बमोजिम प्रतिवादी निज बालकृष्ण ढुंगेललाई निज जहाँ भए पनि खोजतलास गरी ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई यस अदालतमा प्रतिवेदन पेश गर्नू भनी नेपाल प्रहरीका महानिरीक्षकका नाउँमा यो आदेश जारी गरिएको छ', फैसलामा उल्लेख छ।
गएको महिना ढुंगेलले आफ्नो गृहजिल्ला ओखलढुंगामा भएको नागरिक अभिनन्दनका क्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ, मन्त्रिपरिषद पूर्व अध्यक्ष खिलराज रेग्मी, आफूविरुद्ध मुद्दा लगाउने, फैसला गर्ने, पक्राउ गर्न आउने जोकोहीको फिला चिरिदिने भनी भाषण गरेको अडियोसहितको समाचार मिडियामा आएको थियो।
यसअघि फैसला कार्यान्वयन निर्देशनालयले चैत २७ गते गृह सचिवलाई, फागुन १८ गते प्रहरी प्रधान कार्यालयलाई र पुस ७ गते प्रहरी महानिरीक्षकको सचिवालयलाई सम्बोधन गरी फैसला कार्यान्वयनका लागि पत्र लेखिसके पनि कार्यान्वयन हुन नसकेपछि यसपटक सर्वोच्चले सीधै प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको हो
आदेशमा अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा अपराधीलाई लुकाउने वा लुक्न भाग्न मद्दत गरेमा कानुन चप लागेर नबस्ने भन्दै अदालतको आदेश वा फैसलाको अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सकिने प्रावधानसमेत संविधानको धारा १२८ को उपधारा ४ मा रहेको कुरातर्फ सचेत गराएको छ।
अदालतले आफ्नो आदेशमा भनेको छ, 'ढुंगेलले दिएका अभिव्यक्तिहरु आपत्तिजनक एवं अशोभनीय भएको भन्दै सर्वोच्च अदालतको फैसला अनुसार कैद सजाय लागेका व्यक्तिले अदालतको फैसलाको अवज्ञा र अनादर गर्दै भाषण गरी हिँड्ने र निजका आपत्तिजनक अभिव्यक्तिहरु सूचना सञ्जाल युट्युब तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा हालसम्म प्रसारित/प्रकाशित भइरहनु कुनै रुपमा पनि स्वीकारयोग्य हुन सक्दैन।'
अदालतबाट सजाय पाएको व्यक्ति फैसला मान्दिनँ, खारेज गर्छु भन्ने र फैसला गर्ने था न्यायपालिकाको नेतृत्व गर्ने न्यायाधीश तथा प्रधानन्यायाधीशप्रति अमर्यादित, आपत्तिजनक र भौतिक आक्रमण जस्ता धम्की दिने र कानुन कार्यान्वयन गर्नुपर्ने निकायहरु मूकदर्शक बन्ने स्थिति रहेमा यस मुलुकमा अदालत रहनु वा नरहनुको कुनै अर्थ रहँदैन', आदेशमा उल्लेख छ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्व सभासद् बालकृष्ण ढुंगेललाई प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेशको आदेश जारी गरेको थियो।
सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्चबाट दोषी ठहर भएपनि ढुंगेललाई प्रहरीले पक्राउ गरेको थिएन।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा तत्कालीन सरकारले २०६८ साल कात्तिक २२ गते ढुंगेललाई आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। ढुंगेललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध मृतक श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले २०६८ साल मङ्सिर ४ गते सर्वोच्चमा मुददा दायर गरेकी थिइन्। यसैमा सुनुवाई गर्दै सर्वोच्चले आममाफी नदिन आदेश दिएको थियो।
यसरी भएको थियो श्रेष्ठको हत्या
इन्सेकअनलाइनका अनुसार ओखलढुंगाको पोकली गाविस-२ लेती निवासी ४५ वर्षीय उज्जनकुमार श्रेष्ठलाई सोही जिल्लाको टारकेराबारी गाविस- ७ मा पर्ने खहरे खोलामा नेकपा माओवादीका कार्यकर्ताले ०५५ असार १० गते बिहान ३.०० बजेतिर गोली हानी हत्या गरेका थिए।माओवादीको सुराकी गरेको र गाउँका महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादीले धम्की दिने, चन्दा माग गर्ने गरे पनि उनले माओवादीलाई चन्दा दिएका थिएनन्।
घटना भएको दिन बिहान ३ बजे नै पसलको सामान किन्न भरिया थिरबहादुर खत्री र रामबहादुर श्रेष्ठलाई लिएर साँघुटार जाने क्रममा तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुङ्गेलसहितका कार्यकर्ताहरूले गोली हानेर हत्या गरेपछि शव लिखुमा बगाएको प्रत्यक्षदर्शी बताएका थिए।
घटनापछि उज्जनका दाजु गणेशले दिएको जाहेरीका आधारमा प्रहरीले गिरफ्तार गरेका दुई भरिया र उनकी कान्छी श्रीमतीका दाजुहरू थलबहादुर पौडेल र डोरबहादुर पौडेल अदालतको सजाय भुक्तान गरेर रिहा भएका थिए भने घटनाका अर्का दोषी पुस्कर गौतमलाई २०६९ चैत २ गते जिल्ला अदालत ओखलढुङ्गाले जन्मकैदको सजाय सुनाएको थियो।
सजाय सुनाइएका गौतमलाई काठमाडौँको बागबजारबाट २०७१ वैशाख ३१ गते प्रहरीले गिरफ्तार गरी केन्द्रीय कारागार, सुन्धारामा राखेको छ।