PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

वाग्मतीमा फोहर हुन नदिने कि सँधै सफा गरिरहने ?



वाग्मतीमा फोहर हुन नदिने कि सँधै सफा गरिरहने ?

  • ऋषिकेश दाहाल/पहिलोपोस्ट -
काठमाडौं : यी हुन् लक्ष्मण श्रेष्ठ। सुन्दरीजलका स्थायी वासिन्दा। यिनी वाग्मतीबाट डाँछी भद्रवास, इन्द्रायणी र थलीमा जाने पानीको पाइप हेर्न मुहानमा आइपुगेका छन्। वाग्मतीमा फ्याँकिएका बोतल र प्लास्टिक पन्छाउँदै यिनले मुहानको पानीलाई घरघरमा पुग्न सघाए। नजिकै देखिएका फोहर हटाए। यिनको हातमा रहेको सानो लौरोले पानी खोल्न मद्दत पुर्‍याइरहेको थियो।

'मुलखर्कबाट सोझै खोल्सामा ढल छाडेका छन्,' वाग्मतीमा देखिएको सङ्लो र कञ्चन पानी अशुद्ध रहेको सुनाइहाले यिनले। तर पत्यार लाग्दैन वाग्मतीको पानीमा नाला मिसिएको छ भन्ने।

 
सायद माथिदेखि नै फिल्टर भएर आएकाले हुनुपर्छ मुहानमा पानीको रुप नविग्रिएको।
'मैले पटक पटक झगडा गरेको छु। ट्वाइलेट बनाउन लगाउने अनि सेफ्टिट्याङ्क चै बनाउन नपर्ने रे ? ,' मुहानबाट २०० मिटर दुरीमा वाग्मती किनारको घर औल्याउँदै उनले भने, 'उ त्यो ट्वाइलेट देख्नुभयो नि। त्यसको सेफ्टिट्याङ्की नै छैन। सोझै वाग्मतीमै झर्ने हो।'

मुहानमा पानी सफा गर्दै भेटिएका लक्ष्मणसँग छोटो कुराकानी गरेपछि सुन्दरीजलबाट बजारतिर झर्दा घर र तिनमा रहेका चर्पीबाट वाग्मतीतिर झारिएका पाइप प्रस्ट देखिन्थ्यो। चर्पीबाट पाइप वागमतीसम्म पुगेका छैनन्। बीच घारीबाट खुलारुपमा तलतिर झर्छ मानव मलमुत्र। हेर्दा रसाउँदै माथितिरबाट पानी झरेकोजस्तो प्रतीत हुन्छ। सुन्दरीजल बजारको पानी प्रशोधन गर्ने केन्द्रबाट केही माथि रहेको जलविद्युत केन्द्रको पावरहाउस छेउबाटै एउटा नाली वाग्मतीतिर झर्छ। यो धेरै घरबाट निस्कने फोहरको संगठित नाला नै हो। यसभन्दा माथि खुलेका रेस्टुराँले वाग्मतीसँगै सटाएर चर्पी बनाएका छन्। चर्पी बनाउन खर्च कम परेको छ किनकि चर्पीको प्वाल सोझै वाग्मतीको वहावसँग जोडिएको छ। 
सुन्दरीजल बजारको बाक्लो बस्तीबाट करिब ५० मिटर गहिरोमा रहेको वाग्मतीमा सोझै नाली र फोहर ओइरिन्छ। बजारभन्दा तीन सय मिटर माथिको वाग्मतीको पानी र बजारबाट २ सय मिटर तलको मेलम्ची सुरुङ जोड्ने पुलबाट हेर्दा वाग्मतीको रुपमा आकाश जमीनको अन्तर भेटिन्छ। वस्ती बाक्लिँदा वाग्मती कुरुप हुनेक्रम यहीबाट सुरु हुन्छ। सहरले प्रकृतिको रुपलाई कुरुपतिर कसरी धकेल्छ यहीँबाट देख्न पाइन्छ।

वागद्वारको तुर्तुरे धारोबाट झरेको पानीमा थुप्रै सहायक खोलाहरु जोडिएर वाग्मतीले नदीको रुप पाउँछ। नागमती र स्यालमती वाग्मतीको प्रवाह बढाउने अर्को प्रमुख खोला हुन्। यसबाट आउने पानी शुद्ध नै देखिन्छ। वस्तीबाट यसको दुरी टाढा रहेकाले पनि पानीमा असर नपरेको हो।

हिउँदे सिजन भएकाले वाग्मतीमा पानीको प्रवाह छैन। वाग्मतीको ठूलो भल हेर्न उपत्यकाको अन्तिम निकाश चोभार गल्छी पुग्नुपर्छ। यहाँ पुग्दा वाग्मती गड्गडाउँदै बगेको देख्न सकिन्छ। वाग्मतीसँगै विष्णुमती, मनोहरा, धोविखोला, टुकुचा आदि जोडिएकाले चोभार पुग्दासम्म वाग्मतीको आयतन बढेको छ। तर, यो आयतनले बढाएको गडगडाहटमा पानी कम र मानव मलमुत्रको योगदान बढी छ।
 

वाग्मती सभ्यता र प्रदुषण

वाग्मती एउटा नदीमात्र होइन उपत्यकाको सभ्यता पनि हो। वाघको मुखाकारबाट झर्ने पानी भएकाले वाग्मती नाम पाएको यो नदी सुन्दरीमाई, उत्तरवाहिनी, गोकर्णेश्वर, पशुपतिनाथ, टेकु हुँदै जलविनायक मन्दिर पुगेर काठमाडौं उपत्यको यात्रा गर्छ। मुहानदेखि उपत्यका छाड्दासम्म दायाँतर्फ मठ र तीर्थस्थल तथा घाट रहेका छन्। संस्कृतिसँग यसैकारण पनि वाग्मती जोडिने गर्छ।

वाग्मती प्रदुषणलाई यहाँको सहरी विकाससँग जोडेर हेर्नुपर्ने हुन्छ। करिब ३ सय ५४ वर्ग किलोमिटर क्षेत्रफलको काठमाडौंमा विसं २०३० को दशकमा ३ वर्गकिलोमिटरमा यहाँका सबै घर समेटिन्थ्यो। त्यसको १५ वर्षपछि करिब ७० वर्गकिलोमिटरमा घरहरु बनिसकेका थिए। त्यसपछि बस्ती विकास यति तीब्र गतिमा भएको छ कि अब काठमाडौंमा खुला जमिन भेट्न कठिन हुने अवस्था भइसक्यो। 'घर बढ्नेक्रमले नै नदी प्रदुषण कुन स्तरमा पुग्छ भन्ने वाग्मतीको अहिलेको अवस्थाले देखाउँछ,' फोहरमैला व्यवस्थापन तथा भू वातावरण इन्जिनियर ढुंडिराज पाठक भन्छन्, 'अव्यवस्थित बस्ती विकाससँगै प्रदुषणको क्रम बढ्दै गयो र वाग्मती अस्तित्वहीन हुँदै गयो।' धनी संस्कृतिलाई जोड्ने वाग्मतीमाथि मानवको दानव दृष्टि भने सहरीकरणसँगै फेलिएको हो। २०५२ सालमा वाग्मती बचाउने अभियान (तात्कालीन वाग्मती ढल सुधार आयोजना) स्थापना भएर २०५४ सालमा अध्ययन गर्दा यहाँ रहेका ३ लाख जनसंख्याबाट विसर्जित मलमुत्रलाई ढलबाट गुहेश्वरीसम्म पुर्‍याउने र त्यहाँ प्रशोधन गरेर प्रशोधित पानी वाग्मतीमै मिसाउने रणनीति लिइयो। वाग्मतीमा मानव मलमुत्रबाट पानी छुट्याएर वाग्मतीमै मिसाउँदा गुहेश्वरीको आडैमा रहेका पशुपतिनाथमाथि अन्याय हुने भन्दै प्रशोधित पानी तिलगंगामा पुर्‍याएर वाग्मतीमा मिसाइन थालियो।

रोचक त के रह्यो भने सुरुदेखि नै ढल प्रशोधनले प्रशोधन गरेन केवल ढललाई बाइपास गरेर सुरुङबाट तिलगंगातिर पठायो।
 

नदीबाट नालीको सुरुवात

२०५४ साल। नेपाल गलैचा उद्योगको स्वर्णिम युगबाट भासिने बाटोतिर जाँदै थियो। र, काठमाडौंको पूर्वी भेग (चाबहिलदेखि जोरपाटीसम्म) गलैचाको औद्योगित क्षेत्र बनिसकेको थियो। गलैचा उत्पादन र त्यसको डाइङ (केमिकलसहित धुने) असंख्य र अनियन्त्रित रुपमा फैलिसकेका थिए। तिनबाट निस्कने विषाक्त झोल वाग्मतीमा थपिँदै थिए। यसैको असर थियो पूर्वी काठमाडौंको अव्यवस्थित बस्ती विकास। घर त बने तर ढल सोझै वाग्मतीतिरै सोझिन थाल्यो।

ठीक यतिखेरै वाग्मती दोहन चर्कोरुपमा भइरहेको थियो। वाग्मतीबाट बालुवा निकाल्ने र बेच्न सरकारले नै ठेक्का खुलाएको थियो। एकातिर ढल सोझै वाग्मतीतिर ओरालिन थाल्यो भने अर्कोतिर वाग्मती गहिरिन थाल्यो। बालुवा झिक्नेक्रम यति धेरै बढ्यो कि वाग्मती कम्तिमा ५ मिटरदेखि २० मिटरसम्म गहिरियो। वाग्मतीमा बालुवा सकियो। वाग्मतीमा थिग्रेर रहन थाले झिन्जु (गलैचा कटिङबाट निस्केको धुलो)।
पानीमाथि ढल मिसनेक्रमबाट ढलमाथि वाग्मती मिसिनेक्रम सुरु भयो। वाग्मतीका चर्चित घाटमा पर्व पर्वमा लाग्ने मेलाहरु बन्द हुन थाले। वाग्मती स्नान गरेर पाप मोचन गर्नेहरु वाग्मतीसँग दुर हुँदै गए। वाग्मती नै नालीको कुण्ड बन्न पुग्यो। करिब करिब वाग्मती सभ्यता समाप्तितिर धकेलियो।
 

वाग्मती सफाइ लीलामणिको लीला   

वाग्मती नदीमा झरिरहेको यो दृष्य जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट आएको ढल हो। वाग्मती सफाइको १०० साता पूरा हुनुभन्दा दुई साताअघिको हो यो दृष्य। त्यतिखेर पनि अविरल रुपमा यो नाली वाग्मतीमाथि झरिरहेको थियो। नेपाल सरकारका मुख्य प्रशासक लीलामणि पौडेलको लीलाले प्रचार र तारिफ जतिसुकै बटुलिरहोस् यहाँबाट झर्ने ढलमा नियन्त्रण आएको थिएन। तर, वाग्मतीमा साङ्ले जुलुस हुनु केही दिनअघिदेखि यो ढलबाट वाग्मतीमा पानी झरेको छैन। यो ढल दीर्घकालकै लागि बन्द भने भएको होइन। यो ढल मुख्य सचिव लीलामणि पौडेलले गुहेश्वरीमा नुहाउँदा पनि यसैगरी सुख्खा भएको थियो। त्यतिखेरको क्याम्पेनिङ सकिएपछि फेरि यो पुरानै रुपमा अनवरत चल्दै आएको थियो।

रोचक त के छ भने यहाँसम्म आइपुग्दा वाग्मतीको दुवै किनारामा ढल गाडिएका छन्। दुवै किनारामा पिच सडक पनि छ। दुईतिर ढल हालेर नाली नियन्त्रण गर्दा गर्दै पनि 'वाग्मतीको बहावलाई बलियो बनाउन' थपिएको यो ढलले वाग्मती सफाइ अभियानलाई गिज्याइरहेको देखिन्थ्यो। वाग्मती सफाइको १०० साता पूरा हुँदा वाग्मतीमा कुनै परिवर्तन भेटिएको छ भने त्यो किनारामा मात्र देखिन्छ।

'वाग्मती सफा पारौं भनेर यहीँबाट पटक पटक र्‍याली निकालियो। सफा गर्न मानिसहरु पनि जुटे,' माकलवारीमा स्टेसनरी व्यवसाय चलाउँदै आएका दीपेन्द्र तिमल्सिनाले भने, 'हो हल्ला जति गरे पनि ढलबाट नाली वाग्मतीमा आएकै छ। कसैले त्यसलाई रोक्न खोजेको छैन।'
त्यसो त वाग्मती सफा भइसकेको तर्क हुँदै आएको छ। वाग्मती सफा बनाएको प्रचारसहित सरकारी अधिकारीहरुले गुहेश्वरीमा स्नान समेत गरेका थिए। के अहिले त्यही ठाउँमा नुहाउन सक्छन् त उनीहरु ? 

लीलामणि पौडेलको अनवरत सक्रियताले चलेको अभियानको सबैभन्दा ठूलो सफलता भनेको प्रचार नै हो। 'वाग्मतीको रुप केही फेरिएकै हो,' वाग्मती सफाइ अभियानमा सक्रिय तथा हाम्रो जोरपाटी राम्रो जोरपाटी अभियानका अध्यक्ष बटुकृष्ण ढुंगेल भन्छन्, 'उनको अहिलेको अभियानले वाग्मती सभ्यता बचाउनुपर्छ भन्ने पारेको छ। यति धेरै फोहर गरेका छौं कि सफा हुन पनि समय लागिहाल्छ।'

सिंहदरबारबाट निस्कने ढल सोझै टुकुचामा मिल्छ। टुकुचा टेकुमा पुगेर वाग्मतीमा विसर्जन हुन्छ। मुख्य सचिव आफैँ सिंहदरबारको ढल वाग्मतीमा पुग्छ भनेको सुन्दा चकित भएको समाचार सार्वजनिक भएको थियो। नीति निर्माणको केन्द्रबाट निस्कने नाली वाग्मतीमा मिसिनेक्रम अझै रोकिएको छैन, वाग्मती बचाउने नीति अझै बनेको छैन तर १०० हप्ता सेलिब्रेसन भइसकेको छ।
 

उठाउने प्लास्टिक, भन्ने वाग्मती सफाइ

सुन्दरीजलदेखि वाग्मतीले उपत्यका छाड्ने चोभार गल्छीसम्म अवलोकन गर्दा वाग्मती सफाइ भ्रमभन्दा बढी केही छैन भन्ने प्रस्टन्छ।
हो यसबीचमा वाग्मती किनारा धेरै सुधारिएको छ। वाग्मतीका किनाराबाट प्लास्टिकहरु हटेका छन्। वाग्मती सफा गर्नुपर्छ भन्ने एक किसिमको जागरण पनि पैदा भएको छ। तर वाग्मती सफाइको अभियानमा जुट्न मुखमा मास्क र हातमा रबरको पन्जा लगाएर जाने कसैले पनि ढल बन्द गरेर आफ्नो घरको पानी वाग्मती जान रोकेँ भनेको छैन।

घरको चर्पी वाग्मतीमा पठाउनेक्रम यथावत राखेर साताको एक दिन मास्क लगाउँदै 'सेल्फी खिच्न वाग्मती पुग्नेहरु'ले सुध्रियो भयो भन्नु आँखा चिम्लेर संसार अध्यारो भयो भन्नुभन्दा कसरी बढी हुन्छ ? यस्तो कटू सत्य मुख्यसचिव पौडेल स्वयमले सुनाइसेकका छन्। सार्वजनिक रुपमै उनले 'फोटो खिच्नकै लागि सफा गर्न नआउनुस्' समेत भने।

यो अभियानको सफलता मान्नुपर्छ ठाउँ ठाउँमा वाग्मतीका किनारामा वृक्षारोपण भएका छन्। यथार्थमा वाग्मती किनारा पहिलेको तुलनामा सफा देखिन थालेको छ। वाग्मतीको पानीको रुप नफेरिए पनि किनारामा प्लास्टिक नदेखिँदा धेरैलाई 'सफा भयो' भन्ने लाग्नु स्वभाविक पनि हो।

'वाग्मती किनारामा फोहर डम्प गरिएपछि त्यसमा रहेका तरल पदार्थ वाग्मतीमै मिसिए। अरु माटोमै विलिन भयो। बाँकी रह्यो प्लास्टिक,' पाठकले भने, 'वाग्मती किनार सफा गर्दा होस् कि कुनै निर्माण गर्दा त्यहाँ प्लास्टिक नै प्लास्टिक भेटिन्छ।' अहिलेको अभियानले त्यही प्लास्टिक उठाएको छ।
 

सचेत समाज, सक्रिय प्रहरी

वाग्मती सफाइ अभियानले अहिले जुटाएको सबैभन्दा ठूलो सफलता भनेको सरोकारवालालाई एक ठाउँमा, जोड्नु हो। वाग्मती सफाइ अभियानले वाग्मतीको उपल्लो भेगमा व्यापक जागरण ल्याएको छ। वाग्मती किनार जिम्मा लिने र विरुवा रोप्ने र तारवार गर्नेक्रमले व्यापकता पाएको छ। फोहर फ्याँकेको देख्दा .वास्ता नगर्नेहरुले अहिले प्रहरीलाई सूचना दिन थालेका छन्।

'अहिले फोहर फ्याकेको भेटियो भने स्थानीयले फ्याकेँको कागजपत्र अथवा रिचार्ज कार्ड भए प्रहरीलाई बुझाउन थालेका छन्,' अभियन्ता ढुंगेलले भने, 'त्यही कागजपत्रकै आधारमा प्रहरीले कारबाही गरेको छ।' यसले वाग्मती फोहर गर्नेलाई सचेत गराएको छ भने फाल्नेविरुद्ध उजुरी गर्नेक्रम पनि बढेको छ। तर, यस्तो सक्रियता गुहेश्वरीभन्दा माथि जति छ त्यसभन्दा तल छैन। तुलनात्मक रुपमा पिङ्गलास्थानबाट तलतिर ढल वेपर्वाह वाग्मतीमा झारिएकाले पनि मानिसको सक्रियता छैन। 

यो अभियानमा सरकारी कर्मचारी, नेपाल प्रहरी, नेपाली सेनाको सक्रियतापूर्ण सहभागिता छ। राज्यका निकायबाहेक स्थानीयस्तरमा पनि समुदायहरु परिचालित भएका छन्। 'यसले एक किसिमको जनचेतना जगाउने काम भएको छ,' पाठकले भने, 'मानिसलाई आफ्नो कारण वाग्मती फोहर भएको हो भन्ने पार्न यस्तो अभियानले महत्वपूर्ण भूमिका खेल्छ। तर, राज्यको सबै स्रोत र कर्मचारी यसमै परिचालन हुनु स्वभाविक देखिन्न।'
 

पहिले थुक्ने अहिले चाट्ने

यतिखेर वाग्मती किनार सफा गर्ने होड तीब्र पारिएको छ। १०० सातासम्म हजारौ टन फोहर उठाइएको छ। यसरी किनारबाट उठाइएको फोहोर काठमाडौँ महानगरपालिकालाई व्यवस्थापनका लागि हस्तान्तरण भएको छ।

आखिर कहाँबाट आयो त टनका टन फोहर वाग्मतीमा ? वाग्मती किनारबाट अहिले जसले फोहर उठाएको छ त्यहाँ फोहर थुपार्न उही जिम्मेवार छ। नदी किनाराबाट निकालिएको फोहर सरकार आफैँले पहिले त्यहाँ गाडेको हो। काठमाडौं उपत्यकाको फोहर जवजव व्यवस्थापन गर्न कठिनाइ हुने गर्थ्यो स्थानीय विकास मन्त्रालयको आँखामा पर्थ्यो वाग्मती किनार। जोरपाटीको वाग्मती किनार होस् या टेकुदेखि वल्खु र युएनपार्कसम्मकै किनारा – ल्यान्ड फिल्ड साइटमा विवाद भयो कि फोहर थुपार्ने र पुर्ने ठाउँ बन्थ्यो।

पहिले आफैँले गाडेको फोहर उठाउँदै सरकार भन्छ : वाग्मती सफा भइरहेछ। अहिले कुपण्डोल पुलदेखि माथि र तल दुवैतिर तीब्र गतिमा वाग्मतीलाई कुलेसो बनाएर बगाइँदैछ। र छेउबाट पहिले आफैँले थुपारेको फोहर उठाइँदैछ। 'हामीकहाँ क्राइसिस म्यानेजमेन्ट गर्ने कुरा धेरैजसो प्राथमिकतामा पर्छ। फोहर फ्याक्ने ठाउँ नपाउँदा नदी किनारमा राखेर त्यसमाथि सडक बनाइयो,' पाठकले भने, 'त्यसपछि वाग्मतीको पानीमा हुने अक्सिडेसनमात्र झन कम हुँदै गएको पाइएको थियो।'  

 

अब के त ?

यो शनिबार वाग्मती नदी सफाइको १०० साता पूरा भयो। यसले वाग्मतीमा हामीले कसरी प्रदुषण गरिरहेका छौं भन्ने बुझ्न सबैलाई झक्झकाएको छ। वाग्मतीमा मानव साङ्लो बनाउनु यसैको एउटा प्रयास पनि हो। तर प्रचार र वाग्मती किनाराको सफाइ अथवा वाग्मतीमा रहेका प्लास्टिक झिक्दैमा यसको पानीमा ठूलो परिवर्तन देखिएको छैन।

फोहर सफा गर्नु एउटा थालनी हो भने यसलाई निरन्तरता दिनु चुनौति। ढल व्यवस्थापनका लागि जनताले रकम तिरेकै छन्। 'पैशा तिरेर दायित्व पूरा भयो भनेर हामी बसिरहेका छौं। हामीले तिरेको रकम घर सफा गर्नका लागि मात्रै होइन,' इन्जिनियर पाठकले भने, 'त्यो वाग्मतीमा लगेर मिसाउनका लागि होइन। यसमा जनता नै जाग्नुपर्‍यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell