PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अवैध भिओआइपी सञ्चालन गर्ने बंगलादेशी नागरिक पक्राउ



अवैध भिओआइपी सञ्चालन गर्ने बंगलादेशी नागरिक पक्राउ

काठमाडौं : नेपालमा अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा प्रहरीले एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौंको खुशिबू बस्ने बंगलादेशी नागरिक २५ वर्षीय मोहम्मद हसन इक्बाललाई अवैध भिओआइपीमा प्रयोग हुने उपकरणसहित पक्राउ गरेको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए।

उच्च तहमा बंगलादेशी नागरिक रहेर नेपालमा अवैध भिओआइपी सञ्चालन गरेको र तत्पश्चात बंगलादेशी नागरिकले नेपाल आएर भिओआइपी सञ्चालन गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बंगलादेशी नागरिकले अवैध भिओआइपी सञ्चालनका लागि आवश्यक इन्टरनेट, सिम कार्ड रिचार्जकार्ड र कोठा भाडाका लागि नेपाली नागरिकलाई संलग्न गराएको भेटिएको छ। बंगलादेशीको सम्पर्कमा रहेका नेपालीले समेत पछि आफै वा आफ्न्तसँग मिली छुट्टै अवैध भिओआइपी सञ्चालन गरेको भेटिएको छ।

प्रहरीले युरोटेक गेटवे, ल्याप एक थान, डेस्कटप, सिमकार्ड ३१५ थान, ब्याट्री थान ३, इन्भर्टर थान २ लगायतका सामान प्रहरीले बरामद गरेको छ। 

उच्च तहमा रहेका व्यक्ति विदेशमा रहेर भिओआइपी व्यवसायको नियन्त्रण एवं रेखदेख गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ। हालका दिनमा होटल, लज, अपार्टमेन्ट र कोलोनी समेत भिओआइपी सञ्चालनका लागि प्रयोग गर्ने गरेको खुलेको नेपालमा सजिलै लुकिछिपी बस्न सक्ने, अन्तराष्ट्रिय आगमन कल महंगो हुने तथा आवश्यक सामान सजिलै पाइने भएकाले विदेशीको संलग्नता बढेको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले बताए।

दुरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ अनुसार कुनै व्यक्तिले बद्नियतसाथ दुरसञ्चार लाइन, दुरसञ्चार प्रणाली वा यससँग सम्बन्धित अन्य संरचना वा उपकरणमा प्रतिकुल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानी नोक्सानी पुर्‍याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा अपराध गरेको ठहर्छ। यस्तो अपराध भएमा वा गरेमा ऐनको सोही दफा अनुसार नै हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा ५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

नेपाल टेलिकम, एनसेल, युटिएल, सिजी टेलिकम, स्मार्ट टेल र नेपाल स्याटेलाइट टेलिकमले मात्र नेपालमा अन्तर्राष्ट्रिय गेटवेको अनुमति प्राप्त गरेका छन्।  यी बाहेका गेटवेबाट हुने अन्तर्राष्ट्रिय कललाई नेपालमा अवैध मानिन्छ।

कल वाइपासबाट राजश्‍व चुहावटसँगै संगठित अपराधीको चलखेल सहज भएको प्रहरीको ठम्याइ छ। नेपालमा अन्तर्राष्ट्रिय कलका लागि अनुमतिप्राप्त ६ संस्था बाहेकले गर्ने गेटवेमा संलग्न व्यक्तिलाई पहिचान गर्न गार्हो हुने प्रहरी बताउँछ। अवैध भिओआइपी मार्फत अपराध गर्नेले आफूलाई कानुनबाट बचाउने अवस्था रहने प्रहरीले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell